Home Blog Page 138

सम्मानका लागि नाम सिफारिस पठाउन अनुरोध

0

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १८ विधामा राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्दै आएकोमा २०७७ सालका लागि पहिलो चरणमा ९ विधाका सम्मानहरू समर्पण गरिने भएकाले निम्नलिखित विधाका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७७ साल वैशाख मसान्तभित्र शब्दयात्रा प्रकाशनको इमेल [email protected] मा पठाइदिन इच्छुक सबैमा अनुरोध छ । प्राप्त भएका सिफारिसमध्येबाट नै तीन सदस्यीय चयन समितिले हरेक विधामा सम्मान गरिने व्यक्ति वा संस्थाको चयन गर्नेछ ।
पहिलो चरणमा समर्पण गरिने सम्मानहरू :
(१) शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान (कवि नन्दिकेश्वर अधिकारी र उनको साहित्यिक वंशजको शोध र प्रकाशनमा संलग्न व्यक्ति वा संस्था : गत वर्ष प्रा. लालानाथ सुवेदी सम्मानित),
(२) शब्दयात्रा सिर्जना सम्मान (शब्दयात्रा प्रकाशनबाट अघिल्लो वर्ष प्रकाशित पुस्तकहरूमध्ये सर्वोत्कृष्ट लागेको कृति र कृतिकार : गत वर्ष ‘अक्षरहरूको बिस्कुन’ कवितासङ्ग्रहका लागि डा. हेमराज काफ्ले सम्मानित),
(३) शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (कुनै पनि विधाबाट राष्ट्रका लागि उल्लेख्य योगदान पु¥याएका व्यक्ति : गत वर्ष प्रा. डा. सुरेन्द्र केसी सम्मानित),
(४) शब्दयात्रा शिक्षक सम्मान (शिक्षकका रूपमा आदर्श स्थापना गरेका व्यक्ति : गत वर्ष हरिविनोद अधिकारी सम्मानित),
(५) शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (प्रशासनिक कर्मचारी भएर अन्य क्षेत्रमा पनि योगदान पु¥याएकी महिला ः गत वर्ष साहित्यकार नवीना श्रेष्ठ सम्मानित),
(६) शब्दयात्रा सामाजिक जागरण सम्मान (समाजसेवाका माध्यमबाट सामाजिक जागरण गराउने व्यक्ति वा संस्था : गत वर्ष बाबा विश्वनाथ सम्मानित),
(७) शब्दयात्रा स्तम्भकार सम्मान (राष्ट्रिय स्तरको सञ्चार माध्यमका स्तम्भकार : गत वर्ष टीपी शर्मा तिमिल्सिना सम्मानित),
(८) शब्दयात्रा विज्ञान–प्रविधि सम्मान (विज्ञान–प्रविधि क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था : गत वर्ष प्रा. डा. भोला थापा सम्मानित),
(९) शब्दयात्रा शिक्षा सम्मान (शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्ति वा संस्था : गत वर्ष प्रा. डा. केदारनाथ श्रेष्ठ सम्मानित) ।

ज्योतिष तालिमसम्बन्धी सूचना

0

शब्दयात्रा प्रकाशनले ज्योतिषीय ज्ञानसम्बन्धी अत्यन्त उपयोगी तालिम–कक्षा सञ्चालन गर्न लागेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क राख्न अनुरोध छ । कक्षासञ्चालन ज्यो. पं. रमेश अधिकारीले गर्नुहुनेछ ।
सम्पर्क ः शब्दयात्रा प्रकाशन, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ०११–४१५२१५ अथवा ज्यो. पं. रमेश अधिकारी, बनेपा, काभ्रे, दूरभाषाङ्क ः ९८४१३१४२७९

उत्तराधिकारी को ?

