आख्यानकार भरत जङ्गमद्वारा लिखित पहिलो उपन्यास ‘कालो सूर्य’ को नेपाली भाषाको पाँचौँ पटकको पुनर्मुद्रण शब्दयात्रा प्रकाशनबाट हुने भएको छ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार बीपी कोइरालाले तत्कालीन समाजको जीवन्त अभिलेखका रूपमा चित्रण गरिदिएपछि भरत जङ्गमको ‘कालो सूर्य’ उपन्यासको चर्चा एकाएक चुलिएको थियो । २०३६ सालमा इन्दु प्रकाशन प्रकाशक बनी इन्डियाको बनारसबाट प्रकाशन भएयता यो उपन्यास नेपाली भाषाको चौथो पटकको पुनर्मुद्रणसम्ममा हजारौँ पाठकको हातमा परिसकेको छ । तैपनि पाठकको माग बढिरहेको र उपन्यास बजारमा किन्न पाइन छाडेको हुनाले उपन्यासकार भरत जङ्गमको सदिच्छा बमोजिम पाँचौँ पटकको पुनर्मुद्रणका रूपमा शब्दयात्रा प्रकाशनबाट यो उपन्यास प्रकाशन हुन लागेको हो । आफ्नो बहुचर्चित र विश्वप्रसिद्ध उपन्यासको प्रकाशनका लागि शब्दयात्रा प्रकाशनको स्मरण गर्नुभएकोमा आख्यानकार भरत जङ्गमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।