Home Blog Page 139

डा. इन्दुल केसी सम्मानित हुने

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीलाई केशव–सुषमा भजनगुठीबाट सम्मान गरिने भएको छ ।
आगामी चैत ८ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा आयोजना गरिने कार्यक्रममा उहाँलाई सम्मान गर्न लागिएको उक्त गुठीले जनाएको छ ।

हार्दिक बधाई

0

गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित देशव्यापी राष्ट्रिय कविता महोत्सव, २०७६ मा तृतीय स्थान प्राप्त गर्न सफल हुनुभएकोमा यस संस्थाका आजीवन सदस्य कवि पदम दाहालमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

‘विषय र विवेचना’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका पूर्व कार्यकारी सम्पादक, लेखक तथा शिक्षासेवी चूडाप्रसाद चौलागाईंद्वारा लिखित ‘विषय र विवेचना’ (लेखसङ्ग्रह) शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत फागुन १७ गते शनिबार आयोजित समारोहमा अग्रज पत्रकार चन्द्रमणि गौतमको प्रमुख आतिथ्यमा सार्वजनिक गरियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सार्वजनिक गरिएको पुस्तकमाथि लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले टिप्पणी गर्नुभएको थियो भने प्रकाशकका तर्फबाट प्रभा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कृतिकार चूडाप्रसाद चौलागाईंले कृतिकारका रूपमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन लेखक दामोदर घिमिरेले र समापन सञ्चालक सदस्य तथा सम्पादक शिव बन्जाराले गर्नुभएको थियो । प्रमुख अतिथिलाई ज्यो. पं. रमेश अधिकारीले रुद्राक्षको माला लगाई स्वागत गर्नुभएको थियो भने महाप्रबन्धक शारदाप्रसाद शर्माले उपहार प्रदान गर्नुभएको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ को १ सय ७ औँ शृङ्लाका रूपमा आयोजित उक्त कार्यक्रममा जग्गादाता कृष्णमणि कुइँकेल, सञ्चालक सदस्य माधवप्रसाद तिवारी, शिक्षासेवी तथा साहित्यकारहरू चन्द्रबहादुर खड्का, पशुपतिमान प्रधान, निर्मला श्रेष्ठ, पूर्णबहादुर कर्माचार्य तथा सहदीप पलान्चोके, दीपक तिमल्सिना, बद्रीप्रसाद ढुङ्गाना आदिसहित शिक्षा, साहित्य र समाजसेवा क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
‘विषय र विवेचना’ चूडाप्रसाद चौलागाईंको दोस्रो पुस्तक हो । यसमा हरि मञ्जुश्री र डा. इन्दुल केसीले भूमिका तथा तेज पन्तले प्रकाशकीय लेख्नुभएको छ भने गीता मञ्जुश्रीले कृतिकारको परिचय गराउनुभएको छ । ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाको ‘चिन्तन’ स्तम्भमा प्रकाशित ४० वटा लेखहरूको सङ्ग्रहका रूपमा आएको यो पुस्तक जम्मा १ सय ४४ पृष्ठको छ ।

शब्दयात्राबाट ‘परदेशको कथा’ आउँदै

0

शब्दयात्रा प्रकाशनको १ सय ३७ औँ प्रकाशनपुष्पका रूपमा ‘परदेशको कथा’ नामक कवितासङ्ग्रह प्रकाशन हुने भएको छ । कवि काफलबोटे कान्छा (रामकुमार हुमागाईं) द्वारा लिखित उक्त कवितासङ्ग्रह १ सय २० पृष्ठको हुनेछ ।
राष्ट्रकवि माधव घिमिरे, ग्रन्थसम्पादक हरि मञ्जुश्री, कलाकार सीताराम कट्टेल ‘धुर्मुस’, सञ्चारकर्मी कृष्ण कँडेल तथा समाजसेवी दुर्गानाथ दाहालको मन्तव्यसहितको उक्त सङ्ग्रह आगामी चैत महिनामा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।

रिमाल र त्रिपाठीलाई हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा विज्ञान–प्रविधि सम्मान’ बाट सम्मानित इ. शङ्करनाथ रिमाल नइ कीर्तिनिधि पुरस्कार र ‘शब्दयात्रा समालोचना सम्मान’ बाट सम्मानित समालोचक डा. वासुदेव त्रिपाठी नइ ईश्वर बराल पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

परमात्मासँग प्रार्थना

0

शब्दयात्रा सामाजिक जागरण सम्मान, २०७२ बाट सम्मानित समाजसेवी भीमबहादुर अधिकारी २०७६ माघ २३ गते परमधामतर्फ जानुभएको छ । उहाँको आत्मा परमात्मासँग एकाकार होस् । परमात्मासँग हाम्रो प्रार्थना छ ।

