Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesआठ वर्षमा यति गरेछौं

आठ वर्षमा यति गरेछौं

शब्दयात्रा प्रकाशनको स्थापना गरिएको ८ वर्ष पूरा भएको छ । यस अवधिमा यस संस्थाले केही कामहरू गर्न सकेको छ । मुख्य रूपमा समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट हालको चलनचल्तीको मूल्यअनुसार करिब ५० लाख रुपियाँ बराबरको जग्गा दानमा प्राप्त गरेको छ । नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ । रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क प्राप्त गरेको छ र त्यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । सम्मानकोषका लागि उर्मिला श्रेष्ठ भोजपुरे, गोपाल पराजुली, योगेन्द्र खत्री, कृष्णहरि मैनाली, द्रोणप्रसाद श्रेष्ठ, कविप्रसाद प्याकुरेल, कल्याण लम्साल, निर्मलाकुमारी यगोल श्रेष्ठ, सुनील सापकोटा, सुदर्शन आचार्य, राजेन्द्र विरही र निर्मला श्रेष्ठले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । गीता मञ्जुश्री, आनन्दराज श्रेष्ठ, हरिगोपाल प्रधान र रमेश पौडेलले हरेक वर्ष सम्मानका लागि आर्थिक सहयोग गर्नुभएको छ । हरेक वर्ष १८ विधाका सम्मानहरू राष्ट्रिय व्यक्तित्व तथा संस्थाहरूमा समर्पण गरिरहेको छ । विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १२५ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ । पुस्तकालयको स्थापना पनि भइसकेको छ । हरिगोपाल प्रधान, बुद्धरत्न मानन्धर, त्रिरत्न रन्जितकार, सुनील सापकोटा जस्ता विभिन्न व्यक्तिहरूबाट विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरेको छ । निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती गरी नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनेपामा रहेको आफ्नै स्वामित्वको जग्गामा स्थापना गरेको छ । यसका लागि विभिन्न संस्था तथा व्यक्तिहरूले आर्थिक सहयोग गर्नुभएको छ । धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ । वेभसाइट सञ्चालन गरेको छ । वृत्तचित्रको निर्माण पनि गरेको छ ।
यो संस्था यी कार्यक्रमलाई निरन्तरता दिँदै ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । नेपाललाई वाङ्मयिक क्षेत्रको विशिष्ट उपहार दिने यस अभियानमा सबैको बौद्धिक र आर्थिक सहयोगको अपेक्षा राखिएको छ ।
यस संस्थाबाट विभिन्न १८ विधाका सम्मानहरू हरेक वर्ष समर्पण गरिन्छन् । तीमध्ये जेठ महिनामा समर्पण गरिने सम्मानहरूमा २०७६ साल जेठका लागि उर्मिला श्रेष्ठ भोजपुरेद्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान नवीना श्रेष्ठलाई, कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान प्रा. डा. सुरेन्द्र केसीलाई, कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान डा. हेमराज काफ्लेलाई, गीता मञ्जुश्रीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान प्रा. लालानाथ सुवेदीलाई, आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान बाबा विश्वनाथलाई र निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान हरिविनोद अधिकारीलाई समर्पण गरिँदैछ ।
सम्मानित प्रतिभाहरूको चयन विभिन्न व्यक्तिहरूको सिफारिसका आधारमा सविता अर्यालको संयोजकत्वमा रामप्रसाद तिमल्सिना र गोविन्दबहादुर खड्का सदस्य रहनुभएको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले गरेको हो ।
समारोहमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका ७ वटा पुस्तक सार्वजनिक गरिँदैछन् । ती पुस्तकहरूमा सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘श्रीस्वस्थानी व्रतकथा’, पदम दाहालद्वारा लिखित ‘बादलका तरेलीहरू’ कवितासङ्ग्रह, हरि मञ्जुश्रीद्वारा सम्पादित ‘डा. इन्दुल केसीको चौथो आयाम’, साधुराम गिरीद्वारा लिखित ‘मान्छे, प्रकृति र भेगन’ बिरौँलासङ्ग्रह, गीता मञ्जुश्री र दामोदर घिमिरेद्वारा लिखित ‘बत्तीस कर्मयोद्धा’, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘भोजप्रबन्ध’ र गीता मञ्जुश्रीद्वारा लिखित ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ रहेका छन् ।
नेपालको पत्रकारिता क्षेत्रमा काभ्रे जिल्लाका महिलाहरूको सहभागिता धेरै रहोस् भन्ने उद्देश्यले एसईई उत्तीर्ण गरेर काभ्रे जिल्लाको क्याम्पसमा पत्रकारिता विषय पढ्ने गरिब तथा जेहेन्दार एउटी काभ्रेली छात्रालाई यसै वर्षदेखि यस संस्थाबाट द्रोणप्रसाद श्रेष्ठको आर्थिक व्यवस्थापनमा हरेक वर्ष १० हजार रुपियाँका दरले छात्रवृत्ति दिने निर्णय गरिएको छ । यस वर्षको छात्रवृत्ति काभ्रे क्याम्पसमा पत्रकारिता विषय पढ्दै गरेकी कानपुरकी रन्जिता उप्रेतीलाई प्रदान गरिनेछ । शब्दयात्रा प्रकाशनले स्थापना गरेका सालिकहरू बनाइदिने सालिक कलाकार सुदर्शन थापालाई पनि हामी कदरपत्र प्रदान गर्नेछौँ ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा अभिव्यक्त स्वागत मन्तव्यको अंश)