शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा १८ वटा पुस्तक प्रकाशित भएका छन् । यीसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १८ पुगेको छ । यहाँ २०७५ सालमा प्रकाशित पुस्तकहरूको मात्र सङ्क्षिप्त विवरण प्रस्तुत गर्न लागिएको छ ।
पुस्तक ः कर्मयोद्धासँग शब्दसंवाद (चिनारी र चिन्तन) । लेखक ः पदमनाथ ढुङ्गाना । सम्पादक ः गीता मञ्जुश्री र दामोदर घिमिरे
‘कर्मयोद्धासँग शब्दसंवाद’ शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा काभ्रेपलाञ्चोक जिल्लाका पचासजना कर्मयोद्धाहरूबाट अभिव्यक्त चिन्तनहरू र त्यस कार्यक्रममा चिन्तन अभिव्यक्त गर्ने कर्मयोद्धाहरूको चिनारीको सङ्ग्रह हो । यस सङ्ग्रहले काभ्रे जिल्लाका कर्मयोद्धाहरूलाई चिन्न सहयोग गर्नेछ, इतिहासलाई अभिलेखबद्ध पनि गर्नेछ र विभिन्न क्षेत्रका कार्यसञ्चालकहरूलाई मार्गदर्शन पनि गर्नेछ ।
पुस्तक ः परेली (कथासङ्ग्रह) । लेखक ः सरस्वती शर्मा सुवेदी
कथाकार सरस्वती शर्मा सुवेदीको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘परेली’ सामाजिक र पारिवारिक विषयवस्तुमा लेखिएका सोह«वटा कथाहरूको सङ्ग्रह हो । पात्रको मनोविज्ञान र चरित्रचित्रणका साथमा कथातन्तुलाई अघि बढाइएका सामाजिक यथार्थवादी कथाहरू रहेको यो सङ्ग्रह सहरिया र ग्रामीण एवं निम्नवर्गीय र निम्नमध्यमवर्गीय जनजीवनको सन्धिस्थल बनेको छ ।
पुस्तक ः अक्षरहरूको बिस्कुन (कवितासङ्ग्रह) । लेखक ः डा. हेमराज काफ्ले
डा. हेमराज काफ्लेको कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ मा थोरै शब्दमा धेरै अर्थ दिने सूत्रकविता या सूक्तिमय कविताहरू सङ्गृहीत छन् । बिम्बको प्रयोग र भावको गहनताले कविताहरूलाई उचाइ प्रदान गरेको छ । यसभित्रका कविताहरूलाई कविको जीवन–भोगाइ र त्यसबाट निष्पन्न दर्शनको अभिव्यक्तिका रूपमा लिन सकिन्छ । कविताहरूले ज्यादै मसिना विषयतन्तुहरूबाट तन्किँदै गएर कवितात्मक आकार लिएका हुनाले यसलाई कविको विशिष्ट दृष्टिचेतका रूपमा लिन सकिन्छ ।
पुस्तक ः पुष्प सौगात (स्मृतिसङ्ग्रह) । सम्पादक ः दामोदर घिमिरे
दामोदर घिमिरेद्वारा सम्पादित यो पुस्तक काभ्रेपलाञ्चोक जिल्लाका लेखक, पत्रकार तथा समाजसेवी पुष्पदास स्याउलाका सहकर्मी–सहधर्मीहरूले उहाँका बारेमा लेख्नुभएका संस्मरणहरूको सङ्ग्रह हो । यस पुस्तकले उहाँको जीवनयात्रा, कृतित्व, व्यक्तित्व र योगदानका बारेमा थोरै भए पनि जानकारी दिने प्रयत्न गरेको छ ।
पुस्तक ः मन (लेखसङ्ग्रह) । लेखक ः प्रकाश उज्ज्वल बनेपा
प्रकाश ‘उज्ज्वल’ बनेपाद्वारा लिखित ‘मन’ मा शारीरिक स्वस्थताका लागि मानसिक स्वस्थता र सकारात्मकताले अहम् भूमिका खेल्ने कुरा विभिन्न दृष्टान्तहरूबाट पुष्टि गर्दै यही विषयवस्तुमा केन्द्रित रहेर लेखिएका एघाह«वटा रचनाहरू छन् । आत्मपरक शैलीसमेत प्रयोग गरिएका यसभित्रका हरेक रचना एक–अर्कासँग अन्तर्सम्बन्धित रहेका हुनाले एकै बसाइमा पढ्न सकिन्छ र पढिसकेपछि यिनले पाठकको मनलाई उद्वेलित बनाएर सकारात्मक मनोविज्ञानको निर्माण गर्ने दिशामा महàवपूर्ण भूमिकासमेत निर्वाह गर्नेछन् ।
