शब्दयात्रा प्रकाशनले यही २०७५ मङ्सिर २६ गते (१२ डिसेम्बर २०१८) बुधबार विवाहपञ्चमीका दिन बनेपामा आफ्नै स्वामित्वमा रहेको कृष्णगीता परिसरमा अग्रज वाङ्मयसेवी पाँचजनाको सालिक अनावरण गर्ने भएको छ ।
अनावरण कार्यक्रममा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद नरबहादुर भारती र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू अनावरण गरिनेछन् ।
शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत विधाका पाँचजना अग्रजहरूको सालिक एकै ठाउँमा स्थापना गरी अनावरण गर्न लागिएको नेपालमै यो पहिलोपटक हो । काभ्रेपलाञ्चोक जिल्लामा बहुआयामिक अनुसन्धान प्रतिष्ठान निर्माण गर्ने क्रममा पहिलो चरणमा अग्रज वाङ्मयसेवीहरूको सालिक अनावरण गर्न लागिएको हो । विभिन्न व्यक्तिहरूको आर्थिक सहयोगमा सालिकहरू निर्माण गरिएका छन् ।
सालिक राख्ने जग्गा समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिनुभएको थियो भने शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।