0

‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ को वर्ष ३७, अङ्क ४६, २०७६ फागुन २७ गते मङ्गलबार प्रकाशित मुखपृष्ठमा विद्वान् लेखक मुकुन्दप्रसाद उपाध्यायले शब्दयात्रा प्रकाशनले २०७६ माघ २५ गते काभ्रेको धुलिखेलमा आयोजना गरेको स्रष्टा सम्मान तथा कृतिहरूको सार्वजनिकीकरण कार्यक्रममा दर्शकदीर्घामा आफूसँगै बस्नुभएका साहित्यकार गोपाल पराजुलीले कार्यक्रमको भव्यता, शालीनता र गरिमामय सहभागितालाई देखेर गदगद हुँदै ‘तर…’ का बारेमा चिन्ता प्रकट गर्नुभयो भन्ने कुरा लेख्नुभएको छ । उक्त पत्रिका पढ्ने जोकसैले पनि ‘तर…’ का सम्बन्धमा बुझ्नुभयो नै होला । उक्त लेखमा हरि मञ्जुश्रीको नेतृत्वमा रहेको शब्दयात्रा प्रकाशन, मोहन दुवालको नेतृत्वमा रहेको जनमत प्रकाशन र चन्द्रबहादुर खड्काको नेतृत्वमा रहेको सुभाष स्मृति प्रतिष्ठानको भविष्यका बारेमा ‘तर…’ ले चिन्ता प्रकट गरेको छ । त्यसै गरी दृष्टान्तका रूपमा काठमाडौँ विश्वविद्यालय र संस्थापक डा. सुरेशराज शर्मा तथा धुलिखेल अस्पताल र डा. रामकण्ठ श्रेष्ठलाई पनि उक्त लेखले समेट्न खोजेको छ । डा. सुरेशराज शर्माको बहिर्गमनपछिको काठमाडौँ विश्वविद्यालयको अवस्थाको उदाहरण दिँदै डा. रामकण्ठ श्रेष्ठपछि धुलिखेल अस्पतालको अवस्था के होला, कसरी चल्ला भन्ने चिन्ता प्रकट भएको छ ।
उक्त लेखले देशका अन्य भागमा यसै गरी स्थापना भएका सङ्घ–संस्था तथा राजनीतिक व्यक्तित्वहरूलाई पनि छोएको छ । त्यसै गरी छिमेकी मित्रराष्ट्रहरू भारत र चीनको पनि चर्चा गरिएको छ । लेखमा वेदका मन्त्रहरूका सन्दर्भमा ऋषिमुनिहरू अनि राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एवम् एवं काभ्रे जिल्लाका मेयरहरूसमेत अटाएका छन् । अन्त्यमा संस्थापक संस्थाहरूको फोटोकपी उत्तराधिकारीको अपेक्षा त्यति सहज हुँदैन भनिएको छ । यस लेखमा ‘शब्दयात्रामा उत्तराधिकारी को ?’ शीर्षकमा विशेष गरी ३ वटा संस्थामा तत्तत् व्यक्तिको बहिर्गमनपछि नेतृत्व कसले लिने हो, यसको जवाफ तीनैजनासँग छैन भनिएको छ ।
यो मेरो लेखको आशयचाहिँ के रहेको छ भने मुकुन्दप्रसाद उपाध्यायको लेखमा गोपाल पराजुलीले प्रकट गर्नुभएको चिन्ता हामी सबैको हो, सायद मुकुन्दप्रसाद उपाध्यायको पनि हो । म यी तीनैवटा संस्थाहरूसँग कुनै न कुनै रूपले आबद्ध छु । सुवास स्मृति प्रतिष्ठानको त कार्यसमितिमै रहेको छु । यसकारण यिनलाई नजिकबाट नियाल्ने मौका पाएको छु । शब्दयात्रा प्रकाशन र जनमत प्रकाशन त आफ्नै खुट्टामा उभिइसकेका छन् । सम्मान कार्यक्रमका लागि अक्षयकोष स्थापना भएका छन् । तर पनि हरि मञ्जुश्री