शब्दयात्रा प्रकाशनले २०८० सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ कथाकार इस्माली (महेश्वरप्रसाद उपाध्याय पौडेल) मा समर्पण गर्ने भएको छ । गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समिति’ ले उहाँलाई उक्त पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको औरहीमा २०१२ साल जेठमा जन्मनुभएका कथाकार इस्माली लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी हाल निवृत्त जीवन बिताइरहनुभएको छ । उहाँले नेपाली भाषामा कथा, उपन्यास र बालकथाका विभिन्न पुस्तकहरू लेख्नुभएको छ । उहाँमा पुरस्कार समर्पण गर्दा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको कोष व्यवस्थापनमा हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको यो पुरस्कार पहिलोपटक उहाँमा समर्पण गर्न लागिएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा उहाँप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।