शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्का र ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं रहेको तीन सदस्यीय टोलीले गत २०७५ मङ्सिर १२ गते बुधबार काभ्रेको खरेलथोकमा अवस्थित बौद्धिक अपाङ्गता पुनस्र्थापना केन्द्रको अवलोकन भ्रमण ग¥यो ।
टोलीलाई पुनस्र्थापना केन्द्रका सचिव तथा सञ्चालिका सुधा सिलवालले स्वागत गर्नुभएको थियो । टोलीले पुनस्र्थापना केन्द्रको गतिविधिका बारेमा जानकारी लिएको थियो ।
पुनस्र्थापना केन्द्रको अवलोकन
शब्दयात्रा प्रकाशनले के–के गरेको छ ?
शब्दयात्रा प्रकाशन मुनाफा वितरण नगर्ने संस्थाका रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको सामाजिक संस्था हो । यस संस्थाले काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्र बनाई राष्ट्रिय स्तरका गतिविधिहरू सञ्चालन गरिरहेको छ । यस संस्थाले हालसम्म गरेका र गरिरहेका केही कार्यहरू निम्नानुसार छन् —
१. ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन गरी हरेक हप्ता ५०० प्रति पत्रिका विद्यार्थीहरूलाई निःशुल्क वितरण गर्ने गरेको ।
२. ‘अक्षरधाम’ नामक साहित्यिक पत्रिकाको व्यवस्थापन गर्ने गरेको ।
३. ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रमको सञ्चालन गर्ने गरेको ।
४. ‘शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रमको सञ्चालन गरी ती प्रवचनहरूलाई पुस्तकका रूपमा प्रकाशन गर्न गरेको ।
५. ‘शब्दसौगात’ नामक वृत्तचित्रको निर्माण गरेको ।
६. हरेक वर्ष १८ विधामा रु. ५०००।– सहित सम्मान समर्पण गर्ने गरेको । मदनमणि दीक्षित, अङ्गुरबाबा जोशी, श्यामदास वैष्णव, केदारभक्त माथेमा, श्रीधर खनाल, होमनाथ दाहाल, राजेश्वर नेपाली, डा. चूडामणि बन्धु, दिनेशराज पन्त, डा. त्रिरत्न मानन्धर, डा. माधव भट्टराई, रमेश खकुरेल, किरण खरेल, देवीप्रसाद वनवासी, ज्ञानुवाकर पौडेल, डा. विद्यानाथ कोइराला, शङ्करनाथ रिमाल, डा. जीवराज पोखरेल, ज्ञानमणि नेपाल, गोपाल पराजुली, बुद्धिनारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, भैरव रिसाल, रोचक घिमिरे, डा. चिन्तामणि योगी, पुरुषोत्तम सापकोटा, सावित्री जङ्गम थापा, लक्ष्मी गिरी, नूपुर भट्टाचार्य, वासुदेवशरण कोइराला, सगुन शाह, सीता पोखरेल, भीमबहादुर अधिकारी आदिसमेत ११३ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरिसकिएको ।
७. हरेक वर्ष रु. १०,०००।– को ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गर्ने गरेको ।
८. हालसम्म डा. सुरेशराज शर्मा, मोहनप्रसाद खनाल, हरि मञ्जुश्री, डा. विष्णु सापकोटा, गणेशबहादुर खत्री, पोष चापागाई, मुकुन्दप्रसाद उपाध्याय, बेलप्रसाद श्रेष्ठ आदिका १११ वटा पुस्तकको प्रकाशन गरेको ।
९. समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा धुलिखेलमा स्थापना गरेको ।
१०. पुस्तकालयहरूलाई पुस्तक सहयोग गरेको । कारागारका कैदी–बन्दीहरूलाई आध्यात्मिक पुस्तकहरू उपलब्ध गराउने गरेको ।
११. अक्षरसेवी सहयोग कोषको सञ्चालन गरी पीडित लेखकहरूलाई सहयोग गर्ने गरेको ।
१२. वेभसाइट सञ्चालन र ब्लग निर्माण गरेको ।
१३. घुम्ती पुस्तक पसल सञ्चालन गरेको ।
१४. फुटकर साहित्यिक कार्यक्रम गर्ने गरेको ।
१५. संस्थाले गरेको सामाजिक कार्य देखेर प्रभावित बनी कृष्णमणि कुइँकेल नामक स्थानीय दाताले बनेपामा ५ आना जग्गा संस्थाको नाउँमा दान दिनुभएको । त्यही जग्गामा प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू स्थापना गरिएको । नेपालमै पहिलोपटक पाँच विधाका अग्रज व्यक्तित्वका ती पाँच सालिकहरू निर्माण गरी स्थापना गर्न सरकारी निकायबाट आर्थिक सहयोग नलिएको, परिचित व्यक्तिहरूसँग मागेर सहयोग जुटाइएको ।
यो संस्था जनसहयोगबाट राष्ट्रको हितमा सञ्चालन भइरहेकाले यस संस्थालाई सहयोग गर्नु भनेको राष्ट्रहितका लागि सहयोग गर्नु हो ।
नेपालभूमिको सम्पादकमा नयाँ नियुक्ति
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पादकमा इ. रोशन मञ्जुश्री अधिकारी नियुक्त हुनुभएको छ । शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले उहाँलाई सम्पादकमा नियुक्त गरेको हो ।
