शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को २७ औँ शृङ्खला गत २०७४ साउन २७ गते अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त शृङ्खलामा शिक्षासेवी तथा समाजसेवी पूर्णबहादुर कर्माचार्यले प्रमुख वक्ताका रूपमा उपस्थित भई शिक्षासेवा र समाजसेवाका विषयमा आफ्ना धारणाहरू प्रस्तुत गर्नुभयो । कवयित्री भवानी पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख वक्ताको सङ्क्षिप्त चिनारी गराउँदै कार्यक्रमलाई व्यवस्थित गर्ने कार्य कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा हरि मञ्जुश्री, मच्छेश्वर सापकोटा, ओतबहादुर खड्का, सुनील सापकोटा, पूर्णबहादुर कार्की, पुण्यवती घले, तुतुकाजी प्रणामी श्रेष्ठ, चुलेन्द्र ढकाल, श्री शर्मा मूर्ख, अम्बिका धिताल, दामोदर घिमिरे, ध्रुवप्रसाद ढुङ्गेल, सकुल थापा, सुमन खड्का, सहदीप पलाञ्चोके, दीपक तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
आगामी शृङ्खलाका प्रमुख वक्ताका रूपमा लेखक डा. नवराज खतिवडा प्रस्तुत हुने जानकारी गराइएको थियो ।
‘शब्दसंवाद’ मा पूर्णबहादुर कर्माचार्य
निर्माण समितिमा मनोनयन
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई मनोनयन गर्नुभएको छ ।
आवश्यकताअनुसार बाँकी सदस्यहरूको मनोनयन पछि गरिने जानकारी हरि मञ्जुश्रीले गराउनुभएको छ ।
एकजनाको सालिक थप
शब्दयात्रा प्रकाशनले नेपालका चारजना शीर्ष व्यक्तित्वको सालिक बनेपाको कृष्ण–गीता परिसरमा स्थापना गर्न लागेकोमा एकजनाको सालिक थप गरेर पाँचजनाको सालिक स्थापना गर्ने भएको छ ।
विज्ञान–प्रविधि विधामा त्रिभुवन प्रज्ञा पुरस्कार पहिलोपटक प्राप्त गर्ने प्रथम नेपाली वैज्ञानिक नरबहादुर भारतीको सालिक शब्दयात्रा प्रकाशनले थप गर्न लागेको हो ।
शब्दयात्राको कार्यालय सारिने
शब्दयात्रा प्रकाशनको कार्यालय आगामी भदौ महिनादेखि नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा निर्मित भवनमा रहने भएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वरधाम संरक्षण समितिका बीचमा भएको सम्झौताअनुसार शब्दयात्रा प्रकाशनको कार्यालय साउन महिनाको अन्त्यदेखि त्यस भवनमा सर्ने भएको हो ।
शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्न लागेको कृष्ण–गीता परिसर नीलकण्ठेश्वरधामकै निकटमा रहेको हुनाले कार्यालय सार्न लागिएको हो ।
शब्दयात्रालाई एक लाख पन्ध्र हजार
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट कवितासङ्ग्रहको प्रकाशन गर्ने प्रथम कवयित्री सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष शिक्षक–शिक्षिकालाई सम्मान गर्न अक्षयकोष राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनलाई एक लाख पन्ध्र हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उहाँले उक्त रकमको चेक शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा लिखित ‘मेरो देश मेरो गौरव’ कवितासङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो ।
