Home Blog Page 64

१८९. माच

‘माच’ लोेकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखहरूको सङ्ग्रह हो । यसमा १६ वटा लेखहरू सङ्कलित छन् । कुनै लेख पूूर्वप्रकाशित छन् भने कुनै लेख पहिलोपटक यसै पुस्तकमा छापिएका छन् । सबै लेखहरू विचारप्रधान छन्, विचारोत्तेजक छन्, उत्प्रेरक छन्, जानकारीमूलक छन् र तथ्यपरक छन् । मानवीय नैतिक चरित्रमा ह्रास आइरहेको अचेलको समाजलाई सकारात्मक दिशातर्फ लाग्न प्रेरणा दिन यस पुस्तकभित्रका लेखहरू सक्षम छन् । पाठकलाई नयाँ दृष्टिकोणबाट सुसज्जित बनाउनु यस पुस्तकको अर्को विशेषता हो । सरल भाषाशैलीमा गहन विषयलाई प्रस्तुत गर्ने कृतिकारको कौशल यस पुस्तकमा राम्ररी प्रकट भएको छ ।

‘शिरोवर्ती भरत जङ्गम’ छापिँदै

0
शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा ‘शिरोवर्ती भरत जङ्गम’ नामक समालोचनात्मक पुस्तक प्रकाशन गर्न लागिएको छ । यस पुस्तकका लेखक प्रजापति तिमिल्सिना हुनुहुन्छ । पुस्तक करिब ५ सय ६० पृष्ठको हुनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय ९१ औँ पुस्तक हो । हरि मञ्जुश्रीद्वारा सम्पादित ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ नामक अभिनन्दनग्रन्थको आधारभूमिमा यो पुस्तक लेखिएको हो । आगामी मङ्सिर १० गते भरत जङ्गमको ७६ औँ जन्मदिवसको अवसर पारी काठमाडौँको भृकुटीमण्डपमा अवस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजना गरिने विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट यस पुस्तकलाई सार्वजनिक गरिनेछ ।

पञ्चपितृहरूको स्थान परिवर्तन

0
यही २०७९ साल मङ्सिर २ गतेदेखि शब्दसाधक तीर्थमा रहेका पञ्चपितृहरूको स्थान परिवर्तन गराइएको छ । शब्दसाधक तीर्थमा नेपालभित्रका पर्यटकहरूको सङ्ख्या बढ्दै गएको र त्यहाँ रहेका पञ्चपितृहरूको साथमा उभिएर तस्बिर खिच्न ठाउँको अभाव भएको गुनासो धेरैजना पर्यटकहरूबाट आएको हुनाले उहाँहरूको सुविधालाई विचार गरी शब्दसाधकहरूको सालिकको स्थान परिवर्तन गराइएको हो ।

पुस्तकालयलाई उपहार

0

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि लेखक द्रोणप्रसाद श्रेष्ठले इन्द्रबहादुर राईद्वारा लिखित ‘नेपाली उपन्यासका आधारहरू’ र कथाकार गायत्रीकुमार चापागाईंले विधान आचार्यद्वारा सम्पादित ‘समालोचनाको कसीमा समकालीन नेपाली लघुकथा’, आख्यानकार भरत जङ्गमले चन्द्रप्रसाद न्यौपानेद्वारा लिखित ‘नेपाली महाकाव्यको इतिहास र विश्लेषण’ तथा फोटो पत्रकार प्रशान्त श्रेष्ठले ‘पनौती पास्ट — प्रेजेन्ट (१९७६ — २०२०)’ र ‘पनौती मकरमेला’ उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

अर्को अक्षयकोषको घोषणा

0

काभ्रेपलान्चोक जिल्लाका समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलले शब्दयात्रा प्रकाशनको अक्षयकोषमा दुई लाख रुपियाँ राखिदिने घोषणा गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको कार्यक्रममा सभापतिका रूपमा मन्तव्य व्यक्त गर्ने क्रममा उहाँले उक्त घोषणा गर्नुभएको हो ।
उहाँका अनुसार काभ्रेपलान्चोक जिल्लाका क्षमतावान् व्यक्तिहरूमध्ये सङ्घर्षशील रहेर उद्यमी बनेका, उद्यमीकै रूपमा समाजका लागि कुनै पनि विधाबाट योगदान दिएका र आफ्नो उद्यमशीलताबाट केही रोजगारी सिर्जना गर्न सक्षम बनेका व्यक्तिलाई हरेक वर्ष पुरस्कृत गर्नका लागि उहाँले अक्षयकोषको व्यवस्था गर्न लाग्नुभएको हो ।
शब्दयात्रा प्रकाशनलाई माया र विश्वास गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवार समाजसेवी, उद्यमी तथा सहकारीकर्मी प्रह्लाद प्याकुरेलप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