शब्दयात्रा प्रकाशन परिवार

‘नेपालभूमि’ को विशेषाङ्कमाथि एक दृष्टि

0

पृष्ठभूमि :
शब्दयात्रा प्रकाशनबाट नियमित रूपमा प्रत्येक हप्ता प्रकाशित हुने ८ पृष्ठको ‘नेपालभूमि’ पत्रिकाको यो अङ्क विशेषाङ्कका रूपमा प्रकाशित भएको छ । राष्ट्र, राष्ट्रियता र मानवताप्रति समर्पित, नैतिकता र मानवताप्रति प्रतिबद्ध, सकारात्मक सोचको संवाहक, सामाजिक सन्तुलनप्रति कटिबद्ध, अक्षरकर्मी र अक्षरसेवीहरूको सहयोगी हुने प्रतिबद्धताका साथ प्रकाशित अङ्क वर्ष ३७, अङ्क ४१, पूर्णाङ्क १८०६, मूल्य रु. १० को यस पत्रिकाको संरक्षक हरि मञ्जुश्री र सम्पादक रश्मि हुमागाईं हुनुहुन्छ ।

सम्मानित व्यक्तिहरू :
विशेष अङ्कका रूपमा प्रकाशित यो पत्रिकामा २०७६ साल माघ २५ गते काभ्रे जिल्लामा हुने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहसम्बन्धी विविध जानकारीमूलक विवरणहरू समावेश गरिएका छन् । उक्त कार्यक्रममा ६ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गरिने र ५ वटा पुस्तक सार्वजनिक गरिने कुरा उल्लेख छ । सम्मानित हुने ६ जना व्यक्तित्वहरू क्रमश: रागिनी उपाध्याय, डा. भोला थापा, प्रा. राजेन्द्र सुवेदी, प्रा. रामकुमार पाँडे, डा. रमेशचन्द्र अधिकारी र डिल्लीराम मिश्र हुनुहुन्छ । उल्लिखित राष्ट्रिय व्यक्तित्वहरूको फोटोसहित सङ्क्षिप्त जीवनी पनि प्रकाशित गरिएको छ । यसरी नै चयन समितिका सदस्यहरू संयोजक माधवप्रसाद आचार्य, सदस्य चूडाप्रसाद चौलागाई र सदस्य माधव पराजुलीसमेत ३ जनाको सङ्क्षिप्त परिचयका साथ फोटाहरू पनि छापिएका छन् ।

आर्थिक व्यवस्थापकहरू :

सम्मान गरिने सम्मानका ६ जना व्यवस्थापकहरूमा शब्दयात्रा विज्ञान–प्रविधि सम्मानका आर्थिक व्यवस्थापक रामकृष्ण स्मृति प्रतिष्ठान, शब्दयात्रा फोटो पत्रकारिता सम्मानका व्यवस्थापक हरिगोपाल प्रधान, शब्दयात्रा बालसाहित्य सम्मानका आर्थिक व्यवस्थापक गोपाल पराजुली, शब्दयात्रा कविताकाव्य सम्मानका आर्थिक व्यवस्थापक कविप्रसाद प्याकु¥याल, शब्दयात्रा महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठ र शब्दयात्रा अनुुुसन्धान सम्मानका आर्थिक व्यवस्थापक राजेन्द्र विरहीसमेत ६ जनाको सम्मानसम्बन्धी सङ्क्षिप्त परिचयका साथ फोटा पनि छापिएका छन् । २०६८ देखि २०७६ सालको हालसम्म १८ वटा विभिन्न नामका सम्मानहरू १३६ जनालाई प्रदान गरिसकिएको छ ।

पत्रिकामा प्रकाशित रचनाकारहरू :
यस वर्ष ‘नेपालभूमि’ मा २१८ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरूका विभिन्न लेखरचनाहरू ८०४ वटा प्रकाशित भइसकेको देखिन्छ । २१८ जनामध्ये राष्ट्रकवि माधवप्रसाद घिमिरे, डा. सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, तेजेश्वरबाबु ग्वंग:, प्रा. सुरेशराज चालिसे, मोदनाथ प्रश्रित, बुद्धिनारायण श्रेष्ठ, जनकलाल शर्मा, मुकुन्दप्रसाद उपाध्याय, डा. इन्दुल केसी, ज्ञानकाजी मानन्धर आदि पनि हुनुहुन्छ । यसरी नै लेखिकाहरूमा गीता मञ्जुश्री, पुण्यवती घले, नवीना श्रेष्ठ, अनिता भण्डारी, भवानी पाण्डे, सङ्गीता रेग्मीलगायत धेरैजना हुनुहुन्छ ।
उक्त २१८ जना रचनाकारहरूमा ३० जना डाक्टरहरू हुनुहुन्छ, यसरी नै ज्योतिषी, पण्डित, स्वामी, योगगुरु, इन्जिनियर, प्राध्यापक, चित्रकलाकार, गायक, शिक्षक, प्राध्यापक, प्रशासक, राजनीतिकर्मी, समालोचक, कथाकार, निबन्धकार, गजलकार, मुक्तककार, लेखक, कवि, उपन्यासकार इत्यादि विविध विधाका रचनाकारहरू हुनुहुन्छ ।

