शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८३ औँ शृङ्खला गत २०७६ वैशाख ७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रममा शिक्षासेवी रामप्रसाद तिमल्सिना प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो भने कार्यक्रमको प्रमुख आतिथ्य पूर्वप्रशासक डा. इन्दुल केसीले र सभापतित्व अग्रज लोकगायक मच्छेश्वर सापकोटाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखकहरू ओतबहादुर खड्का, केदारनाथ तिमल्सिना, सहदीप पलान्चोके, पुण्यवती घले, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, व्यवसायी दीपेन्द्र बज्राचार्य, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
‘शब्दसंवाद’ मा रामप्रसाद तिमल्सिना
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित हरि मञ्जुश्री, ओतबहादुर खड्का, पुण्यवती घले, उद्धवप्रसाद नेपाल र चूडाप्रसाद चौलागाईं विश्व हिन्दू महासङ्घसँग जोडिनुभएकोमा हार्दिक बधाई ।
शब्दयात्रा प्रकाशन परिवार
चयन समितिको गठन
शब्दयात्रा प्रकाशनले आगामी २०७६ सालको जेठ महिनामा विभिन्न ६ विधाका सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति अथवा संस्थाहरूको चयन गर्न सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ ।
तीन सदस्यीय उक्त समितिमा श्रीमती सविता अर्याल संयोजक तथा गोविन्दबहादुर खड्का र रामप्रसाद तिमल्सिना सदस्य रहनुभएको छ । उक्त समितिले सम्मानका लागि सिफारिस प्राप्त भएका व्यक्ति अथवा संस्थाहरूमध्येबाट उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गर्नेछ ।
२०७६ सालमा समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, शब्दयात्रा सिर्जना सम्मान, शब्दयात्रा शिक्षक सम्मान र शब्दयात्रा सामाजिक जागरण सम्मान समर्पण गरिनेछन् ।
शब्दयात्राबाट पुस्तक सहयोग
शब्दयात्रा प्रकाशनले सोलुखुम्बूको जुगूमा रहेको जनकल्याण उच्च माध्यमिक विद्यालय पुस्तकालयलाई विभिन्न लेखक र विधाका फरक–फरक १०० थान पुस्तक सहयोग गरेको छ ।
ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले हस्तान्तरण गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा २०७५ सालका प्रमुख वक्ताहरू
शब्दयात्रा प्रकाशनको सभाकक्षमा शुक्रबार हुने ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रममा प्रवचन गर्ने प्रवाचकहरू निम्नबमोजिम हुनुहुन्छ —
१. डा. गोपाल पौड्याल ‘मन्डने’, २. पुष्पदास स्याउलाका विषयमा हरि मञ्जुश्री, ३. द्रोणप्रसाद श्रेष्ठ, ४. प्रकाशबहादुर कायस्थ, ५. केदारनाथ तिमल्सिना, ६. साधुराम गिरी, ७. उद्धवप्रसाद नेपाल, ८. डा. सरस्वती आचार्य, ९. डा. इन्दुल केसी, १०. डा. हेमराज काफ्ले, ११. रेखा सापकोटा दाहाल, १२. केदार अधिकारी, १३. रामचन्द्र हुमागाईंका विषयमा टीपी शर्मा तिमिल्सिना, १४. उद्धवप्रसाद भट्टराई, १५. माधवप्रसाद शर्मा तिवारी, १६. राजु हुमागाईं, १७. सावित्री ढुङ्गेलका विषयमा हरि मञ्जुश्री, १८. त्रिरत्न रन्जितकार, १९. रमा दाहाल, २०. किताबसिंह लामा, २१. दामोदर घिमिरे, २२. निर्मला श्रेष्ठ, २३. रामायणका विषयमा हरि मञ्जुश्री, २४. इ. लक्ष्मण खड्का, २५. कृष्णप्यारी नकर्मी, २६. राधा कार्की, २७. ज्यो. पं. रमेश अधिकारी, २८. चूडाप्रसाद चौलागाईं, २९. डा. विवेक बराल
