Home Blog Page 201

‘शब्दसंवाद’ मा मच्छेश्वर सापकोटा

0

काभ्रे जिल्लाका गौरव बनेका अग्रज लोकगायक मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १९ औँ शृङ्खलामा आफ्नो जीवनयात्रामा आइपरेका आरोह–अवरोह, साङ्गीतिक यात्रा र केही गीतहरू प्रस्तुत गर्नुभयो । गत २०७४ साल असार २ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा उहाँलाई उहाँकी जीवनसँगिनी गायिका सरस्वती सापकोटाले गायनमा साथ दिनुभएको थियो । उहाँको त्यस बखतको प्रवचनको केही अंश यस पत्रिकाको ‘शब्दसंवादभूमि’ स्तम्भमा प्रकाशित भएको छ ।
कार्यक्रमको सभापतिका रूपमा बोल्ने क्रममा मच्छेश्वर सापकोटाको योगदानका विषयमा सङ्क्षिप्त चर्चा गर्दै शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले लोकसंस्कृतिको एउटा अङ्ग लोकसङ्गीत पनि रहेको, लोकलय र लोकधुनलाई परिमार्जित र परिष्कृत बनाएर मच्छेश्वर सापकोटाले गाउने गर्नुभएको, पहिले त्यसलाई कोठे लोकगीत भनिए पनि अचेल परिमार्जित लोकगीत भन्ने गरिएको र उहाँको गायनलाई आध्यात्मिक, मनोरञ्जनात्मक, क्रान्तिकारी र जीवनचिन्तनपरक गरी चार प्रकारमा विभाजन गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले परिमार्जित लोकगायनमा धर्मराज थापा, कुमार बस्नेत, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, गणेश रसिक, पाण्डव सुनुवार, तारा थापा, तीर्थकुमारी आदिको ठूलो योगदान रहेको र त्यही स्थानमा मच्छेश्वर सापकोटाको नाम पनि आउने गरेको बताउनुभयो । मच्छेश्वर सापकोटाजस्तै राष्ट्रिय प्रतिभाहरूको कीर्ति चिरस्थायी बनाउन शब्दयात्रा प्रकाशनले बनेपामा अनुसन्धान केन्द्र बनाउन खोजेको बताउँदै उहाँले मच्छेश्वर सापकोटाले काभ्रे जिल्लाको लोकलयलाई चिनाएको आधारमा यस जिल्लाबाट उहाँलाई दिइएको सम्मान पुगेको छैन भन्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा शब्दयात्रा कलाकार समाजका सदस्य गायक रामहरि न्यौपानेले पनि एउटा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुदर्शन आचार्य, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, पुण्यवती घले, वासुदेव कुइँकेल, गीता मञ्जुश्री, भवानी पाण्डे, कुलप्रसाद तिमल्सिना, शिव बन्जारा, सोमकाजी शाक्य, नानु कुइँकेल, जयदेश श्रेष्ठ, शकुन्तला बन्जारा, श्री शर्मा मूर्ख, ओतबहादुर खड्का, फणीन्द्रराज अधिकारी, विष्णुहरि तिमल्सिना, कृष्णमणि कुइँकेल, तुतुकाजी प्रणामी श्रेष्ठ, पुष्पदास स्याउला, दामोदर घिमिरे, छविलाल कुइँकेल, केदारनाथ तिमल्सिना, दीपक तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
महाप्रबन्धक शारदाप्रसाद शर्माका अनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ को आगामी शृङ्खलामा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले प्रस्तुत हुनुहुनेछ ।

‘शब्दसंवाद’ मा सुदर्शन आचार्य

0

शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रमको अठारौँ शृङ्खला गत २०७४ साल जेठ २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता कर्मयोद्धा सुदर्शन आचार्य हुनुहुन्थ्यो । ‘शब्दसंवाद’ का संयोजक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी फणीन्द्रराज अधिकारी सभापति हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री तथा शारदाप्रसाद शर्मा, श्री शर्मा मूर्ख, मच्छेश्वर सापकोटा, शिव बन्जारा, माधवप्रसाद आचार्य, शकुन्तला बन्जारा, हरि अधिकारी, कुलप्रसाद तिमल्सिना, पुण्यवती घले, नानु कुइँकेल, विष्णुहरि तिमल्सिना, छविलाल कुइँकेल, नवराज पराजुली, गोविन्दप्रसाद कुइँकेल, राधिका न्यौपाने, शम्भुप्रसाद कुइँकेल, नानु आचार्य, पूर्णबहादुर कर्माचार्य आदिको उपस्थिति रहेको थियो ।

