Home Blog Page 165

सावित्री थापाको हीरक महोत्सव मनाइयो

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित प्रशासनिक महिला प्रतिभा सम्मानद्वारा सम्मानित नेपालको महिला महाप्रबन्धक अग्रज समाजसेवी श्रीमती सावित्री जङ्गम थापाको सम्मानस्वरूप शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सम्पादित ६०० पृष्ठको पुस्तक ‘वरिष्ठ समाजसेवी सावित्री जङ्गम थापा अभिनन्दनग्रन्थ’ लाई हिजो २०७५ कार्तिक १९ गते सोमबार काठमाडौँको बानेश्वरमा जङ्गम प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष समारोहमा सार्वजनिक गरियो । समारोहका प्रमुख अतिथि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले अभिनन्दनग्रन्थलाई सार्वजनिक गर्नुभएको थियो । उक्त अभिनन्दनग्रन्थ जङ्गम प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।
आयोजक संस्थाका अध्यक्ष भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमको सभापतित्वमा सञ्चालित उक्त समारोह ग्रन्थनायिका सावित्री जङ्गम थापाको ७५ वर्षको अवसर पारी हीरक महोत्सवका रूपमा आयोजना गरिएको थियो । समारोहमा ग्रन्थनायिकालाई जङ्गम प्रतिष्ठान नेपालले अभिनन्दनपत्र तथा शब्दयात्रा प्रकाशन, सुभाष स्मृति प्रतिष्ठान, शान्ति आश्रम, जङ्गम मठ, अँगालो आदि संस्थाहरूले सम्मानपत्र प्रदान गरेका थिए ।
समारोहमा सावित्री जङ्गम थापाद्वारा लिखित ‘आत्मबोध’ उपन्यासलाई प्रमुख अतिथि सुशीला कार्कीले सार्वजनिक गर्नुभएको थियो । अभिनन्दनग्रन्थका विषयमा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले र ‘आत्मबोध’ का विषयमा दीनबन्धु अर्यालले परिचयात्मक टिप्पणी गर्नुभएको उक्त समारोहमा सावित्री जङ्गम थापाका विषयमा कान्ता भट्टराईले परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो भने सङ्गीतकार दीपक जङ्गमले स्वागत भाषण तथा सञ्चारकर्मी आरती चटौतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

शब्दयात्राबाट पत्रकारितामा छात्रवृत्ति

0

एसईई परीक्षा उत्तीर्ण गरी पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार एकजना छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने गरी लेखक द्रोणप्रसाद श्रेष्ठले एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिने हुनुभएको छ । छात्रवृत्ति काभ्रे जिल्लाका छात्रालाई २०७६ सालदेखि प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
लेखक द्रोणप्रसाद श्रेष्ठले आफ्नी दिवङ्गत अर्धाङ्गिनी श्रीमती मनका श्रेष्ठ जीवितै हुँदा उहाँले चाहना गरेअनुसार ‘शब्दयात्रा मनका श्रेष्ठ पत्रकारिता छात्रवृत्ति’ का लागि अक्षयकोष राख्ने निर्णय गर्नुभएको हो ।
श्रीमती मनका श्रेष्ठको स्मृतिलाई जीवन्त राख्न द्रोणप्रसाद श्रेष्ठले यसअघि ‘शब्दयात्रा मनका श्रेष्ठ महिला प्रतिभा सम्मान’ का लागि अक्षयकोषको व्यवस्था गरिसक्नुभएको छ र उक्त सम्मानबाट चलचित्र अभिनेत्री लक्ष्मी गिरी र गायिका नुपूर भट्टाचार्य सम्मानित भइसक्नुभएको छ ।

उपस्थितिका लागि अनुरोध

0

नेपालभूमि राष्ट्रिय साप्ताहिकका संस्थापक प्रधान सम्पादक रामचन्द्र हुमागाईंको निधन भएको १३ औं दिनको पुण्यतिथिमा नमोबुद्ध नगरपालिकाका मेयर टीपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यमा श्रद्धाञ्जली सभाको आयोजना गरिने भएकाले उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर, २८ किलो, बनेपा, काभ्रे
मिति र समय : २०७५ कार्तिक १६ गते शुक्रबार दिउँसो १ः३० बजे
शब्दयात्रा प्रकाशन

शब्दयात्रा प्रकाशनको पाँचौं वार्षिक साधारणसभा बस्नेसम्बन्धी सूचना

0

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७५ असोज २९ गते सोमबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको पाँचौँ वार्षिक साधारणसभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२) अनुसार साधारणसभाका सदस्य महानुभावहरूको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ ।
पाँचौँ वार्षिक साधारणसभा हुने मिति, समय र स्थान :
मिति : २०७५ साल कार्तिक ३० गते शुक्रबार तदनुसार १६ नोभेम्बर २०१८
समय : दिउँसो १ बजे
स्थान : शब्दयात्रा प्रकाशनको सभाकक्ष, नीलकण्ठेश्वर परिसर, बनेपा — ६, काभ्रे
छलफलका विषयहरू :
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तसम्मको वासलात तथा आ. व. २०७४ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७५–७६ लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. आ. व. २०७५–७६ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरणमाथि छलफल गरी पारित गर्ने ।
५. विविध ।
यस प्रकाशनको वार्षिक प्रतिवेदनसहितको विवरण साधारणसभाका सबै सदस्य महानुभावहरूको ठेगानामा साधारणसभाको सूचनाका साथ संलग्न गरी पठाइएको छ । सो प्रतिवेदन प्राप्त नभएका सदस्य महानुभावहरूले प्रकाशनको बनेपास्थित कार्यालयमा सम्पर्क राखी लिनुहुन हार्दिक अनुरोध गरिन्छ ।
सञ्चालक समितिको आज्ञाले
महाप्रबन्धक : शब्दयात्रा प्रकाशन

अग्रज पत्रकार रामचन्द्र हुमागाईं यस संसारबाट बिदा हुनुभो

0

‘नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका’ का संस्थापक प्रधान सम्पादक, ‘नेपालभूमि’ को स्वामित्व शब्दयात्रा प्रकाशनलाई हस्तान्तरण गर्नुभएका दाता, शब्दयात्रा पत्रकार समाजका संस्थापक सभापति, ‘समयको अभिलेख’ (असार २०६६) र ‘जापानमा अलमलिँदा’ (मङ्सिर २०७२) नामक दुई कृतिका लेखक, गुणनिधि हुमागाईं र खलकुमारी हुमागाईंका सुपुत्रका रूपमा २०१० साल असार ५ गते मङ्गलबार काभ्रेपलाञ्चोक जिल्लाको कुशादेवीमा जन्मेर काठमाडौँलाई कर्मस्थल बनाई आजीवन सङ्घर्षशील रहनुभएका अग्रज पत्रकार, आफ्नो जन्मजिल्लाको मात्र नभई राष्ट्रकै गौरव बन्नुभएका आदरणीय व्यक्तित्व रामचन्द्र हुमागाईं गत २०७५ कार्तिक ४ गते आइतबार अपराह्न ३ः१५ बजे यस संसारबाट सधैँका लागि बिदा हुनुभएको छ । उहाँको आत्मा परब्रह्म परमात्मामा एकाकार होस् भनी प्रार्थना गर्दै उहाँका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

हरि मञ्जुश्रीको १११ औं पुस्तक प्रकाशित

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ‘वरिष्ठ समाजसेवी सावित्री जङ्गम थापा अभिनन्दनग्रन्थ’ प्रकाशित भएको छ । जम्मा ६ सय पृष्ठको यस ग्रन्थलाई आगामी कार्तिक १५ गते काठमाडौँमा सार्वजनिक गरिने भएको छ ।
यस ग्रन्थमा शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्वहरू अङ्गुरबाबा जोशी, चेतनाथ धमला, नीलकण्ठ भट्टराई, शब्दयात्रा प्रकाशनको कार्यक्रममा अतिथि बन्नुभएका व्यक्तित्वहरू डा. इन्दुल केसी, कमलराज रेग्मी, कान्ता भट्टराई, भरत जङ्गम तथा अन्य राष्ट्रिय व्यक्तित्वहरू अम्बिका श्रेष्ठ, आरडी प्रभास चटौत, कमल राणा, डा. केदार न्यौपाने, डा. कृष्णप्रसाद भट्टराई, डा. खेम कोइराला बन्धु, खेमराज केशवशरण, गम्भीरबहादुर हाडा, गीता केशरी, घटराज भट्टराई, डम्बरवीर थापा, तोया गुरुङ, दीनबन्धु अर्याल, दुर्गा घिमिरे, देवी शर्मा, ध्रुव मधिकर्मी, ध्रुव सापकोटा, परशु प्रधान, पुरुषोत्तम दाहाल, प्रयागराज वाशिष्ठ, बबिता बस्नेत, बमकुमारी बुढा मगर, डा. बेनी जङ्गम रावल, डा. बेन्जू शर्मा, डा. भूचन्द्र वैद्य, डा. माधुरी राणा सिंह, मित्रसेन दाहाल, मीना सुवेदी, मुकुन्दराज सत्याल, यज्ञेश्वर निरौला, राधेश्याम कमारो, लिली थापा, डा. वासुदेव त्रिपाठी, विमला तुम्खेवा, विश्वबन्धु थापा, डा. शशी अधिकारी, शान्ता मानवी, शैलेन्द्र साकार, सहाना प्रधान, हिरण्यकुमारी पाठक आदिसहित १ सय १३ जनाका लेख–संस्मरणहरू राखिएका छन् । तीमध्ये ७० जना महिला महिला हुनुहुन्छ ।
हरि मञ्जुश्रीको मौलिक लेखनमा २९ वटा, अनुवादमा १ वटा र सम्पादनमा ८१ वटा पुस्तक प्रकाशित भइसकेका छन् । यो पुस्तकसमेत उहाँका कृतिको सङ्ख्या १११ पुगेको छ ।

शब्दयात्राबाट दसैंको शुभकामना

0

शब्दयात्रा प्रकाशनमा गत २०७५ साल असोज २५ गते बिहीबार शब्दयात्रा प्रकाशनका सक्रिय कार्यकर्ताहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान गरियो । त्यस बखत हरि मञ्जुश्री, शारदाप्रसाद शर्मा, चूडाप्रसाद चौलागाईं, शिव बन्जारा, रोशन मञ्जुश्री अधिकारी, दामोदर घिमिरे, माधवप्रसाद तिवारी, रीक्षा घिमिरे र दीपक तिमल्सिना सहभागी हुनुहुन्थ्यो ।
त्यही अवसरलाई ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ६४ औँ शृङ्खलाका रूपमा उपयोग गर्दै केदारनाथ अधिकारीले सङ्क्षिप्त प्रवचन पनि गर्नुभयो । उहाँका साथमा कविता अधिकारी र मौसमी उपाध्याय पनि उपस्थित हुनुहुन्थ्यो ।

दसैं फलिफाप होस्

0

नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका, अक्षरधाम साहित्यिक पत्रिका, ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम, पुस्तक प्रकाशन, सम्मान समर्पण, अक्षरसेवी सहयोग कोष, सालिक निर्माण जस्ता शब्दयात्रा प्रकाशनका विभिन्न कार्यक्रमहरूसँग जोडिएर भावसँग नाच्ने, अक्षर मन पराउने, शब्दसँग खेल्ने, भाषा–व्याकरणमा रुचि राख्ने, संस्थाका लागि शुभेच्छा व्यक्त गर्ने, यस संस्थाका प्रकाशनहरू मनोयोगपूर्वक अध्ययन गर्ने, यस संस्थाका कार्यक्रमहरूमा उपस्थित हुने तथा लेख–रचना, अर्थ, विज्ञापन, भौतिक सामग्री आदि सहयोग गर्ने सम्पूर्ण वाङ्मयसेवीहरूलाई २०७५ सालको दसैं फलिफाप होस् ।

शब्दयात्रा प्रकाशन
कृष्ण–गीता परिसर, अक्षरधाम
नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रेपलाञ्चोक
दूरभाषाङ्क ः ०११–४१५२१५, ०११–६६२९६२

‘नेपालभूमि’ का कार्यकारी सम्पादक सम्मानित

0

नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई नेपाल शिक्षक महासङ्घबाट सम्मानित हुनुभएको छ । काभ्रे जिल्लाको कोसीपारी क्षेत्रमा रहेको चौँरी देउराली गाउँपालिकाको भवनमा २०७५ असोज २० गते नेपाल शिक्षक महासङ्घले बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा पूर्वशिक्षकलाई सम्मान गर्ने कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद गंगाबहादुर दोङ हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा सङ्घीय संसद सदस्य नवीना लामा, प्रदेश नं. ३ का सांसद रत्न ढकाल आदि हुनुहुन्थ्यो । गाउँपालिकाका अध्यक्ष दीनानाथ गौतम तथा शिक्षक सङ्घ–सङ्गठनका प्रतिनिधिको समेत उपस्थितिमा रामचन्द्र चौलागाईंको सभापतित्व रहेको उक्त कार्यक्रममा अन्य शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।

‘शब्दसंवाद’ मा रेखा सापकोटा दाहाल

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को त्रिसट्ठीऔँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहाल प्रस्तुत हुनुभयो । गत २०७५ असोज १९ गते शुक्रबार अपराह्न ३ बजेदेखि शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको उक्त कार्यक्रममा उहाँले आफ्नो जीवनसङ्घर्षका बारेमा बताउँदै बनेपा नगरपालिकाले जनहितका लागि गरिरहेका र गर्न खोजेका कार्यहरूका बारेमा जानकारी गराउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व, शिक्षासेवी तुयुकाजी ताम्राकारको प्रमुख आतिथ्य र शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य कृष्णमणि कुइँकेल, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, नेपालभूमि साप्ताहिकका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाई, शब्दयात्रा नारीस्रष्टा समाजका संयोजक पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, शिक्षासेवीद्वय फणीन्द्रराज अधिकारी र खड्गप्रसाद सापकोटा, कवि केदारनाथ तिमल्सिना, शब्दयात्रा पत्रकार समाजका सदस्य शिव बन्जारा, भजनसङ्कलक सहदीप पलान्चोके, विदुर थापा, पुरुषोत्तम हुमागाईं, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।