साहित्यकार प्रोल्लास सिन्धुलीय (सिन्धुली) लाई ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि विभिन्न महानुभावहरूको सहयोग लिएर शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा कवि प्रोल्लास सिन्धुलीयप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
लीलादेवी श्रेष्ठद्वारा लिखित ‘व्यथाको कथा’ नामक कथासङ्ग्रहमा पाँचवटा कथा छन् । सबै कथा पारिवारिक विषयवस्तु रहेका सामाजिक कथा लाग्छन् । पाठकको मनलाई भित्रभित्रै उद्वेलित बनाउन र पढिसकेपछि निकै बेर घोरिन बाध्य पार्ने यी कथाहरूले पाठकलाई राम्रो सन्देश पनि दिएका छन् । परिवार र समाजमा देखिने र देखिएका बेथिति र विसङ्गति, समाजको गलत व्यवहारले निम्त्याएको मानसिक विचलन, बालमनोविज्ञान, नारीका वेदना आदि विषयले यसभित्रका कथालाई पठनीय र मर्मस्पर्शी बनाएका छन् ।