शब्दयात्रा प्रकाशनले शिक्षासेवी तथा लेखक पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भक्तपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले जगाती निवासी पशुपतिमान पःमाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ठ्यासफूमा रहेको मौलिक स्वस्थानी व्रतकथालाई पहिलोपटक नेवारी भाषामा उतारेर प्रकाशित गराउनुभएको हुँदा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भक्तपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार भरत जङ्गमले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्रीमती कोमलवदन मल्ललाई समर्पण गरिएको थियो ।