Home Blog Page 63

‘समयको अन्तराल’ सार्वजनिक

0
इलामका साहित्यिक प्रतिभा नरनारायण वत्सद्वारा लिखित दोस्रो कवितासङ्ग्रह ‘समयको अन्तराल’ आज २०७९ साल मङ्सिर १८ गते आइतबार गीताजयन्तीका दिन शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकलाई आख्यानकार प्रजापति तिमिल्सिना, कवि पदम दाहाल र आध्यात्मिक लेखक ढुण्डिराज पोखरेलले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र गीतिभास्कर मच्छेश्वर सापकोटाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रजापति तिमिल्सिनाले कवि नरनारायण वत्सको परिचय गराउँदै कृतिमाथि टिप्पणी गर्नुभएको थियो भने कवि पदम दाहालले ‘समयको अन्तराल’ भित्रको कविता वाचन गर्नुभएको थियो । समाजसेवी कृष्णमणि कुइकेलले मन्तव्य व्यक्त गर्नुभएको र व्यङ्ग्यकवि शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ढुण्डिराज पोखरेलले गीताका केही श्लोक तथा प्रकाश उज्ज्वल बनेपा, केदारनाथ तिमल्सिना, साधुराम गिरी, रोशन सत्याल आदिले आआफ्ना कविता वाचन गर्नुभएको थियो । कवि नरनारायण वत्स अमेरिकामा हुनुभएकाले कार्यक्रममा उपस्थित हुन सक्नुभएन । कार्यक्रममा राजनीतिक विश्लेषक अनारसिंह कार्की, हरिगोपाल प्रधान, शिव बन्जारा, इ. रोशन मञ्जुश्री अधिकारी, प्रकृति प्याकुरेल, निर्मला श्रेष्ठ, सङ्गीता केसी, चूडाप्रसाद चौलागाई, दीपकराम भण्डारी, नवराज पराजुली, पुरुषोत्तम हुमागाई, श्री शर्मा मूर्ख, भुवन पाण्डे, लालप्रसाद पौडेललगायतका विद्वतवर्गको समुपस्थिति थियो ।

पुरुषोत्तम भट्टराईलाई भोजपुर प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले आध्यात्मिक व्यक्तित्व श्री पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भोजपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले भोजपुरको भुल्के घर भई हाल धरान निवासी पुरुषोत्तम भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्राच्यविधाका विज्ञ तथा न्याय, ज्योतिष र वेदान्त दर्शनका प्रकाण्ड विद्वानका रूपमा सुपरिचित उहाँले पिण्डेश्वर धरानमा ४० वर्षअघिदेखि निरन्तर गुरुकुल सञ्चालन गरी साढे नौ दशकको उमेरमा पनि अध्यापन गरिरहनुभएको छ । अहिले पनि त्यस गुरुकुलमा ७० जना विद्यार्थी निःशुल्क आवास, भोजन र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन स्वयं गौरवान्वित बनेको छ । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । 

पशुपतिमान पःमाँलाई भक्तपुर प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले शिक्षासेवी तथा लेखक पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भक्तपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले जगाती निवासी पशुपतिमान पःमाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ठ्यासफूमा रहेको मौलिक स्वस्थानी व्रतकथालाई पहिलोपटक नेवारी भाषामा उतारेर प्रकाशित गराउनुभएको हुँदा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भक्तपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार भरत जङ्गमले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्रीमती कोमलवदन मल्ललाई समर्पण गरिएको थियो ।

पदमप्रसाद पौडेललाई सङ्खुवासभा प्रतिभा पुरस्कार

0

शब्दयात्रा प्रकाशनले कलाकार पदमप्रसाद पौडेललाई ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले चैनपुर निवासी पदमप्रसाद पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता क्षेत्रमा २२ वर्ष र शिक्षणसेवामा ३० वर्ष सेवा गरेर पनि साना र ठूला गरी १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेर विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार लीला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्री ज्ञान उदासलाई समर्पण गरिएको थियो । 

ओतबहादुर खड्कालाई काभ्रेपलान्चोक प्रतिभा पुरस्कार

0
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक ओतबहाद्ुर खड्कालाई ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि काभ्रेपलान्चोक प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले पनौती निवासी ओतबहादुर खड्कालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । विभिन्न आध्यात्मिक पुस्तकहरूको लेखन र अनुवाद गरी समाजमा नैतिक र आध्यात्मिक चेतनाको विस्तार गराउन अहम् भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । काभ्रेपलान्चोक जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ७ चाँगाथलीमा जन्मेर हाल अस्ट्रेलियामा बसोवास गर्ने निरोज थापाले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो ।

