प्रेमप्रणाम : तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई त पठनीय हुने नै छ, अन्य पाठकहरूका लागि पनि उपयुक्त पठनसामग्री हुनेछ ।

व्यक्तित्व र कृतित्वको तेस्रो आयाम : ‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ को पहिलो खण्डमा ‘भुइँचालो’ कवितासङ्ग्रहमा प्रकाशित मन्तव्य र प्रतिनिधिमूलक छवटा कविता, दोस्रो खण्डमा ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ पुस्तकमा प्रकाशित मन्तव्य र त्यस पुस्तकभित्रका छानिएका पाँचवटा रचना, तेस्रो खण्डलाई दुई भाग गरी पहिलो भागमा डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वका विषयमा विभिन्न अट्ठाइसजना व्यक्तिहरूबाट लेखिएका लेख–संस्मरण र दुईवटा रेडियो–अन्तर्वार्ता तथा दोस्रो भागमा डा. इन्दुल केसीका तीनवटा लेख र चारवटा कविता एवं परिशिष्ट खण्डमा फुटकर सामग्रीहरू राखिएका छन् ।

चण्डेश्वरी भजन सफू : दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।

चाणक्यनीति दर्पण : ‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी पाठकका बीचमा थप परिचय गराउने प्रयास गर्नुभएको छ । नेपाली भाषामा लय हालेर चाणक्यनीति पढ्न नपाएका वर्तमान पुस्ताका पाठकका लागि यस पुस्तकले त्यो अभावको पूर्ति गराउनेछ र यसभित्रका नीतिश्लोकहरूलाई मनन गरी पाठकहरू आफ्नो जीवनलाई अझ गरिमामय बनाउन सक्नेछन् ।

हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र : नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई नि:शुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका दुवै स्तोत्र र कृष्णमाया पलान्चोकेबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तिका प्रकाशन हुन सकेको हो ।

समाजका कर्मवीर : ‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस पुस्तकभित्र परेका छन् । जीवित रहेका र दिवङ्गत भएका दुवैथरिको जमघट भएको यस पुस्तकका लेखहरू यसअघि छापिएका र यसैमा पहिलोपल्ट छापिएका गरी दुवैथरि छन् । यस पुस्तकले नेपाली वाङ्मयमा पुस्तक र पुस्तकलेखक दुवैको छुट्टै चिनारी कायम गर्नेछ ।
नमारिएका सहिदहरू : नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दु:ख, हाँसो–रोदन, सङ्गति–विसङ्गति, ठीक–बेठीक, राम्रो–नराम्रो सबै कुराको मिश्रण यसभित्रका कथाहरूमा छन् । भौतिक दु:ख हुँदा पनि झर्ने गरेको हर्षाश्रु र भौतिक सुख हुँदा पनि झर्ने गरेको दु:खाश्रु पनि यहाँ देख्न सकिन्छ । यस्तो स्थितिलाई जसरी परिभाषित गरे पनि त्यस्तो स्थितिले पारेको प्रभाव, अनेक प्रकारका वितृष्णा र विद्रूपता आदि मात्र नभई सुखद सङ्घटना आदि पनि यसभित्र भएकाले यी सामाजिक र मनोवैज्ञानिक सङ्कथनहरूले कथाहरूलाई पठनीय बनाइदिएका छन् ।

मेरो हराएको कविता : नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय स्वाभिमान जगाउने तथा कर्तव्यबोध गराउने कवितामा पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरूमा वर्तमान पुस्तामा विदेशमोह बढ्दै गएको कुराप्रति गुनासो प्रकट गरिएको छ र राष्ट्रप्रेम छताछुल्ल भएको छ ।