र मोहन दुवालको अभावमा आजकै रूपमा यी संस्था चल्लान् भन्न सकिँदैन । केही गरी खराब प्रवृत्तिका मानिसको हातमा नेतृत्व गयो भने यी संस्था धराशायी नहोलान् भन्न सकिन्न । यसतर्फ त सोच्नु नै पर्छ । जहाँसम्म सुभाष स्मृति प्रतिष्ठानको कुरा छ, झन् सोचनीय छ । उक्त प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय छ । प्रतिष्ठानले शिक्षा, स्वास्थ्य तथा साहित्यिक क्षेत्रमा योगदान गरेको जगजाहेरै छ । ‘तर…’, यहाँ ‘तर…’ अलि फरक अर्थमा छ । सुवास स्मृति प्रतिष्ठानको वार्षिक लेखापरीक्षण प्रतिवेदन हेर्ने हो भने सीमित मात्रमा अक्षयकोष छ । उक्त कोषको ब्याजले र सीमित सदस्यहरूको सहयोगबाट संस्था चल्न सक्ने अवस्था छैन । वर्षेनी खर्च भएकोमध्ये ठूलो रकम संस्थापक अध्यक्षको परिवारबाट सहयोग प्राप्त हुने गरेको छ । यसले कहिलेसम्म निरन्तरता पाउने हो ? चन्द्रबहादुर खड्कापछि के हुने हो ? यो प्रतिष्ठानलाई दीर्घजीवी बनाउने हो भने ५० लाखभन्दा बढी अक्षयकोषमा रकम पु¥याउनुपर्ने हुन्छ । अन्यथा चन्द्रबहादुर खड्कापछि नेतृत्वमा को भन्नुभन्दा पनि संस्था नै रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता हो ।
साहित्यकारद्वय हरि मञ्जुश्री र मोहन दुवालले काभ्रे जिल्लालाई साहित्यिक प्रयोगशाला र बौद्धिक ल्याब बनाउनुभयो । देश–विदेशमा काभ्रे जिल्लालाई चिनाउनुभयो । नेपालको साहित्याकाशमा तला थप्ने काम गर्नुभयो, जुन अविस्मरणीय छ । काभ्रेली जनताले, नेपालको साहित्यिक क्षेत्रले उहाँहरूलाई कदापि भुल्न सक्तैन, भुल्नु पनि हुँदैन । तर, फेरि यहाँ पनि ‘तर…’ आएको छ । मेरो यहाँको ‘तर…’ तीनैजना संस्थापकहरूप्रति लक्षित छ । उहाँहरूले सबल, सक्षम संस्थाहरू स्थापना गर्नुभयो । नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । संस्थालाई जीवन्त राख्नुभयो । यतिमा मात्रै उहाँहरूको कर्तव्य पूरा भयो भन्नुहुन्छ भने त्यो उहाँहरूको भूल हुनेछ । उहाँहरूले के बुझ्नुप¥यो भने मुकुन्दप्रसाद उपाध्यायको लेखमा जुनजुन संस्थाहरूको उल्लेख भएको छ र तिनको अवस्था दर्साइएको छ, यी संस्थाहरूलाई पनि तिनैको स्तरमा पु¥याउने कि जीवन्त राख्ने, यो उहाँहरूमै निर्भर छ । त्यसकारण जसरी उहाँहरूले संस्था निर्माण गर्नुभयो, अब त्यसै गरी आफूपछि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने अथवा सक्षम नेतृत्व प्रदान गर्न सक्ने व्यक्तिहरू निर्माण गर्नुपर्छ । यसरी सक्षम व्यक्ति निर्माण गरी आफू जीवित छँदै नेतृत्व हस्तान्तरण गरी कमी–कमजोरी सच्याउन लगाई अभिभावकीय भूमिका प्रदान गर्न सक्नुपर्छ ।

