Home Blog Page 27

प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति अमृत अधिकारीलाई

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ अमृत अधिकारीलाई प्रदान गर्ने भएको छ । यसअघिका दुई वर्षमा भोजपुर अनुसन्धान विद्वतवृत्ति अन्तर्गत प्राप्त भएका अनुसन्धान प्रतिवेदनहरूलाई समायोजन गरी उहाँले एउटै पुस्तकका रूपमा मुद्रण गर्न योग्य बनाइदिनुहुनेछ । भोजपुरका शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठ र उहाँकी अर्धाङ्गिनी साहित्यकार लीला श्रेष्ठले शब्दयात्रा प्रकाशनमा खडा गर्नुभएको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा अमृत अधिकारीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति पुण्यवती घलेलाई

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ पुण्यवती घलेलाई प्रदान गर्ने भएको छ । उहाँले ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ शीर्षकमा शोधपत्र तयार पार्नुहुनेछ र त्यो शोधपत्र पुस्तकका रूपमा प्रकाशन गरिनेछ । काभ्रेपलान्चोक जिल्लाको सामाजिक संस्था सुभाष स्मृति प्रतिष्ठानले सुभाष खड्काको स्मृति र सम्मानमा शब्दयात्रा प्रकाशनमा खडा गरेको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा शब्दयात्रा प्रकाशन पुण्यवती घलेलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति जयनारायण नेपाललाई

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ साहित्यकार तथा पूर्वप्रशासक जयनारायण नेपाललाई प्रदान गर्ने भएको छ । उहाँले समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाका साहित्यिक कृतिहरूको समीक्षा गरी पुस्तक तयार पार्नुहुनेछ र त्यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिनेछ । सावित्री जङ्गम थापाले शब्दयात्रा प्रकाशनमा खडा गर्नुभएको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा जयनारायण नेपाललाई शब्दयात्रा प्रकाशन परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

प्रह्लाद हुमागाईं, कपिल कोइराला र केशवराज पौडेललाई कदर गरिने

0
काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारत्रय प्रह्लाद शर्मा हुमागाईं, कपिल कोइराला र केशवराज पौडेललाई शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र, २०८१’ समर्पण गर्ने भएको छ । यो कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि हरेक वर्ष समर्पण गर्ने गरेको छ । शब्दयात्रा प्रकाशनले २०८१ सालमा समर्पण गरिने उक्त कदरपत्रका लागि उपयुक्त पत्रकारको चयन गर्न आजीवन सदस्यत्रय प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलाञ्चोकेलाई जिम्मा लगाएको थियो । उहाँहरूको निर्णयका आधारमा शब्दयात्रा प्रकाशनले छापा पत्रकारितातर्फ प्रह्लाद शर्मा हुमागाईंलाई, विद्युतीय पत्रकारितातार्फ कपिल कोइरालालाई र फोटो पत्रकारितातर्फ केशवराज पौडेललाई कदर गर्ने भएको हो । कदरपत्र ग्रहण गर्न स्वीकृति दिनुभएकोमा तीनैजना पत्रकारप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

पत्रकार छान्ने ‘प्रकास’

0
हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका छापा माध्यममा सक्रिय पत्रकार, विद्युतीय माध्यममा सक्रिय पत्रकार र फोटो पत्रकार गरी तीनजना पत्रकारलाई २०८१ सालका लागि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गर्नेछ । कदर गर्नुपर्ने पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका तर्फबाट प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके (प्रकास) ले गर्नुहुनेछ ।

वेदप्रसाद गौतमको ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ सार्वजनिक, बिक्रीबाट उठेको सम्पूर्ण रकम सामाजिक संस्थालाई प्रदान

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा काभ्रेपलान्चोक जिल्लाका वाङ्मयिक प्रतिभा वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रह हिजो कार्तिक १० गते शनिबार काठमाडौँमा सार्वजनिक गरियो । कोशकार चूडामणि गौतमको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक र लेखकका बारेमा शिक्षासेवी चूडाप्रसाद चौलागाईंले जानकारी गराउनुभएको थियो भने साहित्यसेवी नवीना श्रेष्ठले शुभकामना मन्तव्य र साहित्यकार लीलादेवी श्रेष्ठले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ वेदप्रसाद गौतमद्वारा लिखित पहिलो तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३९ औँ पुस्तक हो । कार्यक्रममा कृतिकार वेदप्रसाद गौतमले पुस्तक लेख्नुको कारणका बारेमा जानकारी गराउनुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ पुस्तकको मूल्य ५ सय रुपियाँ राखिएको भए पनि कार्यक्रममा स्वेच्छाले न्यूनतम ५ रुपियाँसम्ममा किन्न सकिने व्यवस्था गरिएको थियो । त्यसरी बिक्रीबाट उठेको सम्पूर्ण रकम शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले सेवक नेपाल नामक संस्थाका लागि प्रमोद तिमल्सिनालाई प्रदान गर्नुभएको थियो । काभ्रेपलान्चोक जिल्लाको मन्डन देउपुरमा आश्रम बनाई ३ दर्जनजति असहाय बालबालिकाको पालनपोषण गरेर पढाइरहेको सेवक नेपाल संस्थालाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनका तर्फबाट सो रकम प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रमको समुद्घाटन प्रा. केदारनाथ श्रेष्ठले, सञ्चालन कृष्णमणि कुइकेलले, छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षको माला समर्पण जयनारायण नेपालले, सार्वजनिकीकरणको व्यवस्थापन कालिका त्रिपाठी पन्तले र अतिथिहरूलाई उपहार समर्पण पुण्यवती घलेले गर्नुभएको थियो ।

