शब्दयात्रा प्रकाशनले हरेक वर्षको जेठ महिनामा राष्ट्रझङ्कार सम्मान, प्रशासनिक महिला प्रतिभा सम्मान, सिर्जना सम्मान, नन्दिकेश्वर अधिकारी शोध सम्मान, सामाजिक जागरण सम्मान र शिक्षक सम्मान गरी ६ विधामा सम्मान समर्पण गर्ने गरेको छ । सम्मान गर्न उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन सार्वजनिक आह्वान गरेपछि विभिन्न व्यक्तिहरूले केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउने गरेका छन् । केही नाउँहरू उपलब्ध भएपछि शब्दयात्रा प्रकाशनले सविता अर्यालको संयोजकत्वमा रामप्रसाद तिमल्सिना र गोविन्दबहादुर खड्का सदस्य रहेको सम्मान्य व्यक्तित्व चयन समिति बनायो ।
शब्दयात्रा प्रकाशनले उपलब्ध भएका सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ र योगदानको विवरण हामीलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँमध्येबाट हामीले सम्बन्धित विधा र उद्देश्यअनुसार सम्मान समर्पण गर्न योग्य व्यक्तिको चयन गरेका छौँ ।
नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका ताप्लेजुङका प्रा. डा. श्री सुरेन्द्र केसीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा भोजपुरका वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदीलाई नन्दिकेश्वर अधिकारी शोध सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि मोरङका डा. श्री हेमराज काफ्लेलाई उक्त कृतिका लागि सिर्जना सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा सिन्धुलीका श्री हरिविनोद अधिकारीलाई शिक्षक सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा ललितपुरकी श्रीमती नवीना श्रेष्ठलाई प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा सिन्धुपाल्चोकका बाबा विश्वनाथलाई सामाजिक जागरण सम्मान समर्पण गर्ने निर्णय गरेका छौँ ।
समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका सहदीप पलान्चोके, पदम दाहाल, हरि मञ्जुश्री, साधुराम गिरी, गीता मञ्जुश्री, दामोदर घिमिरे र श्रीधर प्याकुरेलका पुस्तकहरू सार्वजनिक गरिँदैछन् । काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार काभ्रेली छात्रा रन्जिता उप्रेतीलाई १० हजार रुपियाँको छात्रवृत्ति प्रदान गरिँँदैछ । शब्दयात्रा प्रकाशनले स्थापना गरेका सालिकहरू बनाइदिने सालिक कलाकार सुदर्शन थापालाई पनि आभारपत्र प्रदान गरिँदैछ ।
यिनै अभिव्यक्तिका साथ म यहाँहरूबाट बिदा लिन चाहन्छु ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्यको अंश)