शब्दसाधकहरूको सालिक : पाँच व्यक्ति पाँच अभिव्यक्ति

0

षडानन्द अधिकारीका विषयमा कविता —
जल्ले एक मुठी रश्मि पहिले पूर्वमा छ¥यो
पातलो ज्योति बिछ्याई जल्ले कोसी नदी त¥यो
त्यो बालब्रह्मचारीको पवित्र प्रतिमामनि
यो तीर्थस्थलमा बस्ता गुन्जन्छ राष्ट्रको ध्वनि

— राष्ट्रकवि माधवप्रसाद घिमिरे

देवीप्रसाद सापकोटाको कविता —
आफैं आफ्नो बन्धु हो धर्म गर्दा
आफैं आफ्नो शत्रु हो पाप गर्दा
भन्ने जान्नू, सन्तको सङ्ग गर्नू
पापीजनका साथ कैल्यै नपर्नू

— देवीप्रसाद सापकोटा

नरबहादुर भारतीका विषयमा कविता —
आविष्कारहरू गर्ने आविष्कारक हुन् ‘नर’
पुरस्कृत हुने पैलो वैज्ञानिक ‘बहादुर’
आभारीको दिने भारी भारतीपुत्र ‘भारती’
कीर्तिशाली उनैलाई सश्रद्धा यो छ आरती

— हरि मञ्जुश्री

कृष्णलाल अधिकारीको कविता —
संसारमा कीर्ति छ धेर ठूलो
कीर्तिविना बन्दछ जीव लूलो
संसार छोडे पनि हेर क्वै दिन
आउनेछ यौटा जनतन्त्रको दिन

— कृष्णलाल अधिकारी

मेलवादेवी गुरुङले गाएको गीत —
न घरलाई घर कहिन्छ, नारी नै दरबार हो
एक मात्रै धर्मसाधन, नारी घरको द्वार हो
घरकी देवी नारी नै हो, नारी घरको ज्योति हो
राजलक्ष्मी नारी नै हो, नारी माणिकमोती हो
— शुक्रराज शास्त्री

‘श्यामसुन्दर भजनमाला’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ पुस्तकका रूपमा प्रकाशित ‘श्यामसुन्दर भजनमाला’ नामक त्रिभाषी भजनसङ्ग्रह सार्वजनिक भएको छ । डा. इन्दुल केसीद्वारा सङ्कलित तथा सम्पादित उक्त पुस्तक स्व. गोविन्दमानसिंह राजभण्डारी, महेशचन्द्र शर्मा, पशुपतिमान पःमाँ, ज्यो. पं. रमेश अधिकारी, डा. इन्दुल केसी र हरि मञ्जुश्रीद्वारा लिखित नेपाली, नेवारी र हिन्दी भाषाका ४५ वटा भजनहरूको सङ्ग्रह हो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शब्दयात्रा प्रकाशनकै सभाकक्षमा आयोजित कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो ।
प्राञ्जल नेपाल नामक साहित्यिक संस्थाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतम र उपाध्यक्ष जीवनाथ अधिकारीले संयुक्त रूपमा ‘श्यामसुन्दर भजनमाला’ लाई सार्वजनिक गर्नुभएको थियो । डा. इन्दुल केसीले सम्पादकीय मन्तव्य, मच्छेश्वर सापकोटाले सभाविसर्जन, जीवनाथ अधिकारी, पदम दाहाल र केवल कार्कीले कविता वाचन, ज्यो. पं. रमेश अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिव बन्जाराले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने विक्रम देउबन्जारले भक्तपुरस्थित वाराहीपीठ विकास समितिका तर्फबाट पुस्तकका लागि ५ हजार १५ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । डा. इन्दुल केसी र पं. रमेश अधिकारीले आफूले लेखेका एक–एकवटा भजन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ८ औँ शृङ्खलाका रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा शारदाप्रसाद शर्मा, सङ्गीता केसी, पुण्यवती घले, पूर्णबहादुर कार्की, छविलाल कुइँकेल, सहदीप पलान्चोके, शकुन्तला बन्जारा, चूडाप्रसाद चौलागाई, निर्मला श्रेष्ठ, नवराज पराजुली, चन्द्रबहादुर खड्का, साधुराम गिरी आदिको पनि उपस्थिति रहेको थियो ।