सालिकका लागि आर्थिक सहयोग

0

शब्दयात्रा प्रकाशनले नेपालका चारजना शब्दसाधकहरूको सालिक बनेपामा स्थापना गर्न लागिएकोमा त्यस कार्यमा सहयोग गर्ने सहयोगीहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
त्यस क्रममा दामोदर घिमिरे र लक्ष्मी पोख्रेल (खोटाङ) ले पाँच हजार पाँच सय पचपन्न रुपियाँ, हरिप्रसाद ढुङ्गेल (भैँसेपाटी, बनेपा) ले पाँच हजार एक सय रुपियाँ, योगनाथ उपाध्याय अधिकारी (कठजोर, रामेछाप) ले पाँच हजार एक सय रुपियाँ, केशव थापा (मल्पी, पनौती) ले पाँच हजार एक सय एघार रुपियाँ र बालमुकुन्द पराजुली (धुलिखेल) ले एक हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।

नारी स्रष्टा समाजमा पुण्यवती घले

0

कवयित्री पुण्यवती घले शब्दयात्रा नारी स्रष्टा समाजको संयोजक बन्नुभएको छ । गत २०७४ जेठ २७ गते शब्दयात्रा नारी स्रष्टा समाजको पुनर्गठन गरिँदा उहाँलाई संयोजक चयन गरिएको हो । नारी स्रष्टा समाजभित्र हाल रुक्मिणी सिग्देल, चण्डिका वाग्ले, भवानी पाण्डे, गीता मञ्जुश्री, सजना आचार्य र अम्बिका धिताल आबद्ध हुनुहुन्छ ।
शब्दयात्रा नारी स्रष्टा समाजको संयोजक बन्नुभएकोमा कवयित्री पुण्यवती घलेलाई हार्दिक बधाई छ ।

