‘ज्ञानगुनका कुरा’ का संस्थापक सम्पादक, साहित्यिक पत्रकार, साहित्यकार तथा उच्च अदालतका पूर्व मुख्य न्यायाधीश शेषराज शिवाकोटीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । शब्दयात्रा प्रकाशन परिवार उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
‘आत्मानुभूति’ (कवितासङ्ग्रह) आध्यात्मिक साहित्यकारका रूपमा सुपरिचित व्यक्तित्व ढुण्डिराज पोखरेलको चिन्तन र त्यसलाई कवितामा प्रस्तुत गर्ने शिल्पको परिणति हो । साहित्यसाधनामा रहेको उहाँको सह्राहनीय र प्रशंसनीय प्रयासस्वरूप प्रस्तुत यस सङ्ग्रहका कविताहरू देश, समाज, प्रकृति र अध्यात्मसँग सम्बन्धित छन् । अधिकांश कविताहरू सूक्तिमय छन् । छन्द र व्याकरणको द्वन्द्वमा कहीँ छन्दको र कहीँ व्याकरणको पक्षमा कवि देखिनुभएको छ । उहाँको यो नवौँ कृतिले नेपाली पाठकलाई नैतिक आदर्श र मानवीय चेतना दिएर आत्मिक जागरण गराउनेछ ।