Home Blog Page 68

१८६. आत्मबोध

‘आत्मबोध’ (कथासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कथामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । उहाँको यो चौथो कृतिले नेपाली पाठकलाई नैतिक आदर्श र मानवीय चेतना दिएर आत्मिक जागरण गराउनेछ । कथाहरूको अन्त्यमा त्यस कथाले दिन खोजेको सन्देश पनि प्रस्तुत गरिएको हुनाले यो पुस्तक अझ प्रभावकारी बनेको छ । माध्यमिक स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूको हातहातमा यो पुस्तक पु¥याउन सक्ने हो भने यस पुस्तकको सार्थकता अझ बढ्नेछ ।

१८५. कन्याकुमारी

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ महाकाव्यमा २ हजार ३ सय ६१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास महाकाव्यकारले गर्नुभएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै रूपमा काव्य तयार पारिए पनि त्यसलाई समाजसमक्ष ल्याइदिनुपर्छ भन्ने अभिप्रायले सर्गविभाजन नगरिएको प्रयोगपरक यस महाकाव्यको प्रकाशन गरिएको हो ।

१८४. Impressions and Expressions

प्रा. सुवास केसीद्वारा लिखित Impressions and Expressions नामक पुस्तक लेखकको पहिलो प्रकाशन हो । अत्यन्त उत्कृष्ट लेखन, साजसज्जा र छपाइ रहेको यस पुस्तकले व्यवस्थापनका साथै दार्शनिक पक्षलाई बढी जोड दिएको छ । मानिसले झिनामसिना मानेका कुराले पनि कति अहम् भूमिका खेलेका हुन्छन् भन्ने कुरा पनि यसले देखाउनेछ । विभिन्न शीर्षकका छोटा–छोटा लेखहरूमा विभक्त यस पुस्तकले आफ्नो देशका लागि आफ्नो क्षेत्र र विधाबाट सकारात्मक योगदान गर्न पाठकवर्गलाई उत्प्रेरित गराउनेछ ।

माधव काफ्लेलाई रौतहट प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी राम–रेवती प्रतिष्ठानद्वारा व्यवस्थापन गरिएको ‘डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ २०७९ सालका लागि श्री माधव काफ्लेलाई प्रदान गरिने भएको छ । उहाँले लामो समयदेखि समालोचना, निबन्ध, संस्मरण, स्तम्भलेखन लगायत विविध विधामा सशक्त उपस्थिति जनाउँदै राष्ट्रमा रौतहटको गरिमा बृद्धि गराएर रौतहटेली साहित्यिक गतिविधिमा अभिभावकीय र प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको कुरा उहाँका लागि गरिएको सिफारिसपत्रमा उल्लेख छ । यस पुरस्कारका लागि योग्य व्यक्तिको नाउँ सिफारिस गर्न शब्दयात्रा प्रकाशनले सार्वजनिक आह्वान गरेपछि उहाँको नाउँ ‘साहित्य सन्जाल रौतहट’ नामक संस्थाका तर्फबाट उपाध्यक्ष तेजविक्रम कार्की, सचिव रामप्रसाद आचार्य, सल्लाहकारत्रय अनन्त कोइराला, हरिकृष्ण काफ्ले र भूमिलाल न्यौपानेले सिफारिस गर्नुभएको थियो । यो पुरस्कार रौतहट जिल्लामा जन्मिई वा रौतहट जिल्लालाई कार्यस्थल बनाई नेपाली वाङ्मयको कुनै पनि विधाबाट योगदान गरेको व्यक्तिलाई समर्पण गरिनेछ । पुरस्कृत व्यक्तिको चयन गर्न शब्दयात्रा प्रकाशनले गठन गरेको चयन समितिमा दामोदर घिमिरे संयोजक तथा रश्मि अधिकारी हुमागाईं र अञ्जनि कोइराला सदस्य हुनुहुन्छ । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला प्रदान गरिन्छ ।

आर्थिक सहयोग

0
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषका लागि काभ्रेपलान्चोक धुलिखेलका शारदाप्रसाद शर्माले ५ हजार ३ सय ६५ रुपियाँ, बागलुङका डा. शास्त्रदत्त पन्तले ५ हजार रुपियाँ, इलामकी लक्ष्मी खतिवडा हुमागाईंले ५ हजार रुपियाँ, भोजपुरकी लीलादेवी श्रेष्ठले १ हजार ५ रुपियाँ र दोलखाका ढुण्डिराज पोखरेलले ५५ रुपियाँ उपलब्ध गराउनुभएको छ । यसै गरी काठमाडौँ कोटेश्वरकी पद्मावती तिमिल्सिनाले ५ हजार १ सय ५ रुपियाँ शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग गर्नुभएको छ । यसरी यही २०७९ साल भदौ १८ गते शनिबार शब्दयात्रा प्रकाशनले २१ हजार ५ सय ३० रुपियाँ आर्थिक सहयोग प्राप्त गरेको छ । आर्थिक सहयोग गर्ने सबै शुभेच्छुकप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