स्वागत मन्तव्य : हामीले गर्न खोजेको यो हो

0

काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण नगरपालिकाहरूका नवनिर्वाचित प्रमुख र उपप्रमुखज्यूहरूलाई बधाईका साथ शुभकामनापत्र र विशेष उपहारका साथ सम्मान गर्न शब्दयात्रा प्रकाशनले आज यहाँहरूलाई आमन्त्रण गरेको हो । यस संस्थाको आमन्त्रणलाई स्वीकार गरेर यस कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पूर्ण नवनिर्वाचित नगर–प्रमुख र नगर–उपप्रमुखज्यूहरू तथा अन्य सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दछु । निर्वाचित हुनुभएकोमा उहाँहरूलगायत उपस्थित वडाअध्यक्ष र सदस्यहरूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दछु ।
शब्दयात्रा प्रकाशन २०६८ सालमा स्थापना भई राष्ट्रिय स्तरमा परिचित भइसकेको र अनलाइनबाट विदेशमा समेत सम्पर्क बढाउँदै लगेको काभ्रे जिल्लाको सक्रिय वाङ्मयिक संस्था हो । यस संस्थाले ६ वर्षभित्र ८२ वटा पुस्तकहरू प्रकाशन गरिसकेको छ, हरेक वर्ष विभिन्न १६ वटा विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई उपहार, प्रतिव्यक्ति ५ हजार रुपियाँ, किरीट र अभिवन्दनापत्रसहित सम्मान गर्ने गरेको छ, सम्मानका लागि अक्षयकोषमा ६ लाख रुपियाँ राख्न सकिएको छ र सम्मानका लागि बाँकी खर्च सम्मानका व्यवस्थापकहरूबाट उठाउने गरेको छ, काठमाडौँ उपत्यकाबाहेक प्रदेश नं. ३ बाट निस्कने साप्ताहिक पत्रिकाहरूमध्ये राष्ट्रिय स्तरको विचारप्रधान साप्ताहिक पत्रिकाका रूपमा ‘नेपालभूमि साप्ताहिक’ नियमित रूपमा प्रकाशित गरिरहेको छ, ‘अक्षरधाम’ नामक साहित्यिक मासिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ, हरेक बुधबार ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम प्रसारण गरिरहेको छ, हरेक शुक्रबार ‘शब्दसंवाद’ नामक प्रवचन कार्यक्रम सञ्चालन गरिरहेको छ, नेपालमै पहिलोपटक विपत्तिपीडित लेखक–पत्रकारहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोष बनाएको छ, नेपालमै पहिलोपटक घुम्ती पुस्तक पसल बनाएको छ, वेभसाइट सञ्चालन गरेर विश्वव्यापी विद्युतीय सूचना–सन्जालसँग जोडिँदै गएको छ र काभ्रेली लेखकहरूको नाउँमा छुट्टाछुट्टै ब्लगहरू बनाइरहेको छ । यसबाट हाम्रो जिल्लाका प्रतिभाहरूको चिनारी विश्वभरि पु¥याउन थालिएको छ ।
गत वर्ष यस संस्थाले बनेपाका समाजसेवी कृष्णमणि कुइँकेलबाट बनेपा नगरपालिका वडा नं. ६ मा ५ आना जग्गा दानमा पाएको छ । त्यस जग्गामा ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ नामबाट नेपालमै पहिलोपटक वाङ्मयिक अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यो कार्य यस संस्थाको प्रथम चरणको निर्माणकार्य हुनेछ । त्यहाँ शब्दयात्रा स्तम्भ र अनुसन्धान केन्द्रको भवनसहित नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको अर्धकदको सालिक स्थापना गरिने भएको छ । नेपालमा शिक्षा, साहित्य, सङ्गीत र पत्रकारिता विधाका अग्रणी व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गर्न लागिएको यो पहिलोपटक हो । चारैवटा सालिकको निर्माण भइसकेको छ, स्थापना गर्नचाहिँ बाँकी छ ।
सीमित स्रोत–साधन र थोरै जनशक्ति भएर पनि ६ वर्षको अवधिमा यति काम सम्पन्न हुन सकेकाले अब स्थानीय निकायहरूमा जनप्रतिनिधिहरू निर्वाचित भइसकेपछि झन् धेरै कामहरू गर्न सकिनेछ भन्ने कुराले हाम्रो हौसला बढेको छ ।
काभ्रेपलाञ्चोक जिल्लासँग जोडिएका र कुनै पनि विधामा योगदान गरेका व्यक्तिका विषयमा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्तित्वहरूका बारेमा अनुसन्धान गर्नुपर्दा हरेक व्यक्तिले हाम्रै जिल्लामा आउनुपर्ने गरी अनुसन्धान केन्द्र बनाउने हाम्रो लक्ष्य हो । त्यसका लागि गुरुयोजना तयार भइसकेको छ र आर्थिक स्रोतको खोजी गरिँदैछ । संस्थाको जग्गामा त्यति काम गरिसकेपछि नेपालभरिका शिक्षासेवी, अनुसन्धाता, प्राध्यापक, साहित्यकार, पत्रकार र कलाकारका लागि हाम्रो जिल्ला आउनैपर्ने पर्यटकीय स्थल बन्नेछ ।
हामी चाहन्छौँ हाम्रो जिल्ला नेपालका बौद्धिक व्यक्तित्वहरूको आकर्षणको केन्द्र बन्न सकोस्, हरेक क्षेत्रका बुद्धिजीवीहरूलाई यस जिल्लामा ल्याएर उनीहरूको बुद्धिको उपयोग गराउन सकियोस्, हाम्रा विद्यालयहरूमा पढाइने पाठ्यपुस्तकहरू हाम्रै जिल्लाका लेखकहरूबाट लेखियून्, हाम्रो जिल्लामा प्रज्ञाप्रतिष्ठान, सांस्कृतिक संस्थान, राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, मदन पुरस्कार गुठी, साझा प्रकाशन आदिजस्ता संस्थाहरू नभए पनि तिनीहरूको अभाव केही हदसम्म शब्दयात्रा प्रकाशनले पूर्ति गर्न सकोस्, काठमाडौँबाट निस्कने ठूला–ठूला दैनिक अखबारहरूबाट हाम्रो जिल्लाले सधैँ किचिनुको सट्टा हाम्रो जिल्लाबाट पनि त्यस्तै पत्रिका निकालेर राजधानीमा पठाउन सकियोस्, गुणस्तरीय मुद्रणको काम पनि यहीँ होस्, अनि अनुसन्धान, लेखन, सम्पादन, प्रकाशन, प्रसारण, वितरण क्षेत्रको सन्जाल हाम्रो जिल्लाभरि फैलिन सकोस् । यसरी हामी हाम्रो यो भूभागलाई नेपाल र नेपाली जातिलाई माया गर्ने हरेक वर्गका लागि आकर्षक बौद्धिक पर्यटनस्थल बनाउन चाहन्छौँ ।
हाम्रो यो यात्रा लामो छ र कठिन पनि छ । तर हामीलाई इतिहासले सुम्पेको यो जिम्मेवारी हामीले पूरा नगरी भएको छैन । हामीले हाम्रो पालामा यति काम पनि गर्न नसके भविष्यको पुस्ताले हामीलाई अयोग्य पुस्ता भन्ने हो कि भन्ने हामीलाई डर छ । त्यसैले हामी कठोर तपस्या गर्न अगाडि सरेका छौँ र जिल्लाका सबै नगरपालिका र गाउँपालिकाबाट सहयोगको अपेक्षा राखेका छौँ ।
शब्दयात्रा प्रकाशनसँग आबद्ध भएका र यस संस्थाको सम्पर्कमा रहेका लेखक, अन्वेषक, साहित्यकार, पत्रकार, कलाकार, शिक्षक, प्राध्यापक, सम्पादक आदि सबै जनशक्ति यस जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरूले पाठ्यक्रमको निर्माणसहित विकासकार्यमा उपयोग गराउन सकौँ भन्ने पनि हाम्रो ध्येय हो । हामी समन्वय, सहकार्य र सन्तुलनमा विश्वास राख्ने भएकाले आफ्नो क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, पुराताàिवक, सामाजिक, भाषिक, साहित्यिक, शैक्षिक, सांस्कृतिक सम्पदाका विषयमा अनुसन्धान, लेखन, प्रकाशन, प्रसारण र वितरण गर्ने, जुनसुकै प्रकारका पुस्तकहरू तयार पार्ने र अन्य बौद्धिक क्रियाकलापहरू गर्ने कार्यका लागि सहकार्य गरेर अन्य जिल्लाहरूले हामीबाट अनुकरण गर्न सक्ने कार्यहरू सम्पन्न गर्न हामी सफल बनौँ भन्ने आग्रह गर्दछु ।
अन्त्यमा, यहाँहरू सबैलाई फेरि पनि स्वागत गर्दै निर्वाचित हुनुभएकोमा प्रमुख तथा उपप्रमुखज्यूहरूलाई बधाई ज्ञापन गर्दछु र हाम्रो आमन्त्रण र सम्मानलाई स्वीकार गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्दछु । धन्यवाद !