‘शब्दसंवाद’ मा फेरि तुतुकाजी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को छब्बीसौँ शृङ्खलामा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ प्रमुख वक्ताका रूपमा रहनुभयो । यस कार्यक्रमको पहिलो शृङ्खलाका प्रमुख वक्ता पनि उहाँ नै बन्नुभएको थियो । पनौतीको प्राणनाथ माइती वृद्धाश्रममा गत २०७४ साल साउन २० गते शुक्रबार अपराह्न ४ बजेदेखि प्रारम्भ भएको उक्त कार्यक्रमको सभापतित्व वृद्धाश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनाले र सञ्चालन शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रमका बारेमा संयोजक पदमनाथ ढुङ्गानाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले नयाँ पुस्तालाई चारित्रिक शिक्षा दिनका लागि पीताम्बरदास महाराज, गुरुजी मङ्गलदास, युगलदास महाराज, मोहन प्रियाचार्य जस्ता व्यक्तित्वको जीवनी र योगदान तयार पार्न, खिकाप्रसाद अधिकारीजस्ता लुकेका व्यक्तित्वको त्यागका बारेमा सबैलाई जानकारी दिन र असल काम गरेका मान्छेहरूको इतिहास जोगाउनका लागि अनुसन्धान गर्नु आवश्यक रहेको र त्यसका लागि बनेपामा अनुसन्धान केन्द्र बनाउन लागिएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा पनौतीका श्रीकृष्णप्रणामी सम्प्रदायका थुप्रै भक्तजनको सहभागिता रहेको थियो भने शब्दयात्रा प्रकाशनका तर्फबाट मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, ओतबहादुर खड्का, पुण्यवती घले, दण्डपाणि अधिकारी, पूर्णबहादुर कर्माचार्य, कृष्णमणि कुइँकेल, शकुन्तला बन्जारा, नानुदेवी कुइँकेल, भवानी पाण्डे, श्री शर्मा मूर्ख आदिले सहभागिता जनाउनुभएको थियो ।
आगामी शृङ्खलामा लेखक तथा शिक्षासेवी पूर्णबहादुर कर्माचार्य प्रमुख वक्ताका रूपमा रहने जानकारी त्यस कार्यक्रममै गराइएको थियो ।
सालिकहरूको शिलान्यास सम्पन्न
शब्दयात्रा प्रकाशनको आयोजनामा गत २०७४ साउन १८ गते बुधबार काभ्रे बनेपाको कृष्ण–गीता परिसरमा नेपालका मूर्धन्य साधकहरूको सालिक स्थापना गर्नका लागि शिलान्यास कार्य सम्पन्न गरियो ।
नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्दको सालिकको शिलान्यास शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारीले, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको सालिकको शिलान्यास शब्दयात्रा पत्रकार समाजका संयोजक रामचन्द्र हुमागाईंले, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको सालिकको शिलान्यास शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काले, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिकको शिलान्यास गायिका सरस्वती सापकोटाले र राष्ट्रिय पुरस्कार पाउने प्रथम नेपाली वैज्ञानिक नरबहादुर भारतीको सालिकको शिलान्यास जग्गादाता कृष्णमणि कुइँकेलले गर्नुभएको थियो ।
शिलान्यासपछिको समारोहमा सालिकका लागि व्यक्तित्व चयन गर्ने समितिका तर्फबाट गोपाल पराजुली, अर्थसङ्कलन सहयोगीका तर्फबाट द्रोणप्रसाद श्रेष्ठ, सालिक राखिने व्यक्तित्वको परिवारका तर्फबाट सुनील सापकोटा र कृतिकारहरूका तर्फबाट सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले र समापन ‘शब्दसंवाद’ का संयोजक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
