शब्दयात्रा प्रकाशनका लागि केही कर्मचारीको आवश्यकता परेकाले इच्छुक व्यक्तिहरूले शैक्षिक योग्यता, नागरिकता र छ भने अनुभवको प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी निवेदन दिनुहोला । अन्तर्वार्ताका दिन सक्कल प्रमाणपत्र ल्याउनुपर्नेछ ।
पद : कार्यालय सहायक
सङ्ख्या : केही
योग्यता : १० जोड २ उत्तीर्ण
विशेष ग्राह्यता : साइकल वा मोटर साइकल चलाउन जान्ने र कम्प्युटरमा नेपाली टाइप गर्न जान्ने
तलब र अन्य सुविधा : आपसी समझदारीमा
निवेदन दिने अन्तिम मिति : २०७६ जेठ २८ गते मङ्गलबार
अन्तर्वार्ता मिति : २०७६ जेठ ३० गते बिहीबार
कर्मचारीको आवश्यकता
शब्दयात्रा प्रकाशन
रोजगारीका लागि राम्रो मौका
— तपाईंले + २ उत्तीर्ण गर्नुभएको छ ?
— तपाईंसँग केही गर्नुपर्छ भन्ने उत्साह र जोसजाँगर छ ?
— तपाईंसँग सामथ्र्य, आत्मविश्वास र इमानदारी छ ?
— तपाईंलाई लेखन, प्रकाशन, लेखाप्रणाली र व्यवस्थापन क्षेत्रमा रुचि छ ?
— तपाईंलाई कम्प्युटरका सामान्य प्रोग्रामहरूका बारेमा थाहा छ ?
— तपाईंले रोजगारीका लागि राम्रो मौका खोज्नुभएको छ ?
छ भने हामीसँग सम्पर्क राख्नुहोस् । तपाईंलाई सहयोग गर्न हामी तयार छौं ।
शब्दयात्रा प्रकाशन
बनेपा, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५, ९७४१०६२१९०
हार्दिक बधाई
शब्दयात्रा प्रकाशन सम्मान्य व्यक्तित्व चयन समिति (पहिलो) का सदस्य तथा शुभेच्छुक सहयात्री जीवनचन्द्र कोइराला दायित्व वाङ्मय प्रतिष्ठानबाट ११ हजार रुपियाँ राशीसहित ‘मुरलीदेवी–गुरुदत्त काफ्ले स्मृति पुरस्कार’ बाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा नेपाल अडिटर्स एसोसिएसन काभ्रेको सल्लाहकार समितिको संयोजक चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्राको सम्मान कार्यक्रम जेठ २१ गते
शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा आयोजना गर्ने गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह २०७६ सालका लागि आगामी जेठ २१ गते मङ्गलबार बनेपास्थित होटल सत्यम्मा गर्ने भएको छ ।
उक्त समारोहमा छजना राष्ट्रिय व्यक्तित्वलाई सम्मान समर्पण गरिनेछ भने छवटा पुस्तक सार्वजनिक गरिनेछन् ।
‘शब्दसंवाद’ मा सानुकाजी महत र अमृत अधिकारी
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८५ औँ शृङ्खला गत २०७६ साल वैशाख २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपा नीलकण्ठेश्वरमा सम्पन्न भयो । कार्यक्रममा धुलिखेलस्थित सञ्जीवनी माध्यमिक विद्यालयका प्राचार्य सानुकाजी महतले प्रमसख वक्ताका रूपबाट आफ्नो जीवनयात्रा र शैक्षिक क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
अग्रज लोकगायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्य र लेखक केदारनाथ तिमल्सिनाको सभापतित्वमा दामोदर घिमिरेद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखकहरू पुण्यवती घले र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा वासुदेव कुइँकेल, पुरुषोत्तम हुमागाईं, सीता भट्टराई कुइँकेल, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
यसै गरी ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८६ औँ शृङ्खला गत २०७६ साल वैशाख २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपा नीलकण्ठेश्वरमा सम्पन्न भयो । कार्यक्रममा बनेपास्थित सर्वश्री क्वालिटी प्रिन्टर्सका प्रोप्राइटर अमृत अधिकारीले प्रमुख वक्ताका रूपबाट आफ्नो जीवनयात्रा र मुद्रण क्षेत्रप्रतिको आफ्नो अनुभव तथा जानकारी प्रस्तुत गर्नुभयो ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व वासुदेव कुइँकेल तथा प्रमुख आतिथ्य गीता मञ्जुश्री अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमम शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, लेखकहरू सहदीप पलान्चोके, केदारनाथ तिमल्सिना, ओतबहादुर खड्का, पुण्यवती घले र पूर्णबहादुर कार्की, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा नवराज पराजुली, नानुदेवी कुइँकेल, पुरुषोत्तम हुमागाईं, लालप्रसाद पौड्याल, सीता भट्टराई कुइँकेल, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।