बीस हजार रुपियाँ शब्दयात्रा पुस्तकालयलाई

0

आफ्नी आमा मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै भोजपुर घर भई हाल अमेरिकामा बसोवास गर्ने समुन्नत श्रेष्ठले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि २० हजार रुपियाँ पठाइदिनुभएको छ । उहाँले अनुसन्धानात्मक पुस्तकहरू किन्नका लागि पठाउनुभएको उक्त रकम उहाँका पिता द्रोणप्रसाद श्रेष्ठबाट शब्दयात्रा प्रकाशनले प्राप्त गरेको छ । शब्दयात्रा प्रकाशन परिवार मनका श्रेष्ठको आत्मा परमात्मामा एकाकार होस् भन्ने कामना गर्दै समुन्नत श्रेष्ठको समुन्नत र समुज्ज्वल भविष्यका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दछ ।

शारदाप्रसाद शर्मा पनि आजीवन सदस्य

0

शब्दयात्रा प्रकाशनले व्यङ्ग्यकवि शारदाप्रसाद शर्मालाई आजीवन सदस्यता प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्राप्त गर्नुभएकोमा शारदाप्रसाद शर्मालाई हार्दिक बधाई छ । शारदाप्रसाद शर्मासमेत शब्दयात्रा प्रकाशनका आजीवन सदस्यको सङ्ख्या ४१ पुगेको छ ।

विद्वतवृत्ति समर्पण

0

शब्दयात्रा प्रकाशनले २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ भोजपु्रको विद्योदय माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक लालकुमार तामाङलाई समर्पण गरेको छ । उहाँ भोजपुरमा रहनुभएकाले उहाँका तर्फबाट शिक्षा मन्त्रालयका पूर्वसहसचिव चन्द्रबहादुर खड्काले विद्वतवृत्तिको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । उक्त प्रमाणपत्रको वाचन प्रा. केदारनाथ श्रेष्ठले र हस्तान्तरण प्रमुख अतिथि प्रा. डा देवमणि भट्टराई, प्रा. केदारनाथ श्रेष्ठ र लीलादेवी श्रेष्ठले संयक्त रूपमा गर्नुभएको थियो । विद्वतवृत्तिको पहिलो किस्ता लालकुमार तामाङको बैङ्क खातामा पठाइसकिएको छ । दोस्रो किस्ताको रकम अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि पठाइनेछ ।
भोजपुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति, २०७९’ शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विषयमा शोधप्रबन्ध लेखनका लागि समर्पण गरिएको हो ।

माच सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित आध्यात्मिक लेखसङ्ग्रह ‘माच’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि गायत्रीकुमार तापागाईं र कृतिकार लोकेन्द्र ढकालले संयुक्त रूपमा ‘माच’ लाई सार्वजनिक गर्नुभएको हो । ‘माच’ का विषयमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बोल्नुभएको थियो । ‘माच’ मा पूर्वप्रकाशित १६ वटा लेख सङ्कलित छन् । शब्दयात्रा प्रकाशनबाट यसअघि लोकेन्द्र ढकालद्वारा लिखित ‘गोमाको फूलबारी’ नामक जीवनीपरक पुस्तक प्रकाशन गरिएको थियो । कार्यक्रम प्रह्लाद प्याकुरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

दुईजनालाई दस–दस हजार रुपियाँको छात्रवृत्ति समर्पण

0

शब्दयात्रा प्रकाशनले दुईजना छात्रलाई दस–दस हजार रुपियाँका दरले छात्रवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर देउराली घर भई हाल काठमाडौँको पेप्सिकोलामा बस्ने लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित दस हजार रुपियाँ राशीको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ २०७९ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत पनौती नगरपालिका वडा नं. ८ मा अवस्थित सामुदायिक चोक निवासी सुम्निमा मगरलाई प्रदान गरियो । काभ्रेपलान्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार काभ्रेपलान्चोक जिल्लाकै छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष यो छात्रवृत्ति प्रदान गरिन्छ । सुम्निमा मगरलाई रुद्राक्षमाला गायत्रीकुमार चापागाईंले, छात्रवृत्ति रकम द्रोणप्रसाद श्रेष्ठले र प्रमाणपत्र प्रा. डा. देवमणि भट्टराईले अर्पण गर्नुभएको थियो । यसै गरी शब्दयात्रा प्रकाशनद्वारा संस्थापित तथा भोजपुर दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौँको शङ्खमूलमा बसोवास गर्ने सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठद्वारा आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठका नाउँमा व्यवस्थापित दस हजार रुपियाँ राशीको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ २०७९ सालका लागि सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङटारमा अवस्थित मनकामना रत्न माध्यमिक विद्यालयमा अध्ययनरत विकलाङ्ग छात्र रामकुमार दाहाललाई प्रदान गरियो । यो छात्रवृत्ति शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिन्छ । कार्यक्रममा रामकुमार दाहालमा समर्पित रुद्राक्षमाला, छात्रवृत्ति रकम र प्रमाणपत्र उहाँलाई हस्तान्तरण गर्ने गरी उहाँका शिक्षक पदम दाहालले ग्रहण गर्नुभएको थियो । दुवै प्रमाणपत्र चयन समितिका संयोजक कृष्णमणि कुइकेलले वाचन गर्नुभएको थियो ।