शिलान्यासअघिको पूजनकार्य कवि श्रीधर प्याकु¥यालको पौरोहित्यमा हरि मञ्जुश्रीले गर्नुभएको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको शिलान्यास कार्यक्रमको व्यवस्थापन शारदाप्रसाद शर्मा र पदमनाथ ढुङ्गानाबाट भएको थियो भने सहयोगीको भूमिका भुवन पाण्डेले निर्वाह गर्नुभएको थियो ।
शिलान्यास कार्यक्रममा सकुल थापा, मच्छेश्वर सापकोटा, गणेशदास उलक, तुतुकाजी प्रणामी श्रेष्ठ, चन्द्रबहादुर खड्का, गीता कुइँकेल, नानु कुइँकेल, प्राचार्य दिव्यमणि अधिकारी, दण्डपाणि अधिकारी, सुदर्शन पोखरेल, इन्दिरा अधिकारी, तीर्थराज अधिकारी, दीक्षा घिमिरे, हरिप्रसाद चौलागाईं, अमृत अधिकारी, गीता मञ्जुश्री अधिकारी, फणीन्द्रराज अधिकारी, सुदर्शन आचार्य, पूर्णबहादुर कर्माचार्य, पुण्यवती घले, पूर्णबहादुर कार्की, सरिता केसी आदिको उपस्थिति रहेको थियो ।
सालिकका लागि पच्चीस हजार
नेपालका पाँचजना मूद्र्धन्य व्यक्तित्वहरूको सालिक बनेपामा स्थापना गर्न शब्दयात्रा प्रकाशनबाट गरिएको प्रयत्नलाई सह«ाहना गर्दै त्यस कार्यमा सहयोग गर्ने क्रममा देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले फेरि २० हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई थप आर्थिक सहयोग गरेको छ । यसअघि उक्त संस्थाले ८० हजार रुपियाँ सहयोग गरेको थियो ।
यसै गरी धुलिखेलनिवासी शिक्षासेवी तथा शब्दयात्रा सहयोगी समाजका संयोजक रामप्रसाद अधिकारीले सालिकको निर्माण तथा स्थापनाका लागि ५ हजार १ सय रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
शब्दयात्राबाट ‘हाम्रो बालक्लब’
बालसाहित्यकार भवानी पाण्डेद्वारा लिखित तेस्रो बालसाहित्यिक कृति ‘हाम्रो बालक्लब’ नामक बालनाटक शब्दयात्रा प्रकाशनको ८७ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित भई आगामी भदौ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक हुने भएको छ ।
शब्दयात्रा नारी स्रष्टा समाजमा सक्रिय रही साहित्यिक सिर्जनालाई गतिमान् बनाइरहेकी भवानी पाण्डेको यसअघिको बालसाहित्यिक कृति ‘प्रकृति नै गुरु’ २०७१ साल भदौमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिएको थियो ।
शब्दयात्रा प्रकाशनबाट के–के सेवाहरू पाउन सकिन्छ ?
१. आफू वा आफ्ना मान्यवरको नाउँमा अक्षयकोष राखी सम्मानको स्थापना
२. ऐतिहासिक महàवका व्यक्ति र पुराताàिवक महàवका वस्तुहरूको अन्वेषण–अनुसन्धान
३. जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदिबारेको पुस्तकको लेखन र प्रकाशन
४. स्मारिका, स्मृतिग्रन्थ, अभिनन्दनग्रन्थ आदिका लागि सामग्री–सङ्कलन, सम्पादन र प्रकाशन
५. सङ्घ–संस्थाका मुखपत्र, पत्रिका, प्रतिवेदन, परिचय–पुस्तिका आदिसम्बन्धी सम्पूर्ण कार्य
६. व्यक्तिगत पुस्तक–पत्रिकाको प्रकाशनसम्बन्धी सम्पूर्ण कार्य
७. आफ्ना साहित्यिक तथा वाङ्मयिक लेख–रचनाहरूको प्रकाशन
८. पुस्तकको सार्वजनिकीकरण समारोह
९. सम्मानपत्र, कदरपत्र, अभिनन्दनपत्र, प्रशंसापत्र, आभारपत्र आदिको लेखन र निर्माण
१०. तुल, उपहार, निमन्त्रणापत्र, कार्यक्रमको रूपरेखा आदिको तयारी
११. अक्षराङ्कन, अनुवाद र भाषिक शुद्धीकरण
१२. नेपाली भाषा, व्याकरण, लेखन, शुद्धीकरण, सम्पादन, छन्द आदिको प्रशिक्षण