प्रस्तुत अङ्कमा रहेका रचना र रचनाकारहरू :
१. प्रा. डा. रामकृष्ण माकजू श्रेष्ठ (भीडतन्त्रबाट देश असफल हुन्छ), २) सुनील सापकोटा (वसन्त उत्सव कि सरस्वती पूजा ?), ३. एकप्रसाद दुवाडी (सुन माने गोल्ड), ४. डा. दुर्गा दाहाल (एमसीसी र बेचेर खाने राष्ट्रियता), ५. चन्द्रमणि गौतम (माघ २६ गते), ६. रामप्रसाद खनाल (काङ्ग्रेस अझै थला पर्छ), ७. प्रा. सुरेशराज चालिसे (ग्रामोफोन उपहार), ८. श्रीधर प्याकुरेल (बिरालाको निसाफ), ९. पदम दाहाल (दुरुस्तै ऊ मान्छे), १०. पुण्यवती घले (मुक्तक), ११. अनिता भण्डारी पौडेल (गजल), १२. गोविन्दबहादुर खड्का (शब्दयात्रा अमृतवाणी), १३. डा. इन्दुल केसी (भजन गरौं), १४. सम्पादकीय (शब्दयात्रासम्बन्धी विशेषाङ्क) ।

सूचना, समाचार र विज्ञापन :
यस अङ्कमा नेपाल सरकार सूचना तथा प्रसारण विभागको सूचना १, विभिन्न ६ वटा विज्ञापनहरू र शब्दयात्रा प्रकाशनको पुस्तकालयका लागि भारतीय राजदूतावासले रु. ४० हजारका विभिन्न किताब खरिद गर्न सहयोग प्रदान गरेको समाचारका साथै नेपाल साहित्य मन्दिरको भक्तपुरमा सम्पन्न वार्षिक कार्यक्रमसम्बन्धी समाचार पनि रहेको छ ।
अन्तमा ‘नेपालभूमि समाऊँ नेपाली भूमिमै रमाऊँ’ भन्ने आकर्षक भनाइ पनि यस पत्रिकामा रहेको छ ।