पुस्तक ः सम्झना बुबाको (बिरौँलासङ्ग्रह) । सङ्कलक ः जगन्नाथ गिरी
‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका अतिरिक्त शोकावस्थामा भेट गर्न आउने व्यक्तिहरूको सूची, शोकसन्देशहरू, समवेदना विज्ञापनहरू, क्रियाकर्मका लागि आवश्यक सामग्रीहरूको सूची र केही तस्बिरहरू समावेश गरिएको यो कृति हरेक परिवारका लागि यस्तै खालको अभिलेख राख्नुपर्ने रहेछ भन्ने सन्देश दिन सफल बनेको छ ।
पुस्तक ः पञ्चमाता (लेखसङ्ग्रह) । लेखक ः केदारनाथ तिमल्सिना
केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको पुस्तालाई समेत चिन्तनशील बनाउने सामथ्र्य राखेको त छँदैछ, त्यसबाहेक कृतिका कृतिकारको वैचारिक र बौद्धिक परिचय कस्तो छ र लेखनको शक्तिवत्ता कति छ भन्ने कुरा पनि देखाएको छ । उत्तर–आधुनिक युगको दुहाइ दिएर पौरस्त्य वाङ्मयमा रहेको बौद्धिक खजानालाई मर्दन गर्न खोज्ने वर्तमान प्रवृत्तिमाथि परोक्ष रूपले सप्रमाण प्रहार गर्नु यसको विशेषता हो ।
पुस्तक ः धनेश्वर भजनमाला (भजनसङ्ग्रह) । सङ्कलक ः सहदीप पलान्चोके
‘धनेश्वर भजनमाला’ मा नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू सङ्कलित छन् । सङ्कलित भजनहरू पुराना र नयाँ दुवै प्रकारका छन् । विभिन्न मन्दिरहरूमा गाइने यी भजनहरूको सङ्कलन गरेर सहदीप पलान्चोकेले नेपाली आध्यात्मिक जगत्लाई ठूलो गुन लगाउनुभएको छ ।
पुस्तक ः स्वार्थी मान्छे (गजलसङ्ग्रह) । लेखक ः टेकलाल भारती आदर्श
आफ्नो मनका वेदनाहरू, आस्था र विचारका प्रसङ्गहरू, सामाजिक र राजनीतिक सन्दर्भहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनाका विषयवस्तु बनेका छन् । यस कृतिलाई कृतिकार टेकलाल भारतीले ‘गजलसङ्ग्रह’ भन्नुभएको छ । २०७१ सालदेखि हालसम्म अनवरत रूपमा प्रत्येक वर्ष उहाँको एउटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने गरेको छ । त्यसै क्रममा २०७५ सालमा यो पुस्तक प्रकाशनमा आएको हो ।
पुस्तक ः प्रेम प्रणाम (कविता) । लेखक ः तुतुकाजी प्रणामी श्रेष्ठ
तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई त पठनीय हुने नै छ, अन्य पाठकहरूका लागि पनि उपयुक्त पठनसामग्री हुनेछ ।
पुस्तक ः व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखसङ्ग्रह) । लेखक–सम्पादक ः डा. इन्दुल केसी
‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ तीन खण्डमा विभक्त छ । पहिलो खण्डमा ‘भुइँचालो’ (कवितासङ्ग्रह) का मन्तव्य, लेखकीय, प्रकाशकीय र प्रतिनिधिमूलक छवटा कविता राखिएका छन् । दोस्रो खण्डमा ‘इन्दुल केसी व्यक्ति एक दृष्टि अनेक’ पुस्तकका लेखकीय, प्रकाशकीय र छानिएका पाँचवटा रचना राखिएका छन् । तेस्रो खण्डमा डा. इन्दुल केसीको व्यक्तित्व र कृतित्वका विषयमा विभिन्न अट्ठाइसजना व्यक्तिहरूबाट लेखिएका लेख–संस्मरण, दुईवटा रेडियो–अन्तर्वार्ता, डा. इन्दुल केसीका तीनवटा लेख र चारवटा कविता राखिएका छन् । परिशिष्ट खण्डमा फुटकर सामग्रीहरू समावेश गरिएका छन् ।