एक वर्षमा एक्काइस पुस्तक : रमेश अधिकारी

0

एक वर्षमा एउटा सामान्य संस्थाबाट २१ वटा पुस्तक प्रकाशित गर्न सकिन्छ ? कसैले सकिन्छ भनियो भने सुन्ने मान्छेलाई पत्याउन मुस्किल पर्छ । तर शब्दयात्रा प्रकाशनले २०७६ सालभरिमा २१ वटा पुस्तक प्रकाशन गरेको छ र इच्छाशक्ति भयो भने एक वर्षमा २१ वटा पुस्तक पनि प्रकाशन गरेर सार्वजनिक गर्न सकिन्छ भनेर देखाइदिएको छ ।
शब्दयात्रा प्रकाशनबाट २०७६ सालमा प्रकाशित २१ वटा पुस्तकमध्ये आध्यात्मिक क्षेत्रका ६ वटा र महिला प्रतिभाका ६ वटा रहेका छन् । तीमध्ये २ वटा पुस्तक निःशुल्क वितरण गर्ने गरी प्रकाशन गरिएको छ । महाकाव्य, उपन्यास, भजनसङ्ग्रह, टिप्पणीसङ्ग्रह र यात्रासंस्मरण १–१ वटा, अनूदित पुस्तक ४ वटा, कवितासङ्ग्रह ४ वटा, लेखसङ्ग्रह ४ वटा र अन्य विधाका ४ वटा रहेका छन् । चम्पू विधाको पुस्तक पनि छापिएको छ ।
२०६८ साल असार महिनादेखि पुस्तक प्रकाशन गर्न थालेको शब्दयात्रा प्रकाशनले २०६८ सालमा ६ वटा, २०६९ सालमा ११ वटा, २०७० सालमा ९ वटा, २०७१ सालमा १६ वटा र २०७२ सालमा १८ वटा पुस्तक प्रकाशन गरेको थियो । यसै गरी २०७३ र २०७४ सालमा २०–२० वटा र २०७५ सालमा १७ वटा पुस्तक प्रकाशन गरेको थियो । २०७६ सालको चैतसम्ममा गरी शब्दयात्रा प्रकाशनले कूल १ सय ३८ वटा पुस्तक प्रकाशन गरिसकेको छ । यसरी जनसहयोगबाट सञ्चालित संस्थाले १ सय ६ महिनाभित्रमा १ सय ३८ वटा पुस्तक प्रकाशन गर्नु भनेको सरकारबाट सञ्चालित साहित्यिक संस्थाका लागि लाजमर्दो विषय बन्नु हो । काठमाडौँबाहिर रहेका संस्थाहरूमा यही गतिमा पुस्तक प्रकाशन गर्ने संस्था थोरै मात्र होलान् ।
शब्दयात्रा प्रकाशनले ९ वर्षभित्र १ सय ३८ वटा पुस्तक प्रकाशन गरेको मात्र होइन, नेपालका पाँचजना अग्रज शब्दसाधकहरूको सालिक बनेपामा र एउटा सालिक धुलिखेलमा स्थापना गरेको छ, मन्दिर र पुस्तकालय बनाएको छ, १ सय ३६ जनालाई सम्मान गरेको छ, पुरस्कार र पत्रकारिता छात्रवृत्ति प्रदान गरेको छ, साप्ताहिक पत्रिका प्रकाशन गरिरहेको छ, वृत्तचित्र निर्माण गरेको छ । अन्य कार्यक्रमहरू पनि धेरै भएका छन् । यी कामहरू देखेरै अगज साहित्यकार तुलसी दिवसले भन्नुभएको होला — शब्दयात्रा प्रकाशन नेपालका साहित्यिक संस्थाहरूका लागि रोल मोडल हो, यसले छोटो अवधिमै गरेर देखाएको कामबाट नेपाल प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाहरूले धेरै कुरा सिक्न सक्छन् ।

हार्दिक बधाई

0

‘शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७५’ बाट सम्मानित साहित्यिक पत्रिका ‘कौशिकी’ का सम्पादक चेतनाथ धमला जनसांस्कृतिक महासङ्घ नेपालका ओखलढुङ्गा इन्चार्ज तोकिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्राबाट भजनसङ्ग्रह छापिँदै

0

शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ प्रकाशनपुष्पका रूपमा ‘श्यामसुन्दर भजनमाला’ नामक भजनसङ्ग्रह प्रकाशन हुन लागेको छ । भजनसङ्ग्रहको सम्पादन डा. इन्दुल केसीले गर्नुभएको छ ।
भजनसङ्ग्रहमा नेपाली, नेवारी र हिन्दी भाषाका भजनहरू सङ्गृहीत छन् । नेपाली भजनहरूलाई डा. इन्दुल केसीले नेवारी भाषामा र ज्यो. पं. रमेश अधिकारीले हिन्दी भाषामा अनुवाद गर्नुभएको छ ।
भजनसङ्ग्रहमा हरि मञ्जुश्री, पशुपतिमान प्रधान र महेशचन्द्र शर्माका भजनहरू पनि सङ्कलित छन् ।

शब्दयात्रामा उत्तराधिकारी को ?

0

गत २०७६ साल माघ महिनाको २५ गते शनिबार काभ्रेको धुलिखेलमा एक भव्य तर गैरराजनीतिक कार्यक्रम सम्पन्न भयो । त्यस दिन शब्दयात्रा प्रकाशनले स्रष्टा सम्मान तथा कृतिहरूको सार्वजनिकीकरण कार्यक्रम राखेको थियो । सरकारी अनुदान र राजनीतिक नेताहरूको उपस्थिति नभएकाले नै त्यो कार्यक्रम भव्य हुनुका साथै सभ्य पनि थियो । राजनीतिक र सरकारी कार्यक्रमहरू प्रायः भव्य मात्र हुन्छन् । शब्दयात्रा प्रकाशनले विगत साढे ८ वर्षदेखि प्रत्येक वर्ष तीन–तीनपटक यस्तै भव्य र सभ्य कार्यक्रमहरू काभ्रे जिल्लामा गर्ने गर्दछ । यी सबैका पछाडि ग्रन्थसम्पादक तथा साहित्यकार हरि मञ्जुश्रीको अथक परिश्रम र साधना छ ।
कार्यक्रम भइरहँदा दर्शकदीर्घामा यो पङ्क्तिकार र साहित्यकार गोपाल पराजुली सँगसँगै बसेका थियौँ । उहाँले कार्यक्रमको भव्यता, शालीनता र गरिमामय सहभागितालाई देखेर गदगद हुँदै ‘तर…’ का बारेमा हल्का चिन्ता प्रकट गर्नुभयो । उहाँको ‘तर…’ थियो शब्दयात्रा प्रकाशनमा हरि मञ्जुश्रीको उत्तराधिकारी को त ? भन्ने । यो उहाँको गहन र मननीय जिज्ञासा थियो, र थियो अमूर्त चिन्ता पनि । तत्काल मसँग त्यसको उत्तर थिएन । सायद उहाँलगायत उपस्थित अरूहरूसँग पनि थिएन ।
मलाई लाग्यो त्यो ‘तर…’ एउटा सम्बोधनयोग्य विषय हो । विश्लेषण र विवेचनाको पाटो पनि हो । यो पाटोको विश्लेषण र विवेचना गर्नका लागि काभ्रे जिल्ला एउटा जीवन्त प्रयोगशाला पनि हो, बौद्धिक ल्याब हो काभ्रे । शब्दयात्रा प्रकाशनजस्तै सशक्त अर्को साहित्यिक प्रतिष्ठान काभ्रेमा जनमत प्रकाशन छ । जनमत प्रकाशनको कार्यक्रममा पनि दर्शकदीर्घामा बस्ने चिन्तकहरूले यस्तै चिन्ता प्रकट गर्ने गर्दछन् — साहित्यसर्जक मोहन दुवालपछि को त ? भन्ने । शिक्षासेवी चन्द्रबहादुर खड्काको नेतृत्व रहेको सुभाष स्मृति प्रतिष्ठानका लागि पनि यस्तै प्रश्न उठ्छ । यो प्रश्नको चित्तबुझ्दो जवाफ न हरि मञ्जुश्री र मोहन दुवालसँग छ, न त चन्द्रबहादुर खड्कासँग नै छ । यस्तै अन्य दृष्टान्तहरूमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताललाई पनि लिन सकिन्छ, लिनुपर्ने हुन्छ । काठमाडौँ विश्वविद्यालयका संस्थापक डा. सुरेशराज शर्मापछि विश्वविद्यालय कसरी चलिरहेको छ, त्यो