‘हामी नसुतौं उठौं’ जागरण गान आजदेखि सुन्न सकिने

0

हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘हामी नसुतौं उठौं’ नामको जागरण गान नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा आज कार्तिक १० गते शनिबार आयोजित कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले उक्त गानलाई सार्वजनिक गर्नुभएको हो । उहाँले हरि मञ्जुश्री ६ दशक उमेर पार गरिसकेपछि गीत–सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको बताउँदै आफ्नै शब्द, सङ्गीत र स्वरमा १ वर्षभित्र उहाँका ८–९ वटा गानहरू सार्वजनिक भएको जानकारी दिनुभयो र उहाँका गानहरूले छोटो समयमै नेपाली गीत–सङ्गीत क्षेत्रमा छुट्टै तरङ्ग ल्याएको कुरा बताउनुभयो । उक्त कार्यक्रममा त्यस गानका गायक–गायिका इ. रोशन मञ्जुश्री अधिकारी र अम्बिका थापा खड्कालाई अग्रज गायिका चन्द्रकला शाहले रुद्राक्षको माला लगाइदिएर आशीर्वाद र सफलताको शुभकामना दिनुभएको थियो । जागरण गान अक्षरधामको यु–ट्युब च्यानलबाट सुन्न सकिन्छ ।
हरि मञ्जुश्रीका अनुसार चेतनामूलक र ज्ञानवर्धक जागरण गानका माध्यमबाट नयाँँ पुस्तालाई आफ्नो राष्ट्रियता, मौलिकता, स्वाभिमान र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान यो गान तयार पारिएको हो । यसमा रहेका शब्दहरूमा वर्तमान नेपाली पुस्ताको मनोभाव प्रकट गरिएको र यसको सङ्गीत समेत युवा पुस्ताले गाउन सजिलो हुने गरी सिर्जना गरिएको कुरा पनि उहाँले जानकारी दिनुभएको छ ।

२३९. पृथ्वीमा मानिसका जीवनयात्रा

वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रहमा उहाँले विभिन्न समयमा लेख्नुभएका १९ वटा लेखहरू सङ्कलित छन् । यसमा न्यूनतम ३ पृष्ठदेखि अधिकतम ७९ पृष्ठसम्मका लेखहरू छन् । ‘पृथ्वी, प्राकृतिक स्रोत र मानिस’ बाट प्रारम्भ भएको यो पुस्तक ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ मा समाप्त भएको छ । बीचमा आत्मजीवनी पनि परेको छ । यी लेखहरू आद्योपान्त अध्ययन गर्दा कतै–कतै पुनरुक्तिदोष जस्तो देखिए पनि प्रसङ्ग अनुसार आएकाले तिनलाई सामान्य नै मान्नुपर्ने हुन्छ । समग्रमा पुस्तक पठनीय र मननीय छ ।

गोलसिमल सम्मानित

0

साहित्यिक पत्रकारिताको क्षेत्रमा लामो समयसम्म निरन्तर सेवा गर्नुका साथै लेखन, अन्वेषण र सम्पादन विधाका महान् साधकहरूका विषयमा महत्त्वपूर्ण सामग्रीहरू प्रकाशन गरेर नेपाली भाषा–साहित्यको श्रीबृद्धिमा अतुल्य योगदान गरेकोमा साहित्यिक पत्रकार अच्युतप्रसाद अधिकारीद्वारा सम्पादित ‘गोलसिमल’ नामक साहित्यिक पत्रिका (सर्लाही) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८१’ समर्पण गरिएको छ । कार्यक्रममा अच्युतप्रसाद अधिकारी उपस्थित हुन नसक्नुभएको हुँदा उहाँलाई उपलब्ध गराउने गरी गीता अधिकारीलाई पदम दाहालले माला, वासुदेव काफ्लेले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था आफ्नी आमाको स्मृति र सम्मानमा प्रथम साहित्यिक हुतात्मा कृष्णलाल अधिकारीको नाउँमा समर्पण गर्ने गरी कवि योगेन्द्र खत्री (भोजपुर) ले गर्नुभएको हो ।

अभिनेताको आत्मकथा सार्वजनिक

0

प्रसिद्ध रङ्गकर्मी तथा नाट्य–अभिनेता हरिबहादुर थापाले लेख्नुभएको ‘रङ्गमञ्चमा म’ नामक आत्मकथात्मक कृतिलाई हिजो असोज १६ गते बुधबार सार्वजनिक गरियो । पुस्तक सार्वजनिकीकरण समारोह अग्रज संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्य र हरि मञ्जुश्रीको सभापतित्वमा भएको थियो । पुस्तकलाई प्रमुख अतिथि, सभापति र कृतिकारका साथमा डा. अभि सुवेदी, डा. दयाराम श्रेष्ठ, नीर शाह र डा. सावित्री कक्षपतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । समारोहमा कृतिकार हरिबहादुर थापाले विगतमा आफूले अभिनय गरेका नाट्यकृतिका केही अंशहरू प्रस्तुत गर्नुभएको थियो । समारोहमा पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम असहाय बालबालिका र बृद्धबृद्धाहरूको स्याहारसुसार गरिरहेको संस्था तुलसालय फाउन्डेसनको सहयोगका लागि सञ्चालक सरु सुवेदीलाई मिठु थापाले प्रदान गर्नुभएको थियो । पुस्तकको प्रकाशक तथा कार्यक्रमको आयोजक शब्दयात्रा प्रकाशन थियो । काठमाडौँको भाटभटेनीमा अवस्थित आम्रपाली ब्यान्क्वेटमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा पत्रकारहरूको समुपस्थिति थियो । जनसञ्चार टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । समारोहमा इ. रोशन अधिकारी, शारदाप्रसाद शर्मा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, वेदप्रसाद गौतम आदिले विभिन्न सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । ‘रङ्गमञ्चमा म’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३७ औँ कृति हो ।