आज सार्वजनिक गरिएका पुस्तकहरूको परिचय दिन मलाई आग्रह गरिएकाले परिचयतिरै केन्द्रित हुन चाहन्छु ।
पहिलो पुस्तक ‘श्रीस्वस्थानी व्रतकथा’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित ११८ औँ पुस्तक हो । यसका प्रकाशन सहयोगी सहदीप पलान्चोके हुनुहुन्छ । यसअघि उहाँको सङ्कलनमा दुईवटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित भइसकेका छन् । जम्मा ३२८ पृष्ठको यस पुस्तकको मूल्य ५०० रुपियाँ राखिएको छ । यस पुस्तकका लागि सहदीप पलान्चोकेलाई बधाई छ ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशित ११९ औँ पुस्तक मुकुन्दप्रसाद उपाध्यायद्वारा लिखित ‘ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि’ यसअघि नै वितरण भइसकेको छ । यसबाट ‘श्रीस्वस्थानी व्रतकथा’ लाई सार्वजनिक गर्न मात्र ढिलो भएको देखिन्छ ।
दोस्रो पुस्तक ‘बादलका तरेलीहरू’ नामक कवितासङ्ग्रह हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२० औँ पुस्तक हो । यसका कवि पदम दाहाल हुनुहुन्छ । उहाँको यो पहिलो साहित्यिक कृति हो । यसमा छन्दकविता, गीतिकविता र गद्यकविता गरी ६७ वटा कविता सङ्कलित छन् । जम्मा १३६ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कवितासङ्ग्रहका लागि कविज्यूलाई बधाई छ ।
तेस्रो पुस्तक ‘डा. इन्दुल केसीको चौथो आयाम’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२१ औँ पुस्तक हो । यस पुस्तकमा डा. इन्दुल केसीका विषयमा डा. सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, हरि मञ्जुश्री, मोहन दुवाल, डा. कृष्णप्रसाद दाहाल, बेलप्रसाद श्रेष्ठ, डा. गोविन्दशरण उपाध्याय, द्रोणप्रसाद श्रेष्ठ, डा. हेमराज काफ्ले आदि १७ जना लेखकले लेखेका अनुभूति र उहाँका रचनाका समीक्षा प्रस्तुत गरिएका छन् । यस पुस्तकका सम्पादक हरि मञ्जुश्री हुनुहुन्छ । जम्मा ८८ पृष्ठको यस पुस्तकको मूल्य १५० रुपियाँ राखिएको छ । यस कृतिका लागि कृतिनायक र सम्पादकज्यूलाई बधाई छ ।
चौथो पुस्तक ‘मान्छे, प्रकृति र भेगन’ नामक बिरौँलासङ्ग्रह हो । अचेल बिरौँलासङ्ग्रह थोरै मात्र देखिएका छन् । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १२२ औँ पुस्तक हो । यसका लेखक साधुराम गिरी हुनुहुन्छ । उहाँ नेपाली र अङ्ग्रेजी दुवै भाषामा सिर्जना गर्नुहुन्छ । यस कृतिमा पनि दुवै भाषाका रचना रहेका छन् । यो उहाँको पहिलो कृति हो । जम्मा ८८ पृष्ठको यस सङ्ग्रहको मूल्य १३० रुपियाँ राखिएको छ । यस कृतिका लागि कृतिकारलाई बधाई छ ।
पाँचौँ पुस्तक ‘बत्तीस कर्मयोद्धा’ हो । २०७५ सालमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा प्रवचन गर्ने डा. गोपाल पौड्याल मन्डने, द्रोणप्रसाद श्रेष्ठ, डा. इन्दुल केसी, डा. सरस्वती आचार्य, डा. हेमराज काफ्ले, डा. विवेक बराल, हरि मञ्जुश्री, सावित्री ढुङ्गेल, राधा कार्की आदि ३२ जना व्यक्तित्वको चिनारी यस पुस्तकमा गराइएको छ । यस पुस्तकका लेखकद्वय गीता मञ्जुश्री र दामोदर घिमिरे हुनुहुन्छ । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२३ औँ पुस्तक हो । जम्मा १२८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कृतिका लागि प्रवाचकहरूका साथै लेखकद्वयलाई पनि बधाई छ ।
छैटौँ पुस्तक ‘भोजप्रबन्ध’ हो । यो पुस्तक नेपालीमा अनुवाद गरिएको हो । यस पुस्तकका अनुवादक श्रीधर प्याकुरेल हुनुहुन्छ । पहिले ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिका’ मा धारावाहिक रूपमा प्रकाशित भइसकेको यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२४ औँ पुस्तक हो । जम्मा १२८ पृष्ठको यस पुस्तकको मूल्य २०० रुपियाँ राखिएको छ । यस कृतिका लागि प्रवाचकहरूका साथै लेखकद्वयलाई पनि बधाई छ ।
सातौँ कृति ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ हो । यो रङ्गीन पुस्तिका हो । यस पुस्तिकाकी लेखिका गीता मञ्जुश्री हुनुहुन्छ । यो पुस्तिका शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १२५ औँ प्रकाशनपुष्प हो । जम्मा २४ पृष्ठको यो पुस्तिका उपयुक्त लागेको पात्रलाई निःशुल्क उपलब्ध गराउने भनिएको छ । यस पुस्तिकाका लागि कृतिनायक र लेखिका दुवैलाई बधाई छ ।
यी सातैवटा कृतिले नेपाली भाषा–साहित्यमा विशेष स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु ।
(२०७६ जेठ २१ गते मङ्गलबार सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा अभिव्यक्त कृतिपरिचयको अंश)