शब्दयात्रा प्रकाशनले यही साउन १९ गते शनिबार पुरस्कार समर्पण समारोहको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा प्रोल्लास सिन्धुलीयलाई सिन्धुली प्रतिभा पुरस्कार, राप्रउ पोखरेललाई महोत्तरी प्रतिभा पुरस्कार, महात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार, ललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार, सुमित्रा चौलागाईं (सुमी मानव) लाई दूरदर्शी नेतृत्व पुरस्कार र प्रेमकण्ठ माकजू श्रेष्ठलाई उद्यमशीलता पुरस्कार समर्पण गरिनेछ । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्ष शब्दसाधक तीर्थ बनेपामा दिउँसो १ बजे सुरु हुनेछ ।
रौतहट प्रतिभा पुरस्कार यस वर्ष समर्पण नगरिने
शब्दयात्रा प्रकाशनले राम–रेवती प्रतिष्ठानको कोष व्यवस्थापनमा यही २०८१ सालको साउन महिनामा समर्पण गर्नुपर्ने ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ का लागि यस वर्ष कसैको नाउँमा पनि निर्णय नगर्ने र यस वर्ष उक्त पुरस्कार समर्पण नगर्ने भनी पुरस्करणीय व्यक्तित्व चयन समितिले निर्णय गरेको हुँदा ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ यस वर्ष समर्पण नगरिने भएको छ ।
नयाँ आध्यात्मिक गान ‘तत्त्वमसि’ सार्वजनिक
पूर्णप्रसाद ब्राह्मणको १०२ औँ जन्मजयन्ती मनाइयो
शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो साउन २ गते बुधबार हरिशयनी एकादशीका दिन पूर्णप्रसाद ब्राह्मणको १०२ औँ जन्मजयन्ती मनाइयो । अग्रज पत्रकार बलदेव थापाको प्रमुख आतिथ्य, गीतिभास्कर मच्छेश्वर सापकोटाको आतिथ्य र कवि पदम दाहालको सभापतित्वमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित उक्त कार्यक्रमको समुद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर डा. छत्रपति दाहालले गर्नुभएको थियो । स्वागत भाषण कृष्णमणि कुइकेलले र प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सहदीप पलान्चोकेले गर्नुभएको उक्त कार्यक्रममा हरि मञ्जुश्रीले पूर्णप्रसाद ब्राह्मणका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो भने डा. इन्दुल केसीले पूर्णप्रसाद ब्राह्मण प्रमुख निर्वाचन आयुक्त हुँदाको प्रसङ्ग सुनाउनुभएको थियो । उपस्थित महानुभावहरूले पूर्णप्रसाद ब्राह्मणको तस्बिरमा पुष्पार्पण गर्नुभएको थियो । स्मरणीय छ — पूर्णप्रसाद ब्राह्मणको जन्म १९७९ असार शुक्ल एकादशीमा र निधन २०४६ जेठ शुक्ल एकादशीमा भएको थियो । उहाँ संस्कृत साहित्यका चौथो महाकवि, खण्डकाव्यकार र अनुवादक, नेपाली साहित्यका कवि, खण्डकाव्यकार, प्रथम लघुकथाकार, कथाकार र उपन्यासकार, जयतु संस्कृतम् आन्दोलनका प्रमुखका रूपमा पहिलो विद्यार्थी नेता, राष्ट्रिय जनता पार्टीका संस्थापक अध्यक्ष, राजसभा स्थायी समितिका सदस्य, राष्ट्रिय निर्देशन परिषदका सदस्य–सचिव र प्रमुख निर्वाचन आयुक्त, ब्राह्मणले पनि हलो जोत्न हुन्छ भनेर हलो क्रान्ति सुरु गर्ने नायक, पूर्वमीमांसा विषयमा सर्वोत्कृष्ट भएर पदक पाउने पहिलो विद्यार्थी, नेपाल राष्ट्रिय विद्यापीठका उपकुलपति र पहिलोपटक नेपालमा हिन्दू सम्मेलन गराउने हिन्दूसेवक हुनुहुन्थ्यो ।
नीलकण्ठेश्वर धाममा पुष्परोपण
हरिशयनी एकादशीमा आज २०८१ साल साउन २ गते बुधबार शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाममा पुष्परोपण कार्यक्रम गरियो । अग्रज पत्रकार बलदेव थापा र उहाँकी छोरी पविता थापाले तुलसी, बेलपत्र, अमलाका अतिरिक्त विभिन्न फूलका बिरुवाहरू भक्तपुरबाट ल्याउनुभएको थियो । केही बिरुवा केदारनाथ तिमल्सिनाले ल्याउनुभएको थियो । ती बिरुवाहरू बलदेव थापा, पविता थापा, हरि मञ्जुश्री, कृष्णमणि कुइकेल, डा. छत्रपति दाहाल, मच्छेश्वर सापकोटा, केदारनाथ तिमल्सिना, पदम दाहाल, डा. इन्दुल केसी, चूडाप्रसाद चौलागाईंले रोप्नुभएको थियो ।
सुमित्रा चौलागाईंलाई दूरदर्शी नेतृत्व पुरस्कार समर्पण गरिने
मानव कल्याण समाज (सेवाघर) का संस्थापक अध्यक्ष समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि रश्मि हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारीले कोषको व्यवस्था गर्नुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा समाजसेवी सुमी मानवप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।
ललिता दोषी र सरस्वती सापकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार समर्पण गरिने
बलदेव थापाबाट अतिथिगृहका लागि भान्साका सामान प्रदान
शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट बनेपाको शब्दसाधक तीर्थमा संयुक्त रूपमा सञ्चालित शब्दसाधक अतिथिगृहको भान्साका लागि आवश्यक पर्ने सामग्रीहरू अग्रज पत्रकार बलदेव थापा (गुन्डू, भक्तपुर) ले प्रदान गर्नुभएको छ । उहाँले ग्यास सिलिन्डर र ग्यास चुलोसहित ७ जनासम्मको भान्साका लागि आवश्यक पर्ने भाँडाकुँडाहरू सहयोगस्वरूप प्रदान गर्नुभएको हो । ती सामग्रीहरू शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक सदस्य सकुल थापाले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन अग्रज पत्रकार बलदेव थापाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।
प्रेमकण्ठ माकजूलाई सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार समर्पण गरिने
महात्मा सुशीललाई राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने
पाशुपत योगका प्रचारक महात्मा सुशील (ललितपुर) लाई ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, २०८१’ समर्पण गरिने भएको छ । यस पुरस्कारका लागि पूर्वप्रशासक, शिक्षासेवी तथा समाजसेवी शङ्करप्रसाद मानन्धरले कोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार आगामी साउन महिनामा समर्पण गरिनेछ । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा महात्मा सुशीलप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।