शब्दयात्रा प्रकाशनले आध्यात्मिक व्यक्तित्व श्री पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्कृत व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । चयन समितिमा आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल संयोजक तथा कवि पदम दाहाल र आख्यानकार प्रजापति तिमिल्सिना सदस्य हुनुहुन्छ । यसअघि भोजपुर प्रतिभा पुरस्कारका लागि उपयुक्त व्यक्तिको नाउँ सिफारिस गर्न सार्वजनिक आह्वान गरिएको थियो । सिफारिसमा प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले भोजपुरको भुल्के घर भई हाल धरान निवासी पुरुषोत्तम भट्टराईलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्राच्यविधाका विज्ञ तथा न्याय, ज्योतिष र वेदान्त दर्शनका प्रकाण्ड विद्वानका रूपमा सुपरिचित उहाँले पिण्डेश्वर धरानमा ४० वर्षअघिदेखि निरन्तर गुरुकुल सञ्चालन गरी साढे नौ दशकको उमेरमा पनि अध्यापन गरिरहनुभएको छ । अहिले पनि त्यस गुरुकुलमा ७० जना विद्यार्थी निःशुल्क आवास, भोजन र शिक्षा प्राप्त गरिरहेका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन स्वयं गौरवान्वित बनेको छ । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो ।