शब्दयात्रा प्रकाशनद्वारा आयोजित सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा धुलिखेलनिवासी ज्येष्ठ महिलाका रूपमा प्रमुख आतिथ्य ग्रहण गर्नुभएकी महारानी ब्यान्जू श्रेष्ठले १०२ वर्षको उमेरमा गत २०७५ साल फागुन १८ गते शनिबार भौतिक देह विसर्जन गर्नुभएको खबरले हामी मर्माहत बनेका छौँ । उहाँको मोक्षप्राप्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकविह्वल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
केदारनाथ तिमल्सिनालाई विशेष उपहार
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पछिल्लो २५ शृङ्खलामध्ये सबैभन्दा बढी शृङ्खलामा सहभागी हुनुभएकोमा कवि केदारनाथ तिमल्सिनालाई विशेष उपहार प्रदान गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई विशेष उपहार प्रदान गर्नुभएको थियो ।
यसअघि पहिलो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी उपस्थित हुनुभएकोमा आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई र दोस्रो २५ औँ शृङ्खलामध्ये सबैभन्दा बढी कार्यक्रममा उपस्थित हुनुभएकोमा व्यवस्थापनविद् श्री शर्मा मूर्खलाई विशेष उपहार प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा सबैभन्दा बढी उपस्थित हुने व्यक्तिलाई हरेक २५ औँ शृङ्खलामा विशेष उपहार प्रदान गर्ने गरेको छ ।
‘शब्दसंवाद’ मा कृष्णप्यारी नकर्मी
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७७ औँ शृङ्खला गत २०७५ फागुन १७ गते शुक्रबार दिउँसो शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कानुन–व्यवसायी तथा मानव–अधिकारकर्मी कृष्णप्यारी नकर्मी प्रमुख वक्ता रहनुभएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य शिक्षासेवी तथा कवि पदम दाहाल तथा सभापतित्व समाजसेवी चन्द्रमान सुवालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन लेखक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, जग्गादाता कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ का कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, लेखकहरू केदारनाथ तिमल्सिना, पूर्णबहादुर कर्माचार्य, सहदीप पलान्चोके, पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा छविलाल कुइँकेल, नवराज पराजुली, नानुदेवी कुइँकेल, आनन्द मानन्धर, लालप्रसाद पौड्याल, दीपककुमार उप्रेती, कविता शर्मा, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
हार्दिक बधाई
शब्दयात्रा पत्रकार समाजका सदस्य पदमसागर कक्षपति २०७५ फागुन ७ गते सम्मानित हुनुभएको छ । उहाँलाई हार्दिक बधाई !
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई !
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा आमसञ्चार सम्मान’ बाट २०७१ सालमा सम्मानित अग्रज पत्रकार नारायणप्रसाद शर्मा (दाङ) २०७५ सालको युद्धप्रसाद मिश्र स्मृति पुरस्कारद्वारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा लक्ष्मण खड्का
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७६ औँ शृङ्खलामा इन्जिनियर लक्ष्मण खड्का प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । गत २०७५ साल फागुन १० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा उहाँले नेपालको शिक्षाप्रणाली, इन्जिनियरिङ विधा र परिवर्तन हुँदै गएको सामाजिक चेतनाका विषयमा प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र पुण्यवती घलेको प्रमुख आतिथ्यमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जग्गादाता कृष्णमणि कुइँकेल, लेखकहरू पदमनाथ ढुङ्गाना र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल, नानुदेवी कुइँकेल, उत्सवप्रसाद कुइँकेल, उर्मिला गिरी, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
निर्माणकार्यमा आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले गरिरहेको निर्माणकार्यका लागि ‘सुन्दरराज चालिसे सुशीला चालिसे स्मृति प्रतिष्ठान’ ले १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
उक्त रकम प्रतिष्ठानका अध्यक्ष प्रा. सुरेशराज चालिसेले गत २०७५ फागुन १२ गते प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
शब्दयात्राबाट ११९ औं कृति
शब्दयात्रा प्रकाशनले यही २०७५ फागुन महिनामा ११९ औँ कृति प्रकाशित गर्ने भएको छ ।
उक्त कृति आध्यात्मिक चिन्तक तथा लेखक मुकुन्दप्रसाद उपाध्याय (ढुङ्गेल) ले तयार पार्नुभएको अनुसन्धानमूलक पुस्तिका ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ नामको रहेको छ ।
शब्दयात्रा प्रकाशनका पछिल्ला आठ पुस्तक
प्रेमप्रणाम : तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई त पठनीय हुने नै छ, अन्य पाठकहरूका लागि पनि उपयुक्त पठनसामग्री हुनेछ ।
व्यक्तित्व र कृतित्वको तेस्रो आयाम : ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ को पहिलो खण्डमा ‘भुइँचालो’ कवितासङ्ग्रहमा प्रकाशित मन्तव्य र प्रतिनिधिमूलक छवटा कविता, दोस्रो खण्डमा ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ पुस्तकमा प्रकाशित मन्तव्य र त्यस पुस्तकभित्रका छानिएका पाँचवटा रचना, तेस्रो खण्डलाई दुई भाग गरी पहिलो भागमा डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वका विषयमा विभिन्न अट्ठाइसजना व्यक्तिहरूबाट लेखिएका लेख–संस्मरण र दुईवटा रेडियो–अन्तर्वार्ता तथा दोस्रो भागमा डा. इन्दुल केसीका तीनवटा लेख र चारवटा कविता एवं परिशिष्ट खण्डमा फुटकर सामग्रीहरू राखिएका छन् ।
चण्डेश्वरी भजन सफू : दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।
चाणक्यनीति दर्पण : ‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी पाठकका बीचमा थप परिचय गराउने प्रयास गर्नुभएको छ । नेपाली भाषामा लय हालेर चाणक्यनीति पढ्न नपाएका वर्तमान पुस्ताका पाठकका लागि यस पुस्तकले त्यो अभावको पूर्ति गराउनेछ र यसभित्रका नीतिश्लोकहरूलाई मनन गरी पाठकहरू आफ्नो जीवनलाई अझ गरिमामय बनाउन सक्नेछन् ।
हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र : नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई नि:शुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका दुवै स्तोत्र र कृष्णमाया पलान्चोकेबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तिका प्रकाशन हुन सकेको हो ।
समाजका कर्मवीर : ‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस पुस्तकभित्र परेका छन् । जीवित रहेका र दिवङ्गत भएका दुवैथरिको जमघट भएको यस पुस्तकका लेखहरू यसअघि छापिएका र यसैमा पहिलोपल्ट छापिएका गरी दुवैथरि छन् । यस पुस्तकले नेपाली वाङ्मयमा पुस्तक र पुस्तकलेखक दुवैको छुट्टै चिनारी कायम गर्नेछ ।
नमारिएका सहिदहरू : नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दु:ख, हाँसो–रोदन, सङ्गति–विसङ्गति, ठीक–बेठीक, राम्रो–नराम्रो सबै कुराको मिश्रण यसभित्रका कथाहरूमा छन् । भौतिक दु:ख हुँदा पनि झर्ने गरेको हर्षाश्रु र भौतिक सुख हुँदा पनि झर्ने गरेको दु:खाश्रु पनि यहाँ देख्न सकिन्छ । यस्तो स्थितिलाई जसरी परिभाषित गरे पनि त्यस्तो स्थितिले पारेको प्रभाव, अनेक प्रकारका वितृष्णा र विद्रूपता आदि मात्र नभई सुखद सङ्घटना आदि पनि यसभित्र भएकाले यी सामाजिक र मनोवैज्ञानिक सङ्कथनहरूले कथाहरूलाई पठनीय बनाइदिएका छन् ।
मेरो हराएको कविता : नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय स्वाभिमान जगाउने तथा कर्तव्यबोध गराउने कवितामा पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरूमा वर्तमान पुस्तामा विदेशमोह बढ्दै गएको कुराप्रति गुनासो प्रकट गरिएको छ र राष्ट्रप्रेम छताछुल्ल भएको छ ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका बजार व्यवस्थापक माधवप्रसाद शर्मा तिवारीले युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट कार उपहार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।