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा सम्मानित व्यक्तित्वहरू
शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधाका राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गर्ने गरेको छ । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, रुद्राक्षको माला, उपहार र अभिवन्दनापत्र रहने गरेका छन् । २०७५ सालमा सम्मानित व्यक्तित्वहरू हुनुहुन्छ —
१. शब्दयात्रा समालोचना सम्मान ः डा. वासुदेव त्रिपाठी, २. शब्दयात्रा कविताकाव्य सम्मान ः कालीप्रसाद रिजाल, ३. शब्दयात्रा महिला प्रतिभा सम्मान ः वसुन्धरा भुसाल, ४. शब्दयात्रा अनुसन्धान सम्मान ः डा. राजेश गौतम, ५. शब्दयात्रा बालसाहित्य सम्मान ः विश्वम्भर चञ्चल, ६. शब्दयात्रा विज्ञान–प्रविधि सम्मान ः प्रा. सुरेशराज चालिसे, ७. शब्दयात्रा शिक्षा सम्मान ः डा. विद्यानाथ कोइराला, ८. शब्दयात्रा आमसञ्चार सम्मान ः राजेश्वर नेपाली, ९. शब्दयात्रा फोटो पत्रकारिता सम्मान ः वैकुण्ठकृष्ण श्रेष्ठ, १०. शब्दयात्रा स्तम्भकार सम्मान ः मुकुन्दप्रसाद उपाध्याय, ११. शब्दयात्रा साहित्यिक पत्रिका सम्मान ः कौशिकी (चेतनाथ धमला), १२. शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान ः पं. अच्युत सुवेदी, १३. शब्दयात्रा प्रशासनिक महिला सम्मान ः सावित्री जङ्गम थापा, १४. शब्दयात्रा राष्ट्रझङ्कार सम्मान ः नरेन्द्रबहादुर श्रेष्ठ, १५. शब्दयात्रा सिर्जना सम्मान ः द्रोणप्रसाद श्रेष्ठ, १६. शब्दयात्रा सामाजिक जागरण सम्मान ः सुभाष स्मृति प्रतिष्ठान (चन्द्रबहादुर खड्का), १७. शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान ः नरेन्द्रकुमार अधिकारी, १८. शब्दयात्रा शिक्षक सम्मान ः रामप्रसाद अधिकारी ।
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा स्थापित संरचनाहरू
१. शब्दसाधकहरूमध्ये प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गति रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङका सालिकहरू नेपालमै पहिलोपटक बनेपामा एकै ठाउँमा स्थापना गरिएको । २. सरस्वतीको प्रतिमा स्थापना गरिएको । ३. शब्दयात्रा प्रकाशन पुस्तकालयको स्थापना गरिएको । ४. संस्थाको जग्गा सम्याएर पर्खाल लगाइएको ।
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा निस्केका पुस्तकहरू
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा १८ वटा पुस्तक प्रकाशित भएका छन् । यीसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १८ पुगेको छ । यहाँ २०७५ सालमा प्रकाशित पुस्तकहरूको मात्र सङ्क्षिप्त विवरण प्रस्तुत गर्न लागिएको छ ।
पुस्तक ः कर्मयोद्धासँग शब्दसंवाद (चिनारी र चिन्तन) । लेखक ः पदमनाथ ढुङ्गाना । सम्पादक ः गीता मञ्जुश्री र दामोदर घिमिरे
‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको चिनारीको सङ्ग्रह हो । यस सङ्ग्रहले काभ्रे जिल्लाका कर्मयोद्धाहरूलाई चिन्न सहयोग गर्नेछ, इतिहासलाई अभिलेखबद्ध पनि गर्नेछ र विभिन्न क्षेत्रका कार्यसञ्चालकहरूलाई मार्गदर्शन पनि गर्नेछ ।
पुस्तक ः परेली (कथासङ्ग्रह) । लेखक ः सरस्वती शर्मा सुवेदी
कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा कथातन्तुलाई अघि बढाइएका सामाजिक यथार्थवादी कथाहरू रहेको यो सङ्ग्रह सहरिया र ग्रामीण एवं निम्नवर्गीय र निम्नमध्यमवर्गीय जनजीवनको सन्धिस्थल बनेको छ ।
पुस्तक ः अक्षरहरूको बिस्कुन (कवितासङ्ग्रह) । लेखक ः डा. हेमराज काफ्ले
डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको गहनताले कविताहरूलाई उचाइ प्रदान गरेको छ । यसभित्रका कविताहरूलाई कविको जीवन–भोगाइ र त्यसबाट निष्पन्न दर्शनको अभिव्यक्तिका रूपमा लिन सकिन्छ । कविताहरूले ज्यादै मसिना विषयतन्तुहरूबाट तन्किँदै गएर कवितात्मक आकार लिएका हुनाले यसलाई कविको विशिष्ट दृष्टिचेतका रूपमा लिन सकिन्छ ।
पुस्तक ः पुष्प सौगात (स्मृतिसङ्ग्रह) । सम्पादक ः दामोदर घिमिरे
दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ ।
पुस्तक ः मन (लेखसङ्ग्रह) । लेखक ः प्रकाश उज्ज्वल बनेपा
प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखित ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित रहेर लेखिएका एघाह«वटा रचनाहरू छन् । आत्मपरक शैलीसमेत प्रयोग गरिएका यसभित्रका हरेक रचना एक–अर्कासँग अन्तर्सम्बन्धित रहेका हुनाले एकै बसाइमा पढ्न सकिन्छ र पढिसकेपछि यिनले पाठकको मनलाई उद्वेलित बनाएर सकारात्मक मनोविज्ञानको निर्माण गर्ने दिशामा महàवपूर्ण भूमिकासमेत निर्वाह गर्नेछन् ।
पुस्तक ः सम्झना बुबाको (बिरौँलासङ्ग्रह) । सङ्कलक ः जगन्नाथ गिरी
‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका अतिरिक्त शोकावस्थामा भेट गर्न आउने व्यक्तिहरूको सूची, शोकसन्देशहरू, समवेदना विज्ञापनहरू, क्रियाकर्मका लागि आवश्यक सामग्रीहरूको सूची र केही तस्बिरहरू समावेश गरिएको यो कृति हरेक परिवारका लागि यस्तै खालको अभिलेख राख्नुपर्ने रहेछ भन्ने सन्देश दिन सफल बनेको छ ।
पुस्तक ः पञ्चमाता (लेखसङ्ग्रह) । लेखक ः केदारनाथ तिमल्सिना
केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको पुस्तालाई समेत चिन्तनशील बनाउने सामथ्र्य राखेको त छँदैछ, त्यसबाहेक कृतिका कृतिकारको वैचारिक र बौद्धिक परिचय कस्तो छ र लेखनको शक्तिवत्ता कति छ भन्ने कुरा पनि देखाएको छ । उत्तर–आधुनिक युगको दुहाइ दिएर पौरस्त्य वाङ्मयमा रहेको बौद्धिक खजानालाई मर्दन गर्न खोज्ने वर्तमान प्रवृत्तिमाथि परोक्ष रूपले सप्रमाण प्रहार गर्नु यसको विशेषता हो ।
पुस्तक ः धनेश्वर भजनमाला (भजनसङ्ग्रह) । सङ्कलक ः सहदीप पलान्चोके
‘धनेश्वर भजनमाला’ मा नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू सङ्कलित छन् । सङ्कलित भजनहरू पुराना र नयाँ दुवै प्रकारका छन् । विभिन्न मन्दिरहरूमा गाइने यी भजनहरूको सङ्कलन गरेर सहदीप पलान्चोकेले नेपाली आध्यात्मिक जगत्लाई ठूलो गुन लगाउनुभएको छ ।
पुस्तक ः स्वार्थी मान्छे (गजलसङ्ग्रह) । लेखक ः टेकलाल भारती आदर्श