शब्दयात्रा प्रकाशनबाट प्रमुख–उपप्रमुखलाई स्वागत–सम्मान

0

शब्दयात्रा प्रकाशनले गत २०७४ साल जेठ २४ गते बुधबार काभ्रेपलाञ्चोक जिल्लाका छवटै नगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखहरूको सम्मानमा स्वागत, बधाई, उपहार तथा शुभकामनापत्रका साथ सम्मान ग¥यो ।
कार्यक्रममा सभापतिका रूपबाट स्वागत गर्दै शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले काभ्रेपलाञ्चोक जिल्लामा नेपालमै पहिलोपटक वाङ्मयिक अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखिएको जानकारी दिँदै त्यसका लागि बनेपाको ६ नं. वडामा रहेको शब्दयात्रा प्रकाशनको जग्गामा शब्दयात्रा स्तम्भ र अनुसन्धान केन्द्रको भवनसहित नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको अर्धकदको सालिक नेपालमै पहिलोपटक एकै ठाउँमा स्थापना गर्न लागिएको कुरा बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लासँग जोडिएका र कुनै पनि विधामा योगदान गरेका व्यक्तिका विषयमा तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्तित्वहरूका बारेमा अनुसन्धान गर्नुपर्दा हरेक व्यक्तिले हाम्रै जिल्लामा आउनुपर्ने गरी अनुसन्धान केन्द्र बनाउने हाम्रो लक्ष्य हो भन्दै उहाँले त्यसबाट नेपालभरिका शिक्षासेवी, अनुसन्धाता, प्राध्यापक, साहित्यकार, पत्रकार र कलाकारका लागि हाम्रो जिल्ला आउनैपर्ने स्थल बन्नेछ भन्नुभयो ।
कार्यक्रम संयोजक हरिगोपाल प्रधानले धन्यवाद ज्ञापन गर्नुका साथै शुभकामनापत्र प्रदान गर्नुभएको उक्त कार्यक्रममा अर्का कार्यक्रम संयोजक सकुल थापा र गीता मञ्जुश्रीले मङ्गलाचरणबाट कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । महाप्रबन्धक शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख–उपप्रमुखलाई पुण्यवती घलेले माला अर्पण गर्नुभएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जू श्रेष्ठ र उपप्रमुख विमला शर्मा चौलागाई, पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता बन्जारा, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवार, नमोबुद्ध नगरपालिकाका प्रमुख टी. पी. शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी तामाङ तथा मन्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र उपप्रमुख निर्मला शाहीलाई सम्मान गरिएको थियो ।