शब्दयात्राबाट तीन पुस्तक छापिँदै
शब्दयात्रा प्रकाशनले तीनवटा पुस्तक मुद्रण गराइरहेको छ । तीमध्ये एउटा पुस्तक हरि मञ्जुश्री सम्पादक तथा दामोदर घिमिरे र चूडाप्रसाद चौलागाईं सहयोगी सम्पादक रहेको ‘डा. इन्दुल केसीको चौथो आयाम’ रहेको छ भने अर्को पुस्तक साधुराम गिरीद्वारा लिखित तथा दामोदर घिमिरेद्वारा सम्पादित ‘मान्छे, प्रकृति र भेगन’ रहेको छ । तेस्रो पुस्तकचाहिँ गीता मञ्जुश्री र दामोदर घिमिरेको लेखनमा ‘बत्तीस कर्मयोद्धा’ रहेको छ ।
उल्लिखित तीनैवटा पुस्तकलाई आगामी जेठ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशन गरिएका पुस्तकहरूमध्ये ‘डा. इन्दुल केसीको चौथो आयाम’ १२१ औँ, ‘मान्छे, प्रकृति र भेगन’ १२२ औँ र ‘बत्तीस कर्मयोद्धा’ १२३ औँ प्रकाशनपुष्प बनेका छन् ।
शब्दयात्राबाट छजनालाई सम्मान गरिने
शब्दयात्रा प्रकाशनले २०७६ सालमा समर्पण गरिने १८ विधाका सम्मानहरूमध्ये जेठ महिनामा आयोजना गरिने पहिलो चरणको सम्मान समर्पण समारोहमा ६ जनालाई सम्मान समर्पण गर्ने भएको छ ।
उक्त समारोहमा शब्दयात्रा राष्ट्रझङ्कार सम्मानबाट प्रा. डा. सुरेन्द्र केसी (ताप्लेजुङ), शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट प्रा. लालानाथ सुवेदी (भोजपुर), शब्दयात्रा शिक्षक सम्मानबाट हरिविनोद अधिकारी (सिन्धुली), शब्दयात्रा सिर्जना सम्मानबाट डा. हेमराज काफ्ले (मोरङ), शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मानबाट नवीना श्रेष्ठ (ललितपुर) र शब्दयात्रा सामाजिक जागरण सम्मानबाट बाबा विश्वनाथ (सिन्धुपाल्चोक) लाई सम्मानित गरिनेछ ।
श्रीमती सविता अर्यालको संयोजकत्वमा रामप्रसाद तिमल्सिना र गोविन्दबहादुर खड्का सदस्य रहेको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको गत २०७६ वैशाख २६ गते बिहीबारको बैठकबाट गरिएको सिफारिसका आधारमा शब्दयात्रा प्रकाशनले उहाँहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार रहने गरेका छन् ।
शब्दयात्रा पत्रकारिता छात्रवृत्ति रन्जिता उप्रेतीलाई
शब्दयात्रा प्रकाशनले २०७६ सालका लागि ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे क्याम्पसमा कक्षा ११ मा पत्रकारिता विषय लिई अध्ययन गरिरहेकी भुम्लुटारकी रन्जिता उप्रेतीलाई प्रदान गर्ने भएको छ । छात्रवृत्तिको राशी १० हजार रुपियाँ छ । छात्रवृत्ति आगामी जेठ महिनाको दोस्रो साता प्रदान गरिनेछ ।
पत्रकारिता विषय अध्ययन गर्ने काभ्रे जिल्लाकी गरिब तथा जेहेन्दार छात्रा एकजनालाई हरेक वर्ष प्रदान गर्ने गरी शब्दयात्रा प्रकाशनमा अक्षयकोष खडा गरेर स्थापना गरेको यो छात्रवृत्तिको आर्थिक व्यवस्थापन आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
सालिकका लागि गुरुदक्षिणा
नेपालको वाङ्मयिक क्षेत्रका पाँचजना प्रथम शब्दसाधकहरूको सालिक पहिलोपटक एकै ठाउँमा शब्दयात्रा प्रकाशनले स्थापना गरेको सन्दर्भमा त्यसका लागि खोटाङ जलेश्वरीका दामोदर घिमिरेले काभ्रे बनेपाका स्व. आशाकाजी सेवकको स्मृतिमा गुरुदक्षिणास्वरूप ५ हजार १ सय ५ रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ ।
दामोदर घिमिरेले काभ्रे बहुमुखी क्याम्पसमा पढ्दा आशाकाजी सेवक त्यहाँ क्याम्पस प्रमुख हुनुका साथै प्राध्यापन पनि गर्नुहुन्थ्यो । उहाँबाट अभिप्रेरित हुनुभएका र शिक्षा पनि लिनुभएका दामोदर घिमिरेले आफ्ना गुरु आशाकाजी सेवकको स्मृतिमा कविता र लेख लेखेर ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ मा प्रकाशन पनि गराउनुभएको छ ।
स्मरणीय छ — प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत रेकर्ड गर्ने प्रथम गायिक मेलवादेवी गुरुङका अर्धकदका सालिकहरू शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको छ । ती सालिकहरूको अवलोकन गर्न टाढाटाढादेखिका वाङ्मयसेवीहरू बनेपामा आउन थालेका छन् ।