कृष्ण जोशीको निधन

0
शब्दयात्रा प्रकाशनका शुभेच्छुक, ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा सम्मान’ का आर्थिक व्यवस्थापक, शब्दयात्रा प्रकाशनद्वारा संस्थापित कविता–काव्य सम्मानबाट २०७२ सालमा सम्मानित साहित्यकार एवं पूर्वप्रशासक कृष्ण जोशीले ८३ वर्षको उमेरमा यो धराधाम त्याग्नुभएको समाचारले शब्दयात्रा प्रकाशन परिवारलाई अत्यन्त दुःखित बनाएको छ । उहाँको निधन राष्ट्रको ठूलो क्षति हो । यो पीडादायक अवसरमा शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै गतात्माको मोक्षप्राप्तिका लागि शब्दयात्रा प्रकाशन परमेश्वरसँग प्रार्थना गर्दछ ।

सुमन खड्कालाई पितृशोक

0

शब्दयात्रा प्रकाशनले आफ्ना शुभचिन्तक प्रेमबहादुर खड्कालाई हिजो गुमाएको छ । उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य सुमन खड्काका पिता हुनुभएकाले शब्दयात्रा प्रकाशनसँग निकट हुनुहुन्थ्यो । आफ्ना सहयात्री सुमन खड्कालाई परेको पितृशोकबाट शब्दयात्रा प्रकाशन परिवार व्यथित बनेको छ । प्रेमबहादुर खड्काको आत्माले मोक्षप्राप्ति गरोस् भन्ने कामना गर्दै शोकाकुल अवस्थामा रहनुभएका सुमन खड्का र उहाँका परिवारजनप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक समवेदना व्यक्त गर्दछ । 

१९२. शिरोवर्ती भरत जङ्गम

भरतमणि जङ्गमका विषयमा ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ नाउँको पहिलो अभिनन्दनग्रन्थ २०६३ साल मङ्सिर १० गते हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशन भएको थियो । त्यस बेला भरत जङ्गमको नाउँबाट मोती महोत्सव समारोह समिति गठन गरिएको थियो र मोती महोत्सव नेपालमै पहिलोपल्ट भरतमणि जङ्गमको ६० औँ वर्षमा मनाइएको थियो । त्यही समितिबाट प्रकाशित ९ सय ४४ पृष्ठको विशालकाय ग्रन्थको आधारभूमिमा त्यो ग्रन्थ प्रकाशन भएको १६ औँ वर्षमा प्रजापति तिमिल्सिनाले ‘शिरोवर्ती भरत जङ्गम’ नामक प्रस्तुत पुस्तक लेख्नुभएको हो । यस पुस्तकमा ‘कालजयी व्यक्तित्व भरत जङ्गम’ भित्रका पाठ्यसामग्रीहरूको गुणवत्ताका विषयमा प्रभावपरक विवेचना गरिएको छ ।

१९१. आदर्श शिक्षक

काभ्रेपलान्चोक जिल्लाका शिक्षासेवी, समाजसेवी, सामूहिक चेतनाका उद्घोषक र उद्बोधक, सामाजिक विकासका पथप्रदर्शक, शैक्षिक व्यवस्थापन कौशलका उदाहरण, शिक्षाको विकास र समाज परिचालकका रूपमा सुपरिचित आदर्श शिक्षक र अनुकरणीय व्यक्तित्व रामप्रसाद अधिकारीको सम्मानस्वरूप हरि मञ्जुश्रीको सम्पादनमा ‘आदर्श शिक्षक’ नामक रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ प्रकाशन गरिएको हो । यस ग्रन्थमा उहाँका निकटस्थ व्यक्तिहरूले लेखेका सामग्रीहरूले उहाँको पारिवारिक वातावरणसहितको जीवनको सग्लो चित्रका साथै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा उहाँको योगदानका बारेमा जानकारी दिएका छन् ।

१९०. महाकवि देवकोटाका काव्यको अध्ययन

टीकादत्त बरालद्वारा लिखित ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ का बारेमा डा. सुरेशराज शर्माले लेख्नुभएको छ — “टीकादत्त बराल आफ्नो विषयमा बलियो पकड राख्ने र विज्ञता हासिल गर्ने विद्वान् हुनुभएकाले उहाँका हरेक पुस्तक गहन अन्वेषणबाट निस्केका निचोडजस्ता लाग्छन् । ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ पनि त्यस्तै खालको कृति हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाका काव्यकृतिहरूको सूक्ष्म रूपमा अध्ययन तथा विश्लेषण गरेर आफ्नो धारणासहित लेखिएको यस पुस्तकले महाकवि देवकोटालाई बुझ्न अझ सहयोग गर्नेछ र यस पुस्तकले आफ्नै खालको विशिष्ट महत्त्व पनि राख्नेछ ।”