त ज्ञात नै छ । अनि धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठपछि धुलिखेल अस्पताल पनि कसरी चल्ला, हामी सहजै अनुमान गर्न सक्छौँ । यस्ता उम्दा संस्थाहरू संस्थापकहरूको कालखण्डपछि कसरी चले, चलेनन्, के हविगत भयो भन्ने कुराको उदाहरणका लागि दिङ्ला भोजपुरको आबाल ब्रह्मचारी गुरु षडानन्द अधिकारीको संस्कृत पाठशाला, गुल्मीमा दधिराम मरासिनीको पाठशाला, तुलसीमेहर श्रेष्ठको गान्धी स्मारक महागुठी आदिको नाम लिन सकिन्छ । दुई छिमेकी राष्ट्रतिर नियाल्ने हो भने मित्रराष्ट्र भारतमा धेरै नेताहरू भए, एकसेएक भए, आए, गए, छन् पनि । तर सबैका मनमा अनि मुद्रामा महात्मा गान्धी नै छन् । त्यस्तै मित्रराष्ट्र चीनमा धेरै राजनेताहरू जन्मिए । तिनका नामबाट वाद अनि पथ नै चले । तर कन्फ्युसस भनेका कन्फ्युसस नै हुन् ।
नेपाली भाषामा दुइटा शब्द छन् सुन्दा उस्तै–उस्तै त हो नि जस्तो लाग्ने — स्रष्टा र द्रष्टा । यी दुईको अर्थमा ठूलो भिन्नता छ । सपना सबैले देख्छन्, सानो वा ठूलो । सपना देख्नेहरू स्वप्नद्रष्टा हुन् । तर अरूलाई सपना देखाउने, लोकलाई सपना देखाउन सक्नेहरू स्वप्नस्रष्टा हुन्, स्वप्नद्रष्टा होइनन् । वेदका मन्त्रहरूका सन्दर्भमा प्राचीन ऋषिमुनिहरू मन्त्रद्रष्टा ऋषिहरू हुन्, मन्त्रस्रष्टा होइनन् । जस्तै महामन्त्र गायत्रीका मन्त्रद्रष्टा ऋषि विश्वामित्र हुन् । वैदिक मन्त्रहरूका मन्त्रस्रष्टाचाहिँ परब्रह्म परमात्मा हुन्, जसलाई ब्रह्म भनिन्छ । त्यसैले वेदलाई अपौरुषेय भनिएको हो ।
कुनै पनि संस्थामा संस्थापकहरू स्रष्टाजस्ता भइदिए भने ती संस्थाहरूले त्यस्तै उत्तराधिकारीहरू नपाउन सक्छन्, पाउँदैनन् । त्यो स्वाभाविकै हो । पृथ्वीनारायण शाहकै कुरा गर्दा राजा (पद वा गद्दी) का उत्तराधिकारीहरू भए, धेरै भए, आए, गए । नफर्कने गरी पनि गए । तर राष्ट्रनिर्माताको उत्तराधिकारी हुँदैन । त्यसैले त्यस्ता स्रष्टाहरूको उत्तराधिकारीको अपेक्षा पनि गर्नु हुँदैन कि ? राजनीतिक दलहरूकै कुरा गर्दा जेठो दल नेपाली काङ्ग्रेसको सभापति पदका धेरै उत्तराधिकारीहरू भए, छन्, हुनेछन् । तर बीपी कोइरालाका उत्तराधिकारी जन्मेनन्, देखिएनन् । त्यस्तै कम्युनिस्ट पार्टीहरूमा धेरै महासचिवहरू भए । तर मदन भण्डारीका उत्तराधिकारी देखिएनन् । काभ्रे जिल्लाकै सन्दर्भमा भन्नुपर्दा यहाँ धेरै मेयरहरू भए, अहिले पनि पाँच थान मेयरहरू छन् । तर साँच्चिकै नगरपिताको नाम लिनुपर्दा बेलप्रसाद श्रेष्ठकै नाम लिने गरिन्छ ।
धार्मिक सङ्घसंस्था, मठमन्दिर, आश्रमहरूमा पनि महन्तहरूका उत्तराधिकारी हुन्छन्, संस्थाहरू अटुट र अविच्छिन्न पनि हुन्छन् । तर सन्त (संस्थापक सन्त रहेछन् भने) का चाहिँ उत्तराधिकारी पाइँदैनन् । त्यसैले उम्दा संस्थाहरूमा संस्थापक स्रष्टाहरूको फोटोकपी उत्तराधिकारीको अपेक्षा त्यति सहज हुँदैन ।

