शब्दयात्रा प्रकाशनले कलाकार पदमप्रसाद पौडेललाई ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले चैनपुर निवासी पदमप्रसाद पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता क्षेत्रमा २२ वर्ष र शिक्षणसेवामा ३० वर्ष सेवा गरेर पनि साना र ठूला गरी १ सयभन्दा बढी चलचित्रमा अभिनय गरेर विशिष्ट योगदान गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार लीला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । गत वर्ष यो पुरस्कार श्री ज्ञान उदासलाई समर्पण गरिएको थियो ।