शब्दयात्रा प्रकाशनले यही २०७५ मङ्सिर २६ गते (१२ डिसेम्बर २०१८) बुधबार विवाहपञ्चमीका दिन बनेपामा आफ्नै स्वामित्वमा रहेको कृष्णगीता परिसरमा अग्रज वाङ्मयसेवी पाँचजनाको सालिक अनावरण गर्ने भएको छ ।
अनावरण कार्यक्रममा प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद नरबहादुर भारती र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू अनावरण गरिनेछन् ।
शिक्षा–शिक्षण, आमसञ्चार–पत्रकारिता, विज्ञान–प्रविधि, भाषा–साहित्य र गीत–सङ्गीत विधाका पाँचजना अग्रजहरूको सालिक एकै ठाउँमा स्थापना गरी अनावरण गर्न लागिएको नेपालमै यो पहिलोपटक हो । काभ्रेपलाञ्चोक जिल्लामा बहुआयामिक अनुसन्धान प्रतिष्ठान निर्माण गर्ने क्रममा पहिलो चरणमा अग्रज वाङ्मयसेवीहरूको सालिक अनावरण गर्न लागिएको हो । विभिन्न व्यक्तिहरूको आर्थिक सहयोगमा सालिकहरू निर्माण गरिएका छन् ।
सालिक राख्ने जग्गा समाजसेवी कृष्णमणि कुइँकेलले शब्दयात्रा प्रकाशनलाई दान दिनुभएको थियो भने शब्दयात्रा प्रकाशनको कार्यालय सञ्चालन गर्न नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क कार्यालय उपलब्ध गराएको छ ।
सालिकको अनावरण मङ्सिर २६ गते
हार्दिक बधाई
यस संस्थाका संस्थापक सञ्चालक सदस्य सकुल थापा उग्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक आमन्त्रण
लेखक, पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक २२० पृष्ठको कृति मदन पुरस्कार प्राप्त लेखक तथा प्रसिद्ध सीमाविद् बुद्धिनारायण श्रेष्ठको प्रमुख आतिथ्यमा निम्नलिखित स्थान, मिति र समयमा सार्वजनिक गरिने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर, २८ किलो, बनेपा
मिति : २०७५ मङ्सिर ७ गते शुक्रबार
समय : दिउँसो १ बजे
अनुरोधक : शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे
९७४१०६२१९० ÷ ०११–४१५२१५
‘शब्दसंवाद’ मा उद्धवप्रसाद भट्टराई
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६६ औँ शृङ्खला गत २०७५ कार्तिक ३० गते शुक्रबार सम्पन्न भयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रमुख वक्ताका रूपमा आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई प्रस्तुत हुनुभयो । उहाँले ‘योग र जीवन’ विषयमा सारगर्भित प्रवचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानको प्रमुख आतिथ्य र लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्यद्वय कृष्णमणि कुइँकेल र शिव बन्जारा, शब्दयात्रा लेखक समाजका सदस्यद्वय केदारनाथ तिमल्सिना र सहदीप पलाञ्चोके, शिक्षासेवी पूर्णबहादुर कर्माचार्य, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, इ. जुनू त्वाय्ना, शकुन्तला बन्जारा, खड्गप्रसाद सापकोटा, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
‘पुष्प सौगात’ दोस्रो संस्करण छापिँदै
शब्दयात्रा प्रकाशनको १०४ औँ प्रकाशनपुष्पका रूपमा २०७५ भदौमा प्रकाशित ‘पुष्प सौगात’ को दोस्रो संस्करण यही मङ्सिर महिनामा प्रकाशन हुने भएको छ । यसको सम्पादन दामोदर घिमिरेले गर्नुभएको हो ।
काभ्रेली लेखक पुष्पदास स्याउलाको स्मृति र सम्मानमा प्रकाशित उक्त पुस्तकको पहिलो संस्करण ५०० प्रति छापेर सम्पूर्ण पुस्तक पुष्पदास स्याउलाका बालबच्चाको शिक्षादीक्षाका लागि सहयोगार्थ उहाँकी अर्धाङ्गिनी शर्मिला स्याउलालाई हस्तान्तरण गरिएकोमा उक्त पुस्तक बिक्री भइसकेको हुनाले दोस्रो संस्करण प्रकाशित गर्न लागिएको हो ।