पुस्तक ः चण्डेश्वरी भजन सफू (भजनसङ्ग्रह) । सङ्कलक ः दिलबहादुर श्रेष्ठ
दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।
पुस्तक ः चाणक्यनीति दर्पण (काव्यानुवाद) । काव्यानुवादक ः श्रीधर प्याकु¥याल
‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी पाठकका बीचमा थप परिचय गराउने प्रयास गर्नुभएको छ । नेपाली भाषामा लय हालेर चाणक्यनीति पढ्न नपाएका वर्तमान पुस्ताका पाठकका लागि यस पुस्तकले त्यो अभावको पूर्ति गराउनेछ र यसभित्रका नीतिश्लोकहरूलाई मनन गरी पाठकहरू आफ्नो जीवनलाई अझ गरिमामय बनाउन सक्नेछन् ।
पुस्तक ः हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र । सङ्कलक ः सहदीप पलान्चोके
नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई निःशुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका दुवै स्तोत्र र कृष्णमाया पलान्चोकेबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तिका प्रकाशन हुन सकेको हो ।
पुस्तक ः समाजका कर्मवीर (लेखसङ्ग्रह) । लेखक ः दामोदर घिमिरे
‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस पुस्तकभित्र परेका छन् । जीवित रहेका र दिवङ्गत भएका दुवैथरिको जमघट भएको यस पुस्तकका लेखहरू यसअघि छापिएका र यसैमा पहिलोपल्ट छापिएका गरी दुवैथरि छन् । यस पुस्तकले नेपाली वाङ्मयमा पुस्तक र पुस्तकलेखक दुवैको छुट्टै चिनारी कायम गर्नेछ ।
पुस्तक ः नमारिएका सहिदहरू (कथासङ्ग्रह) । लेखक ः नवीना श्रेष्ठ
नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दुःख, हाँसो–रोदन, सङ्गति–विसङ्गति, ठीक–बेठीक, राम्रो–नराम्रो सबै कुराको मिश्रण यसभित्रका कथाहरूमा छन् । भौतिक दुःख हुँदा पनि झर्ने गरेको हर्षाश्रु र भौतिक सुख हुँदा पनि झर्ने गरेको दुःखाश्रु पनि यहाँ देख्न सकिन्छ । यस्तो स्थितिलाई जसरी परिभाषित गरे पनि त्यस्तो स्थितिले पारेको प्रभाव, अनेक प्रकारका वितृष्णा र विद्रूपता आदि मात्र नभई सुखद सङ्घटना आदि पनि यसभित्र भएकाले यी सामाजिक र मनोवैज्ञानिक सङ्कथनहरूले कथाहरूलाई पठनीय बनाइदिएका छन् ।
पुस्तक ः मेरो हराएको कविता (कवितासङ्ग्रह) । लेखक ः नवीना श्रेष्ठ
नवीना श्रेष्ठको ‘मेरो हराएको कविता’ मा ५१ वटा गद्यकविताहरू सङ्कलित छन् । यो कवितासङ्ग्रह आध्यात्मिक भावप्रधान कविताबाट प्रारम्भ भएको छ र राष्ट्रिय स्वाभिमान जगाउने तथा कर्तव्यबोध गराउने कवितामा पुगेर टुङ्गिएको छ । यस सङ्ग्रहका अधिकांश कविताहरूमा वर्तमान पुस्तामा विदेशमोह बढ्दै गएको कुराप्रति गुनासो प्रकट गरिएको छ र राष्ट्रप्रेम छताछुल्ल भएको छ ।
पुस्तक ः ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि (चिनारी) । प्रस्तोता ः मुकुन्दप्रसाद उपाध्याय
मुकुन्दप्रसाद उपाध्यायले तयार पार्नुभएको ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ थोरै पृष्ठको भए पनि गहन अनुसन्धानमूलक सामग्री भएको पुस्तिका हो । नेपाली भाषामा यस प्रकारका पुस्तक–पुस्तिकाको एकदमै आवश्यकता रहेकाले यस पुस्तिकाले त्यसको पूर्ति गर्ने अपेक्षा गरिएको छ ।