शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७६ औँ शृङ्खलामा इन्जिनियर लक्ष्मण खड्का प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । गत २०७५ साल फागुन १० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा उहाँले नेपालको शिक्षाप्रणाली, इन्जिनियरिङ विधा र परिवर्तन हुँदै गएको सामाजिक चेतनाका विषयमा प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र पुण्यवती घलेको प्रमुख आतिथ्यमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जग्गादाता कृष्णमणि कुइँकेल, लेखकहरू पदमनाथ ढुङ्गाना र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा छविलाल कुइँकेल, शम्भुप्रसाद कुइँकेल, नानुदेवी कुइँकेल, उत्सवप्रसाद कुइँकेल, उर्मिला गिरी, नवराज पराजुली, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।