‘नेपालभूमि’ का संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईंको निधन भइसकेको छ । उहाँले आफ्नो स्वामित्वमा रहेको ‘नेपालभूमि’ को प्रकाशन स्वामित्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएको थियो ।
नवनियुक्त सम्पादक रोशन मञ्जुश्री अधिकारीले काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । उहाँ यसअघि शब्दयात्रा प्रकाशनमा सूचना–प्रविधि अधिकृत हुनुहुन्थ्यो । उहाँको एकल लेखनमा एउटा कवितासङ्ग्रह र संयुक्त सम्पादनमा एउटा पुस्तक प्रकाशित भएको छ ।
शब्दयात्रा प्रकाशनले नवनियुक्त सम्पादक इ. रोशन मञ्जुश्री अधिकारीबाट ‘नेपालभूमि’ को गुणस्तरमा बृद्धि हुने अपेक्षा राखेको छ । ‘नेपालभूमि’ को सम्पादक बन्नुभएकोमा ‘नेपालभूमि’ परिवारले उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।
शब्दयात्रा प्रकाशनलाई पुरस्कृत गरिने
शब्दयात्रा प्रकाशनलाई २०७५ सालको सीता राणा प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । रु. १५,००० राशीको उक्त पुरस्कार कर्ण कौशल्या सीता स्मृति प्रतिष्ठानबाट प्रदान गर्न लागिएको हो । आगामी २०७५ मङ्सिर २८ गते शुक्रबार काठमाडौँमा आयोजना गरिने विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिने जानकारी आयोजक संस्थाले गराएको छ । उक्त समारोहमा बालशिक्षा सहयोग तथा संरक्षण केन्द्रलाई पनि रु. २५,००० राशीको सीता राणा स्मृति पुरस्कार प्रदान गरिने भएको छ ।
यसै गरी भोग्य सगुन सेवा समाजले रु. १०,००० राशीको भोग्य सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार गोपाल बस्नेतलाई र रु. १०,००० राशीको भाग्य सगुन सन्तोष स्वास्थ्य सहयोग दिनेश चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ ।
२०६५ सालमा स्थापित कर्ण कौशल्या सीता स्मृति प्रतिष्ठान र २०६८ सालमा स्थापित भोग्य सगुन सेवा समाजले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारहरू प्रदान गर्न लागेको जानकारी गराइएको छ ।
‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ सार्वजनिक
लेखक, पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित एवं शब्दयात्रा प्रकाशनको १ सय ११ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक २ सय २० पृष्ठको पुस्तकलाई गत २०७५ मङ्सिर ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा साहित्यकार द्रोणप्रसाद श्रेष्ठ, समाजसेवी चन्द्रबहादुर खड्का र आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायबाट संयुक्त रूपमा सार्वजनिक गरियो ।
सीमाविद् तथा लेखक बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्य र नियात्राकार तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का नियमित स्तम्भकार पोष चापागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ दीपप्रज्ज्वलन गरी स्वामी कल्याणमित्रले गर्नुभएको थियो । कार्यक्रमको सफलताका लागि महात्मा सुशीलले शुभकामना प्रेषित गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी रामप्रसाद अधिकारीले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटाले डा. इन्दुल केसीद्वारा लिखित ‘सम्पत्ति विवरण’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने ज्योतिष पण्डित रमेश अधिकारीले स्वस्तिवाचन, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत भाषण र शिक्षासेवी फणीन्द्रराज अधिकारीले प्रमुख अतिथिको लिखित मन्तव्य वाचन गर्नुभएको थियो ।