दोस्रो संस्करण १००० प्रति छापेर पुनः पुष्पदास स्याउलाका बालबच्चाको शिक्षादीक्षाका लागि सहयोगार्थ उहाँकी अर्धाङ्गिनी शर्मिला स्याउलालाई हस्तान्तरण गरिनेछ ।
हार्दिक समवेदना
शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य तथा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका स्तम्भकार सुदर्शन आचार्यकी ममतामयी माता रुकु आचार्य गत २०७५ साल कार्तिक २२ गते परलोकगमन गर्नुभएकाले इहलोकमा रहनुभएका उहाँको परिवारका सम्पूर्ण शोकाकुल सदस्यहरूलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र गतात्माले परमात्मामा एकाकार हुन पाओस् भन्ने प्रार्थना गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
सुदर्शन आचार्यलाई मातृशोक
शब्दयात्रा प्रकाशन सम्मान व्यवस्थापक समाजका सदस्य तथा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका स्तम्भकार सुदर्शन आचार्यलाई मातृशोक परेको छ ।
उहाँकी माता रुकु आचार्यको गत २०७५ साल कार्तिक २२ गते निधन भएको थियो । उहाँ श्वास–प्रश्वाससम्बन्धी रोगबाट ग्रस्त हुनुहुन्थ्यो ।
शब्दयात्राबाट ‘प्रेमप्रणाम’
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘प्रेमप्रणाम’ नामक कृति प्रकाशन गर्न लागेको छ । उक्त कृति उहाँ दिवङ्गत हुनुभन्दा अगाडि नै शब्दयात्रा प्रकाशनले प्रकाशनका लागि प्राप्त गरेको थियो ।
यसअघि उहाँद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइसकेको छ । ‘प्रेमप्रणाम’ तुतुकाजी प्रणामी श्रेष्ठको २६ औँ कृति हो ।
‘केही गएका केही रहेका’ आउँदै
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको निबन्धसङ्ग्रह ‘केही गएका केही रहेका’ प्रकाशन हुने भएको छ । निबन्धसङ्ग्रहमा काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभाका रूपमा परिचित दिवङ्गत दसजना र जीवित पाँचजनाका बारेमा लेखिएका पूर्वप्रकाशित निबन्धहरू सङ्ग्रह गरिएको छ ।
त्यस्ता प्रतिभाहरूमा कृष्णप्रसाद पराजुली, गोपाल पराजुली, चूडाप्रसाद चौलागाई, ज्योतिप्रकाश सैंजू, दिनेश सेवाचार्य, दुर्गाप्रसाद शास्त्री, नरबहादुर भारती, प्रकाशबहादुर कायस्थ, भरतराज महत, मणिराज कायस्थ, डा. रामकण्ठ माकजू श्रेष्ठ, रामचन्द्र हुमागाईं, सप्तलाल ताम्राकार, हरिकृष्ण न्हसिजू श्रेष्ठ र ज्ञानकाजी मानन्धर रहेका छन् ।
सुभाष स्मृति प्रतिष्ठानले आफ्नो सत्रौँ प्रकाशनका रूपमा उक्त पुस्तक प्रकाशन गर्न लागेको हो । उक्त पुस्तकलाई सुभाष स्मृति प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिने भएको छ ।
शब्दयात्राबाट ‘तेस्रो आयाम’ छापिँदै
शब्दयात्रा प्रकाशनले ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ नामक पुस्तक प्रकाशन गर्न लागेको छ । उक्त पुुस्तकसहित शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १० पुगेको छ ।
साहित्यकार, पूर्वप्रशासक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसीद्वारा लिखित तथा सम्पादित उक्त पुस्तकलाई आगामी मङ्सिर ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको छ ।