आफ्नो मनका वेदनाहरू, आस्था र विचारका प्रसङ्गहरू, सामाजिक र राजनीतिक सन्दर्भहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनाका विषयवस्तु बनेका छन् । यस कृतिलाई कृतिकार टेकलाल भारतीले ‘गजलसङ्ग्रह’ भन्नुभएको छ । २०७१ सालदेखि हालसम्म अनवरत रूपमा प्रत्येक वर्ष उहाँको एउटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने गरेको छ । त्यसै क्रममा २०७५ सालमा यो पुस्तक प्रकाशनमा आएको हो ।
पुस्तक ः प्रेम प्रणाम (कविता) । लेखक ः तुतुकाजी प्रणामी श्रेष्ठ
तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई त पठनीय हुने नै छ, अन्य पाठकहरूका लागि पनि उपयुक्त पठनसामग्री हुनेछ ।
पुस्तक ः व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखसङ्ग्रह) । लेखक–सम्पादक ः डा. इन्दुल केसी
‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ तीन खण्डमा विभक्त छ । पहिलो खण्डमा ‘भुइँचालो’ (कवितासङ्ग्रह) का मन्तव्य, लेखकीय, प्रकाशकीय र प्रतिनिधिमूलक छवटा कविता राखिएका छन् । दोस्रो खण्डमा ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ पुस्तकका लेखकीय, प्रकाशकीय र छानिएका पाँचवटा रचना राखिएका छन् । तेस्रो खण्डमा डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वका विषयमा विभिन्न अट्ठाइसजना व्यक्तिहरूबाट लेखिएका लेख–संस्मरण, दुईवटा रेडियो–अन्तर्वार्ता, डा. इन्दुल केसीका तीनवटा लेख र चारवटा कविता राखिएका छन् । परिशिष्ट खण्डमा फुटकर सामग्रीहरू समावेश गरिएका छन् ।
पुस्तक ः चण्डेश्वरी भजन सफू (भजनसङ्ग्रह) । सङ्कलक ः दिलबहादुर श्रेष्ठ
दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।
पुस्तक ः चाणक्यनीति दर्पण (काव्यानुवाद) । काव्यानुवादक ः श्रीधर प्याकु¥याल
‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी पाठकका बीचमा थप परिचय गराउने प्रयास गर्नुभएको छ । नेपाली भाषामा लय हालेर चाणक्यनीति पढ्न नपाएका वर्तमान पुस्ताका पाठकका लागि यस पुस्तकले त्यो अभावको पूर्ति गराउनेछ र यसभित्रका नीतिश्लोकहरूलाई मनन गरी पाठकहरू आफ्नो जीवनलाई अझ गरिमामय बनाउन सक्नेछन् ।
पुस्तक ः हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र । सङ्कलक ः सहदीप पलान्चोके
नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई निःशुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका दुवै स्तोत्र र कृष्णमाया पलान्चोकेबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तिका प्रकाशन हुन सकेको हो ।
पुस्तक ः समाजका कर्मवीर (लेखसङ्ग्रह) । लेखक ः दामोदर घिमिरे
‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस पुस्तकभित्र परेका छन् । जीवित रहेका र दिवङ्गत भएका दुवैथरिको जमघट भएको यस पुस्तकका लेखहरू यसअघि छापिएका र यसैमा पहिलोपल्ट छापिएका गरी दुवैथरि छन् । यस पुस्तकले नेपाली वाङ्मयमा पुस्तक र पुस्तकलेखक दुवैको छुट्टै चिनारी कायम गर्नेछ ।
पुस्तक ः नमारिएका सहिदहरू (कथासङ्ग्रह) । लेखक ः नवीना श्रेष्ठ
नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दुःख, हाँसो–रोदन, सङ्गति–विसङ्गति, ठीक–बेठीक, राम्रो–नराम्रो सबै कुराको मिश्रण यसभित्रका कथाहरूमा छन् । भौतिक दुःख हुँदा पनि झर्ने गरेको हर्षाश्रु र भौतिक सुख हुँदा पनि झर्ने गरेको दुःखाश्रु पनि यहाँ देख्न सकिन्छ । यस्तो स्थितिलाई जसरी परिभाषित गरे पनि त्यस्तो स्थितिले पारेको प्रभाव, अनेक प्रकारका वितृष्णा र विद्रूपता आदि मात्र नभई सुखद सङ्घटना आदि पनि यसभित्र भएकाले यी सामाजिक र मनोवैज्ञानिक सङ्कथनहरूले कथाहरूलाई पठनीय बनाइदिएका छन् ।
पुस्तक ः मेरो हराएको कविता (कवितासङ्ग्रह) । लेखक ः नवीना श्रेष्ठ
नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय स्वाभिमान जगाउने तथा कर्तव्यबोध गराउने कवितामा पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरूमा वर्तमान पुस्तामा विदेशमोह बढ्दै गएको कुराप्रति गुनासो प्रकट गरिएको छ र राष्ट्रप्रेम छताछुल्ल भएको छ ।
पुस्तक ः ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि (चिनारी) । प्रस्तोता ः मुकुन्दप्रसाद उपाध्याय
मुकुन्दप्रसाद उपाध्यायले तयार पार्नुभएको ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ थोरै पृष्ठको भए पनि गहन अनुसन्धानमूलक सामग्री भएको पुस्तिका हो । नेपाली भाषामा यस प्रकारका पुस्तक–पुस्तिकाको एकदमै आवश्यकता रहेकाले यस पुस्तिकाले त्यसको पूर्ति गर्ने अपेक्षा गरिएको छ ।
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनद्वारा २०६९ सालमा सम्मानित रोचक घिमिरे ‘कवि टेकनाथ शिवा अधिकारी साहित्य–संस्कृति पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०६९ सालमा सम्मानित मोहन दुवाल ‘नइ ईश्वरवल्लभ पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित समालोचक प्रा. डा. चूडामणि बन्धु ‘नइ खरा सुकीर्ति पुरस्कार’ द्वारा, शब्दयात्रा प्रकाशनद्वारा २०७३ सालमा सम्मानित प्रा. डा. त्रिरत्न मानन्धर ‘नइ भूपालदुर्गा पुरस्कार’ द्वारा र शब्दयात्रा प्रकाशनद्वारा २०७३ सालमा सम्मानित देवीप्रसाद वनवासी ‘नइ धनरूप पुरस्कार’ द्वारा पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
‘शब्दसंवाद’ मा प्रा. डा. विवेक बराल
शब्दयात्रा प्रकाशनबाट हरेक शुक्रबार आयोजना गरिने ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रमको ८२ औँँ शृङ्खलामा प्रमुख वक्ताका रूपबाट प्रा. डा. विवेक बरालले मेकानिकल इन्जिनियरिङका विषयमा जानकारी गराउनुभयो । गत २०७५ साल चैत २२ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा डा. बरालले आफ्नो प्रवचनमा वातावरण र ऊर्जाको विषयलाई पनि समावेश गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो । उक्त कार्यक्रममा ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, लेखकहरू ओतबहादुर खड्का, केदारनाथ तिमल्सिना, पुण्यवती घले, पूर्णबहादुर कार्की, सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख तथा छविलाल चौलागाईं, पुरुषोत्तम हुमागाईं, चन्द्रमान सुवाल, शम्भुप्रसाद भुर्तेल, रीक्षा घिमिरे आदि उपस्थित हुनुहुन्थ्यो ।