अतिथिहरूलाई जगन्नाथ गिरी र साधुराम गिरीले ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ पुस्तक र पुष्पगुच्छाद्वारा मञ्चमा स्वागत गर्नुभएको उक्त कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारीले मञ्चस्थ महानुभावहरूलाई उपहारस्वरूप सार्वजनिक गरिएको पुस्तक समर्पण गर्नुभएको थियो भने सहदीप पलान्चोकेले उपस्थित महानुभावहरूलाई तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनबाट १ सय १० औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘प्रेमप्रणाम’ पुस्तक निःशुल्क वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार डा. इन्दुल केसीको परिचय शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य सकुल थापाले र सार्वजनिक गरिएको कृतिको परिचय ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले कार्यक्रमको व्यवस्थापन गर्नुभएको र कृतिकार डा. इन्दुल केसीले आफ्नो जीवनयात्रा र लेखनयात्राका बारेमा बताउनुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रशासक नयनसिंह धामी, अधिवक्ता जीवना बादे श्रेष्ठ, प्रा. श्रीराम आचार्य, समीक्षक सरोजनी तन्डुकार, इ. कृष्णगोपाल प्रजापती, अनुसन्धाता विनोदराज शर्मा, शिक्षासेवी न्हुच्छेभक्त कवाँ, ग्रामकवि रोजनाथ लुइँटेल, शकुन्तला बन्जारा, रीक्षा घिमिरे लगायत अन्य विशिष्ट महानुभावहरूको समुपस्थिति रहेको थियो ।
प्रधान ‘नेपालभूमि’ को सल्लाहकार
शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सल्लाहकारमा हरिगोपाल प्रधानलाई मनोनयन गरेको छ ।
विगत चार दशकअघिदेखि छापा पत्रकारिता र फोटो पत्रकारितासँग सम्बन्धित रहनुभएका हरिगोपाल प्रधानले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित दुईवटा सम्मानको आर्थिक व्यवस्थापन गर्दै आउनुभएको छ ।
‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को सल्लाहकारमा मनोनीत हुनुभएकोमा हरिगोपाल प्रधानलाई हार्दिक बधाई !
सालिकको अनावरण मङ्सिर २६ गते
शब्दयात्रा प्रकाशनले यही २०७५ मङ्सिर २६ गते (१२ डिसेम्बर २०१८) बुधबार विवाहपञ्चमीका दिन बनेपामा आफ्नै स्वामित्वमा रहेको कृष्णगीता परिसरमा अग्रज वाङ्मयसेवी पाँचजनाको सालिक अनावरण गर्ने भएको छ ।
अनावरण कार्यक्रममा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद नरबहादुर भारती र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू अनावरण गरिनेछन् ।
शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत विधाका पाँचजना अग्रजहरूको सालिक एकै ठाउँमा स्थापना गरी अनावरण गर्न लागिएको नेपालमै यो पहिलोपटक हो । काभ्रेपलाञ्चोक जिल्लामा बहुआयामिक अनुसन्धान प्रतिष्ठान निर्माण गर्ने क्रममा पहिलो चरणमा अग्रज वाङ्मयसेवीहरूको सालिक अनावरण गर्न लागिएको हो । विभिन्न व्यक्तिहरूको आर्थिक सहयोगमा सालिकहरू निर्माण गरिएका छन् ।
सालिक राख्ने जग्गा समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिनुभएको थियो भने शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।
हार्दिक बधाई
यस संस्थाका संस्थापक सञ्चालक सदस्य सकुल थापा उग्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक आमन्त्रण
लेखक, पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक २२० पृष्ठको कृति मदन पुरस्कार प्राप्त लेखक तथा प्रसिद्ध सीमाविद् बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा निम्नलिखित स्थान, मिति र समयमा सार्वजनिक गरिने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर, २८ किलो, बनेपा
मिति : २०७५ मङ्सिर ७ गते शुक्रबार
समय : दिउँसो १ बजे
अनुरोधक : शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे
९७४१०६२१९० ÷ ०११–४१५२१५
‘शब्दसंवाद’ मा उद्धवप्रसाद भट्टराई
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६६ औँ शृङ्खला गत २०७५ कार्तिक ३० गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई प्रस्तुत हुनुभयो । उहाँले ‘योग र जीवन’ विषयमा सारगर्भित प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानको प्रमुख आतिथ्य र लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्यद्वय कृष्णमणि कुइँकेल र शिव बन्जारा, शब्दयात्रा लेखक समाजका सदस्यद्वय केदारनाथ तिमल्सिना र सहदीप पलाञ्चोके, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, इ. जुनू त्वाय्ना, शकुन्तला बन्जारा, खड्गप्रसाद सापकोटा, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।