हार्दिक बधाई

0

गणतन्त्र दिवसको अवसरमा शब्दयात्रा प्रकाशनका शुभचिन्तकहरू प्रा. डा. कुलप्रसाद कोइराला, प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ र अशेष मल्लले सुकीर्तिमय राष्ट्रदीप, दिनेश थपलिया, प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. गोपीकृष्ण शर्मा, सुदीप पाठक र पुरुषोत्तम दाहालले सुप्रबल जनसेवाश्री तथा डा. रामदयाल राकेशले प्रबल जनसेवाश्री प्राप्त गर्नुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई छ ।

शब्दयात्रा प्रकाशन परिवार

बनिसके चारवटा सालिक

0

शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गर्न लागेका चारवटा साधकका सालिकहरूको निर्माण गरिसकिएको छ । ललितपृुरको एउटा हस्तकला उद्योगमा ती सालिकहरू बनेका हुन् । हस्तकला उद्यमी सुदर्शन थापाले ढुङ्गालाई सालिकको आकार दिएका हुन् । चारैवटा सालिक शब्दयात्रा प्रकाशनमा राखिएको छ ।
‘जग्गा दानमा पाइयो, सालिकको निर्माण पनि भयो, अब दानमा पाइएको जग्गामा सालिक स्थापना गर्नका लागि आर्थिक स्रोत खोजिँदैछ’, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री भन्नुहुन्छ, ‘दाताहरूको नाम र सहयोगको विवरण शिलापत्रमा राखिने हुनाले र नेपालमा नै पहिलोपटक एकै ठाउँमा शिक्षा, साहित्य, सङ्गीत र पत्रकारिता क्षेत्रका प्रथम व्यक्तित्वको सालिक राख्न लागिएकाले सहयोग पाइएला भन्ने लागेको छ ।’
२०७४ सालभित्रमा सालिक स्थापना गरिसक्ने लक्ष्य शब्दयात्रा प्रकाशनले राखेको छ ।

सालिकका लागि आर्थिक सहयोग

0

नेपाली भाषा–साहित्य, शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता र गीत–सङ्गीत क्षेत्रका अग्रज प्रतिभाहरूको सालिक निर्माण गरी बनेपाको एकै ठाउँमा स्थापना गर्ने शब्दयात्रा प्रकाशनको ऐतिहासिक अभियानमा सरिक भई उक्त कार्य सफल पार्नका लागि आर्थिक सहयोग गर्न दाताहरू उत्साहित देखिनुभएको छ र आर्थिक सहयोग पनि प्राप्त भइरहेको छ ।
यसै क्रममा काभ्रे तेमालनिवासी कवयित्री भवानी पाण्डेले आफ्ना पिताजीको स्मृतिमा पाँच हजार एक सय रुपियाँ, काभ्रे पनौतीनिवासी शिक्षासेवी रमेश पौड्याल र कवयित्री मीरा पौड्यालले पाँच हजार एक सय रुपियाँ र धुलिखेलनिवासी समाजसेवी जगन्नाथ गिरीले पाँच हजार एक सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
आर्थिक सहयोग गर्नका लागि अन्य व्यक्तिहरूबाट पनि आश्वासन प्राप्त भइरहेको छ ।

कानुनी सल्लाहकारमा हरिप्रसाद ढुङ्गेल

0

शब्दयात्रा प्रकाशनको अवैतनिक कानुनी सल्लाहकारको जिम्मेवारी अधिवक्ता हरिप्रसाद ढुङ्गेलले सम्हाल्ने हुनुभएको छ । बनेपा नगरपालिका क्षेत्रको भीमसेनपाटी (हाल भैँसेपाटी) निवासी श्री ढुङ्गेल हाल बन्द रहेको ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्च’ पत्रिकाका सम्पादक–प्रकाशक पनि हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनको बाह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका संयोजक पनि बनिसक्नुभएको छ ।
अवैतनिक कानुनी सल्लाहकारका रूपमा शब्दयात्रा प्रकाशनसँग आबद्ध बनी सहयोग गर्ने हुनुभएकोमा अधिवक्ता हरिप्रसाद ढुङ्गेलप्रति शब्दयात्रा प्रकाशनले आभार व्यक्त गरेको छ ।