यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कृपालुचरणामृत’ महाकाव्यमा १ हजार ९ सय ७१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास महाकाव्यकारले गर्नुभएको छ । भाषा–व्याकरण पनि उहाँकै इच्छाबमोजिम जस्ताको तस्तै राखिएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै रूपमा काव्य तयार पारिए पनि त्यसलाई समाजसमक्ष ल्याइदिनुपर्छ भन्ने अभिप्रायले यस महाकाव्यको प्रकाशन गरिएको हो ।
१९५. श्रीकृष्णचरणामृत
‘श्रीकृष्णचरणामृत’ महाकाव्यकार यज्ञप्रसाद उपाध्याय त्रिपाठीको चौथो महाकाव्य हो । यसमा प्रथम सर्गदेखि अष्टदश सर्गसम्मका १८ सर्ग छन् । प्रथम सर्गमा १०० श्लोक, द्वितीयदेखि सप्तदश सर्गसम्ममा १०८ — १०८ श्लोक, अष्टदश सर्गमा १२८ श्लोक छन् भने १८ वटै सर्गको अन्त्यमा श्लोकसङ्ख्या नदिई १–१ श्लोक राखिएका छन् । यसरी यस महाकाव्यमा कूल १९७४ श्लोक छन् । प्रतिभालाई प्रोत्साहन गर्ने ध्येयले गर्दा यस महाकाव्यमा प्रयुक्त भाषा–व्याकरण र छन्द–लयप्रति शब्दयात्रा प्रकाशन तटस्थ बनेको छ ।
सम्मानका लागि व्यक्ति चयन गर्ने तीनजना
शब्दयात्रा प्रकाशनले आगामी माघ महिनामा समर्पण गर्ने १० विधाका सम्मानका लागि सम्मानयोग्य व्यक्ति वा संस्थाको चयन प्रा. केदारनाथ श्रेष्ठ, लेखक द्रोणप्रसाद श्रेष्ठ र लेखिका लीलादेवी श्रेष्ठ रहेको तीन सदस्यीय समितिले गर्ने भएको छ । प्राप्त भएका विभिन्न सिफारिसमध्येबाट त्यस समितिले चयन गरेका व्यक्ति वा संस्थालाई शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ । माघ महिनामा आमसञ्चार, कविता–काव्य, समालोचना, अनुसन्धान, बालसाहित्य, साहित्यिक पत्रिका, आध्यात्मिक पत्रकारिता, फोटो पत्रकारिता, महिला प्रतिभा र सिर्जना सम्मान समर्पण गरिनेछन् ।
एकै व्यक्तिका पाँच महाकाव्य एकै दिन सार्वजनिक गरिने
उमेर असी वर्ष । शिक्षा साधारण । बसाइ गाउँघरको, कहिलेकाहीँ सहरको पनि । काम खेती, गृहस्थी । घर काभ्रेपलान्चोक जिल्लाको कोसीदेखा । त्यस्ता व्यक्तिले महाकाव्य लेखेको । त्यो पनि सातवटा । लेखनकार्य अझै निरन्तर रहेको । तयार भएका सातवटा महाकाव्यमध्ये पाँचवटाचाहिँ शब्दयात्रा प्रकाशनबाट प्रकाशित । सबै महाकाव्य तीन सयभन्दा बढी पृष्ठका । दुईवटा महाकाव्य प्रकाशन गर्न बाँकी । शब्दयात्रा प्रकाशनको एउटा उद्देश्य प्रतिभालाई प्रोत्साहन र सम्मान गर्ने । त्यसैले ती महाकाव्य प्रकाशन गरिएको । महाकाव्यका विषयवस्तु गम्भीर । साधारण शिक्षा पाएर गाउँमा बसी खेती गर्ने असी वर्षको मान्छेले सातवटा महाकाव्य लेख्ने आँट गर्नु नै ठूलो कुरो । अरूका लागि प्रेरणाको विषय । त्यस्ता व्यक्तिको महाकाव्यमाथि के टिप्पणी गर्नु र ! त्यसैले महाकाव्यप्रति कुनै टिप्पणी नगरी प्रकाशन गरिएको । पुस महिनाभित्र पाँचैवटा महाकाव्य एकैपटक सार्वजनिक गर्ने योजना ।
‘अल्झिएका सपना’ को पालो
कृपालुजी महाराजका विषयमा महाकाव्य
शब्दयात्रा प्रकाशनको कार्यक्रम सम्पन्न
पुरस्कार हस्तान्तरण
‘टिपनटापन’ र ‘सफर में जिन्दगी’ सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा हिजो २०७९ साल मङ्सिर २५ गते आइतबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित कार्यक्रममा ‘टिपनटापन’ र ‘सफर में जिन्दगी’ नामक दुई कृति सार्वजनिक गरिए । ‘टिपनटापन’ कवि अच्युत अधिकारीद्वारा लिखित कवितासङ्ग्रह हो भने अर्को कृति ‘सफर में जिन्दगी’ शारदा घिमिरे भैलका मुक्तकहरूलाई इन्डियाका डा. साहेब खन्दारेले गरेको अनुवाद हो । ‘टिपनटापन’ लाई डा. इन्दुल केसी र कृतिकार अच्युत अधिकारीले तथा ‘सफर में जिन्दगी’ लाई हिरण्य भोजपुरे र अनुवादक डा. साहेब खन्दारेले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
‘जीवनधारा’ तथा ‘साहित्य र सङ्गीतका महारथी’ सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित दुई कृति हिजो २०७९ साल मङ्सिर २५ गते आइतबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिए । एउटा कृति लेखिका तथा समाजसेवी सावित्री जङ्गम थापाद्वारा लिखित ‘जीवनधारा’ काव्यको दोस्रो संस्करण हो भने अर्को कृति लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठद्वारा लिखित ‘हिरण्य भोजपुरे साहित्य र सङ्गीतका महारथी’ हो । ‘जीवनधारा’ लाई उर्मिला श्रेष्ठ र हिरण्य भोजपुरेले तथा ‘साहित्य र सङ्गीतका महारथी’ लाई पशुपतिमान प्रधान र द्रोणप्रसाद श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । लेखिका सावित्री जङ्गम थापा घरायसी समस्याका कारण कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । ‘साहित्य र सङ्गीतका महारथी’ कृति प्रकाशकका तर्फबाट चूडाप्रसाद चौलागाईंले कृतिनायक हिरण्य भोजपुरेलाई हस्तान्तरण गर्नुभएको थियो ।

