लेखक, पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित एवं शब्दयात्रा प्रकाशनको १ सय ११ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक २ सय २० पृष्ठको पुस्तकलाई गत २०७५ मङ्सिर ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको कार्यालयमा आयोजित विशेष कार्यक्रममा साहित्यकार द्रोणप्रसाद श्रेष्ठ, समाजसेवी चन्द्रबहादुर खड्का र आध्यात्मिक लेखक मुकुन्दप्रसाद उपाध्यायबाट संयुक्त रूपमा सार्वजनिक गरियो ।
सीमाविद् तथा लेखक बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्य र नियात्राकार तथा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का नियमित स्तम्भकार पोष चापागाईंको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको शुभारम्भ दीपप्रज्ज्वलन गरी स्वामी कल्याणमित्रले गर्नुभएको थियो । कार्यक्रमको सफलताका लागि महात्मा सुशीलले शुभकामना प्रेषित गर्नुभएको उक्त कार्यक्रममा शिक्षासेवी रामप्रसाद अधिकारीले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लोकगायक मच्छेश्वर सापकोटाले डा. इन्दुल केसीद्वारा लिखित ‘सम्पत्ति विवरण’ शीर्षकको कविता वाचन गर्नुभएको थियो भने ज्योतिष पण्डित रमेश अधिकारीले स्वस्तिवाचन, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले स्वागत भाषण र शिक्षासेवी फणीन्द्रराज अधिकारीले प्रमुख अतिथिको लिखित मन्तव्य वाचन गर्नुभएको थियो ।
अतिथिहरूलाई जगन्नाथ गिरी र साधुराम गिरीले ‘शब्दयात्रा प्रकाशनको ६ वर्ष’ पुस्तक र पुष्पगुच्छाद्वारा मञ्चमा स्वागत गर्नुभएको उक्त कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारीले मञ्चस्थ महानुभावहरूलाई उपहारस्वरूप सार्वजनिक गरिएको पुस्तक समर्पण गर्नुभएको थियो भने सहदीप पलान्चोकेले उपस्थित महानुभावहरूलाई तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनबाट १ सय १० औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘प्रेमप्रणाम’ पुस्तक निःशुल्क वितरण गर्नुभएको थियो ।
कार्यक्रममा कृतिकार डा. इन्दुल केसीको परिचय शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य सकुल थापाले र सार्वजनिक गरिएको कृतिको परिचय ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य कृष्णमणि कुइँकेलले कार्यक्रमको व्यवस्थापन गर्नुभएको र कृतिकार डा. इन्दुल केसीले आफ्नो जीवनयात्रा र लेखनयात्राका बारेमा बताउनुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा पूर्वप्रशासक नयनसिंह धामी, अधिवक्ता जीवना बादे श्रेष्ठ, प्रा. श्रीराम आचार्य, समीक्षक सरोजनी तन्डुकार, इ. कृष्णगोपाल प्रजापती, अनुसन्धाता विनोदराज शर्मा, शिक्षासेवी न्हुच्छेभक्त कवाँ, ग्रामकवि रोजनाथ लुइँटेल, शकुन्तला बन्जारा, रीक्षा घिमिरे लगायत अन्य विशिष्ट महानुभावहरूको समुपस्थिति रहेको थियो ।