सम्मान पनि, पुस्तक पनि

0

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
हामीलाई उत्साहित बनाउन प्रमुख आतिथ्य ग्रहण गरिदिनुभएकोमा अग्रज समाजसेवी, साहित्यकार तथा नेपालको प्रथम महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा र आतिथ्य ग्रहण गरिदिनुभएकोमा काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं र समीक्षक डा. यज्ञेश्वर निरौलालाई हृदयदेखि नै स्वागत गर्दछु ।
यस संस्थाबाट जेठ महिनामा ६ विधामा, असोज महिनामा ६ विधामा र माघ महिनामा ६ विधामा गरी हरेक वर्ष विभिन्न १८ विधाका सम्मानहरू समर्पण गरिन्छन् । त्यस्ता कार्यक्रमहरूमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरू सार्वजनिक पनि गरिन्छन् । तीमध्ये हरेक वर्षको माघ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरू २०७६ साल माघका लागि आज समर्पण गरिँदैछन् । आजै ५ वटा पुस्तकलाई सार्वजनिक गरिँदैछ ।
शब्दयात्रा प्रकाशनको स्थापना भएको अहिले १०१ महिना भयो । यस अवधिमा आज गरिने सम्मानसमेत जोड्दा यस संस्थाबाट सम्मानित व्यक्तिको सङ्ख्या १३६ पुगेको छ भने आज सार्वजनिक गरिने कृतिसमेत जोड्दा प्रकाशित कृतिको सङ्ख्या पनि १३६ नै पुगेको छ ।
आजको समारोहमा द्रोणप्रसाद श्रेष्ठद्वारा धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान चित्रकलाकार रागिनी उपाध्याय ‘ग्रेला’ लाई, निर्मला श्रेष्ठको सक्रियतामा रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा विज्ञान–प्रविधि सम्मान प्रविधिविज्ञ प्रा. डा. भोला थापालाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान समालोचक प्रा. राजेन्द्र सुवेदीलाई समर्पण गरिँदैछ । यसै गरी गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान बालसाहित्यकार प्रा. रामकुमार पाँडेलाई, कविप्रसाद प्याकुरेलद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीलाई र राजेन्द्र विरहीद्वारा आफ्ना शिक्षासेवी तथा साहित्यकार पिता जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई समर्पण गरिँदैछ ।
यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा रागिनी उपाध्याय ग्रेला, प्रा. डा. भोला थापा, प्रा. राजेन्द्र सुवेदी, प्रा. रामकुमार पाँडे, डा. रमेशचन्द्र अधिकारी र डिल्लीराम मिश्र ‘श्रमजीवी’ प्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
सम्मानित प्रतिभाहरूको चयन माधवप्रसाद आचार्यको संयोजकत्वमा चूडाप्रसाद चौलागाईं र माधव पराजुली सदस्य रहनुभएको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति पनि यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा प्रजापति तिमिल्सिनाद्वारा लिखित ‘विधवा वासना’ उपन्यास, सविता शर्माद्वारा लिखित ‘कवितामा सविता’ कवितासङ्ग्रह, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र’, निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ स्मृतिनिबन्ध र पुण्यवती घलेद्वारा सम्पादित ‘पच्चीस कृति र कृतिकार’ परिचयसङ्ग्रहलाई सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराइदिनुभएकोमा उहाँहरूप्रति पनि यो संस्था आभारी छ ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकालाई २०७५ साल माघ १५ गतेदेखि २०७६ साल माघ १४ गतेसम्मको १ वर्षभित्र १० भन्दा बढी लेखरचना उपलब्ध गराइदिने लेखकहरूलाई आजैको कार्यक्रममा उपहार प्रदान गरिनेछ । सबै लेखकहरूप्रति हामी आभार व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशनलाई अघि बढ्न हरेक प्रकारको सहयोग गरेकोमा नीलकण्ठेश्वरधाम संरक्षण समितिप्रति यो संस्था धन्यवाद ज्ञापन गर्दछ ।
आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै पुनः स्वागत गर्न चाहन्छु ।
(स्वागत मन्तव्यबाट)

शब्दयात्रा प्रकाशनले यति काम गरेछ

0

शब्दयात्रा प्रकाशन साढे आठ वर्षदेखि काभ्रे जिल्लालाई केन्द्रभूमि बनाएर विभिन्न राष्ट्रिय गतिविधिहरू गरिरहेको छ । यस संस्थाले मुख्यतः —