भव्यतापूर्वक कार्यक्रम सम्पन्न

0
शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०७९ साल भदौ १८ गते शनिबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र सभापतित्व आजीवन सदस्य लीला श्रेष्ठले गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन तथा सभाविसर्जन लेखिका तथा समाजसेवी सावित्री जङ्गम थापाले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन आजीवन सदस्य सकुल थापा र कार्यालय व्यवस्थापक सङ्गीता केसीले, छायाङ्कन तथा स्वराङ्कन आजीवन सदस्य प्रकृति प्याकुरेल, सेभ द नेसन अनलाइन टेलिभिजनका सञ्चालक केबी सम्राट र छायाकार पदमसागर कक्षपतिले, आशीर्वचनको पत्र ग्रहण आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षको माला अर्पण आजीवन सदस्य अमृत अधिकारीले, स्वस्तिवाचन ढुण्डिराज पोखरेलले र ब्राह्मणपूजन आजीवन सदस्य केदारनाथ तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा माता भद्रकाली, सञ्चार क्षेत्रबाट सबैभन्दा बढी १ सय ११ पटक रक्तदान गरी विश्वकीर्तिमान कायम गर्नुभएका नेपाली केबी सम्राट र अधिकांश वाङ्मयसेवीको अभिलेख राख्नुभएका काभ्रेली युवा सीताराम बडाल पनि कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो । कार्यक्रम दिउँसो २ बजे सुरु भएर साढे ३ बजे सकिएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरूले शब्दयात्रा प्रकाशन पुस्तकालय र शब्दसाधक तीर्थको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो ।

पुस्तकालयका लागि पुस्तक उपहार

0
राष्ट्रवादी चिन्तक, राजनीतिक विश्लेषक तथा लेखक डा. शास्त्रदत्त पन्तले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको छ ।

‘म उत्तमकृष्ण कर्माचार्य’ सार्वजनिक

0
महेश्वर जुजु राजोपाध्यायद्वारा सम्पादित ‘म उत्तमकृष्ण कर्माचार्य’ नामक कृति हिजो २०७९ साल भदौ १८ गते शनिबार सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिलाई पूर्वसांसद बमकुमारी बुढा र लेखक, अनुवादक तथा चिकित्सक डा. छत्रपति दाहालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

एघारजनालाई सम्मान

0

शब्दयात्रा प्रकाशनले हिजो २०७९ साल भदौ १८ गते ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ ।
कार्यक्रममा शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मानद्वारा बागलुङका डा. शास्त्रदत्त पन्त, होम–तोत्र शिक्षा सम्मानद्वारा भक्तपुरका प्रा. डा. उत्तमकृष्ण कर्माचार्य, रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मानद्वारा बाराका प्रदीप उपाध्याय, हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानद्वारा रामेछापकी दुर्गा घिमिरे र अङ्गुरबाबा जोशी शिक्षक सम्मानद्वारा भोजपुरका प्रा. केदारनाथ श्रेष्ठलाई सम्मान गरियो । यी सम्मानहरूको आर्थिक व्यवस्थापन कृष्णहरि मैनाली, रमेश पौड्याल, रामकृष्ण स्मृति प्रतिष्ठान, आनन्दराज श्रेष्ठ र निर्मलाकुमारी यगोल श्रेष्ठले गर्नुभएको हो ।
यसै गरी प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा इलामकी लक्ष्मी खतिवडा हुमागाईं, गोपाल प्रधान स्तम्भकार सम्मानद्वारा सुनसरीका चन्द्रमणि गौतम, कालु वैद्य आयुर्वेद सम्मानद्वारा काभ्रेपलान्चोकका विश्वनाथ कर्माचार्य, नन्दिकेश्वर अधिकारी शोध सम्मानद्वारा काभ्रेपलान्चोकका शारदाप्रसाद शर्मा र बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मानद्वारा खोटाङकी देवीमाया खड्कालाई सम्मान गरियो । यी सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, हरिगोपाल प्रधान, कालु वैद्य (भक्तपुर) का सन्तति, गीता अधिकारी र बेलप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
दुर्गा घिमिरे अमेरिकामा हुनुभएकाले उहाँको सम्मान सुनील सापकोटाले, विश्वनाथ कर्माचार्य पत्नीशोकमा हुनुभएकाले उहाँको सम्मान प्रकाशबहादुर कायस्थले र देवीमाया खड्का खोटाङबाट आउन नसक्नुभएकाले उहाँको सम्मान उहाँका प्रतिनिधि रमेशकुमार विष्टलाई समर्पण गरियो ।
कार्यक्रममा कृष्ण जोशी भोजपुर प्रतिभा विशेष सम्मान ‘भोजपुरको वाङ्मय’ नामक अनुसन्धानात्मक कृतिका लागि डा. विप्लव ढकाललाई समर्पण गरियो । यसको आर्थिक व्यवस्थापक कृष्ण जोशी हुनुहुन्छ ।
सम्मानित व्यक्तित्वहरूलाई चयन समितिका संयोजक प्रजापति तिमिल्सिनाले उपहार, आर्थिक व्यवस्थापकहरूले माला र भेटी तथा प्रमुख अतिथि डा. रामदयाल राकेशले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित हुन नसक्नुभएका आर्थिक व्यवस्थापक कृष्ण जोशी, उर्मिला श्रेष्ठ भोजपुरे र कालु वैद्य सन्ततिको प्रतिनिधित्व द्रोणप्रसाद श्रेष्ठले, कृष्णहरि मैनाली र आनन्दराज श्रेष्ठको प्रतिनिधित्व चन्द्रबहादुर खड्काले र निर्मलाकुमारी यगोल श्रेष्ठको प्रतिनिधित्व गीता अधिकारीले गर्नुभएको थियो ।
सम्मान सामग्रीको व्यवस्थापन गर्नुका साथै प्रमुख अतिथिलाई उपहार समर्पण सकुल थापाले र सम्मानित व्यक्तित्व चयन समितिका संयोजक प्रजापति तिमिल्सिना तथा सदस्यद्वय वेदप्रसाद गौतम र सहदीप पलान्चोकेलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार दामोदर घिमिरेले प्रदान गर्नुभएको थियो ।

Impressions and Expressions सार्वजनिक

0
प्रा. सुवास केसीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा १ सय ८४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित Impressions and Expressions नामक पुस्तक सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनले आज २०७९ साल भदौ १८ गते शनिबार आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तक डा. पुष्पलाल हुमागाईं र डा. पद्मा अर्यालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।