शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाको सम्पादकमा इ. रोशन मञ्जुश्री अधिकारी नियुक्त हुनुभएको छ । शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले उहाँलाई सम्पादकमा नियुक्त गरेको हो ।
‘नेपालभूमि’ का संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईंको निधन भइसकेको छ । उहाँले आफ्नो स्वामित्वमा रहेको ‘नेपालभूमि’ को प्रकाशन स्वामित्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएको थियो ।
नवनियुक्त सम्पादक रोशन मञ्जुश्री अधिकारीले काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ । उहाँ यसअघि शब्दयात्रा प्रकाशनमा सूचना–प्रविधि अधिकृत हुनुहुन्थ्यो । उहाँको एकल लेखनमा एउटा कवितासङ्ग्रह र संयुक्त सम्पादनमा एउटा पुस्तक प्रकाशित भएको छ ।
शब्दयात्रा प्रकाशनले नवनियुक्त सम्पादक इ. रोशन मञ्जुश्री अधिकारीबाट ‘नेपालभूमि’ को गुणस्तरमा बृद्धि हुने अपेक्षा राखेको छ । ‘नेपालभूमि’ को सम्पादक बन्नुभएकोमा ‘नेपालभूमि’ परिवारले उहाँलाई हार्दिक बधाई ज्ञापन गरेको छ ।