  • समाजसेवी तथा बनेपा नगरपालिका वडा नं. ६ का वडासदस्य कृष्णमणि कुइँकेलबाट हालको चलनचल्तीको मूल्यअनुसार करिब ५० लाख रुपियाँ बराबरको जग्गा दानमा प्राप्त गरेको छ ।
  • नीलकण्ठेश्वरधाम संरक्षण समितिबाट कार्यालय भवन निःशुल्क प्राप्त गरेको छ ।
  • रामचन्द्र हुमागाईंबाट ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाको स्वामित्व निःशुल्क प्राप्त गरेको छ र त्यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । ‘नेपालभूमि’ का लागि एक वर्षमा १० भन्दा बढी रचना उपलब्ध गराउने लेखकलाई हरेक वर्ष उपहार प्रदान गर्ने गरिएको छ ।
  • सम्मानकोषका लागि उर्मिला श्रेष्ठ भोजपुरे, द्रोणप्रसाद श्रेष्ठ, गोपाल पराजुली, कृष्णहरि मैनाली, योगेन्द्र खत्री, कविप्रसाद प्याकुरेल, कल्याण लम्साल, निर्मलाकुमारी यगोल, सुनील सापकोटा, सुदर्शन आचार्य, राजेन्द्र विरही, निर्मला श्रेष्ठ र प्रा. लालानाथ सुवेदीले एक–एक लाख रुपियाँ राखिदिनुभएको छ । गीता मञ्जुश्री, आनन्दराज श्रेष्ठ र रमेश पौडेलले हरेक वर्ष सम्मानका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
  • हरिगोपाल प्रधानले सम्मानका लागि नगद रकम, माला, प्रमाणपत्र, फ्रेम आदि र अन्य सहयोगसमेत गरी हरेक वर्ष ५० हजार रुपियाँ बराबरको सहयोग गरिरहनुभएको छ ।
  • पत्रकारिता छात्रवृत्ति प्रदान गर्न द्रोणप्रसाद श्रेष्ठले १ लाख रुपियाँ अक्षयकोषमा राखिदिनुभएको छ । त्यसको ब्याजबाट हरेक वर्ष काभ्रेली छात्रालाई १० हजार रुपियाँका दरले पत्रकारिता छात्रवृत्ति प्रदान गरिरहेको छ ।
  • हरेक वर्ष विभिन्न विधाका १८ जना राष्ट्रिय व्यक्तित्वलाई प्रतिव्यक्ति ५ हजार रुपियाँ किरीट, उपहार र अभिवन्दनापत्रसहित सम्मान समर्पण गरिरहेको छ । हालसम्म १३६ जनालाई सम्मान गरिसकिएको छ ।
  • हरेक वर्ष १० हजार रुपियाँको कर्मशीलता पुरस्कार प्रदान गरिरहेको छ ।
  • हरेक वर्ष २ जना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गरिरहेको छ ।
  • विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका १३६ वटा पुस्तकको प्रकाशन गरिसकेको छ ।
  • सरस्वतीको मूर्ति राखी प्राणप्रतिष्ठा गरिसकेको छ ।
  • पुस्तकालयको स्थापना पनि भइसकेको छ ।
  • बुद्धरत्न मानन्धर, त्रिरत्न रन्जितकार, सुनील सापकोटा, गीता मञ्जुश्री, डा. भास्कर हुमागाईं आदिबाट विभिन्न समयमा आर्थिक तथा भौतिक सहयोग प्राप्त गरेको छ ।
  • नेपालका विशिष्ट व्यक्तित्व पाँचजनाको अर्धकदको सालिक बनेपामा स्थापना गरेको छ । अब निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कार पाउने पहिलो वैज्ञानिक नरबहादुर भारती, भाषा–साहित्य क्षेत्रमा लागेर सहिद बनेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङको सालिक एकै ठाउँमा देख्न पाइएको छ ।
  • धुलिखेलमा समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा जीवित अवस्थामै स्थापना गरेको छ ।
  • वेबसाइट सञ्चालन गरेको छ ।
  • विभिन्न लेखकका छुट्टाछुट्टै ब्लगहरू बनाई ती ब्लगहरूमा सम्बन्धित लेखकका पुस्तक, व्यक्तिगत विवरण, तस्बिर, प्रमाणपत्र आदि राखेर विद्युतीय सञ्चार–माध्यमबाट नेपाली लेखकहरूलाई अन्तर्राष्ट्रियकरण गरिँदैछ । हालसम्म हरि मञ्जुश्री, डा. इन्दुल केसी, पोष चापागाईं, कविप्रसाद प्याकुरेल र तुतुकाजी प्रणामी श्रेष्ठका पुस्तकहरू राखिसकिएको छ । यसरी शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू संसारको जुनसुकै ठाउँमा बसेको व्यक्तिले अब कम्प्युटर, ल्यापटप र मोबाइलबाट पढ्न सक्ने भएको छ ।
  • वृत्तचित्रको निर्माण पनि गरेको छ ।
  • शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू वाचन गरेर चित्रसहित यु–ट्युबमा राख्न थालिएको छ । अब शब्दयात्रा प्रकाशनबाट छापिएका पुस्तकहरू पढ्न मात्रै होइन, सुन्न पनि सकिनेछ ।
    यी सबै कार्यहरू जनस्तरको आर्थिक र भौतिक सहयोगबाट सम्पन्न गरिएका हुन् । अब यो संस्था यी सबै कार्यक्रमलाई निरन्तरता दिँदै यस्ता सबै कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न काभ्रे जिल्लामा ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । त्यसका लागि पहिलो चरणमा कृष्णमणि कुइँकेलले उपलब्ध गराउनुभएको यस संस्थाको जग्गामा अनुसन्धान केन्द्रको भवन बनाउन आर्थिक स्रोत जुटाउने प्रयास गरिरहेका छौँ । यस अभियानमा सबैको सक्रिय सहयोगको अपेक्षा राखिएको छ ।

शब्दयात्रामा पुष्पपराग

0

शब्दयात्रा प्रकाशनको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा पुष्पपराग साहित्य प्रतिष्ठानका पाँचजना कवि–कवयित्रीले कवितावाचन गर्नुभयो ।
कविता वाचन गर्नेहरूमा उर्मिला कोइराला, राजबाबु श्रेष्ठ सागर, भुवन शिवाकोटी चौघरे, सीता आस्था ढुङ्गेल र भगवती रोका भूमिका हुनुहुन्थ्यो ।