शब्दयात्रा : शब्दको यात्रा

0

बनेपाको अग्रणी प्रकाशन संस्था ‘शब्दयात्रा प्रकाशन’ (जसले स्थापनाको आठ वर्षको अवधिमा विभिन्न विधाका १३६ वटा पुस्तक प्रकाशित गरेको छ, १३६ जना राष्ट्रिय व्यक्तित्वलाई सम्मान गरेको छ र पाँचजना अग्रज व्यक्तित्वको सालिक आफ्नै जग्गामा स्थापना गरेको छ) ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरिक भइयो । ४५ वर्ष शिक्षणसेवा गर्नुभएका लेखक चूडाप्रसाद चौलागाईको लेखसङ्ग्रह ‘विषय र विवेचना’ लाई २०७६÷११÷१७ शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सार्वजनिक गरियो ।
मेरा प्रिय पुराना मित्र हरि मञ्जुश्रीले बनेपामा पुस्तक प्रकाशन, पुस्तकालय स्थापना, ऐतिहासिक लब्धप्रतिष्ठित व्यक्तित्वका सालिक स्थापना, मन्दिर निर्माण जस्ता विविध रचनात्मक गतिविधिद्वारा सबैको सहयोग, समर्थन र माया कमाउनुभएको छ ।
पुस्तक सार्वजनिक गरेपछि मैले व्यक्त गरेका विचारका केही बान्की यस्ता थिए —
विचारको घोडा मात्र होइन, शब्द ब्रह्म हो, शब्द नै शक्ति हो । यो शाश्वत सत्यलाई आदरणीय मित्र हरि मञ्जुश्रीले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले आफ्ना प्रकाशनको नाममा ‘शब्द’ लाई विशेष मूल्य र महàव दिनुभएको छ । एउटा शब्दको गलत उपयोगले कति फरक पार्छ भन्ने कुरा उदाहरणबाट म भन्न चाहन्छु ।
अमेरिकी राजदूत स्कट एच. डेलिसीले तिब्बती शरणार्थीको पक्षमा ५ मङ्सिर २०६८ मा लेखेको लेख ‘कान्तिपुर’ ले छाप्दा ‘नेपाल सरकार र उसका नेपाली जनताले तिब्बती शरणार्थीहरूलाई ‘अमानवीय’ (हुनुपर्ने ‘अमापनीय’) सहयोग प्रदर्शन गरेका छन्’ भएर छापिएको र पछि सच्याएको मैले पाएको थिएँ ।
अर्को उदाहरण ः पाकिस्तानका सैनिक शासक जनरल जिया उल–हकले समकालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई पठाएको जन्मदिनको शुभकामना सन्देशमा ‘सस्पिसियस’ (हुनुपर्ने ‘अस्पिसियस’) भएको थियो ।
दिमाग निचोरेर विचार निकाल्नु, त्यसलाई सुन्दर फूलझैँ पुस्तकमा माला जसरी उनेर सजाउनु, पाठककहाँ पु¥याउनु, र पाठकले रुचाउने पुस्तक प्रकाशित भएको जानकारी पाएर किन्ने उत्कट इच्छाको वातावरण सिर्जना गर्नु लरतरो काम होइन ।
कतिपय पुस्तक राम्रा भएर पनि बजार पाउँदैनन् । इतिहासमा आधारित डाइमन्ड शम्शेरको प्रसिद्ध उपन्यास ‘सेतो बाघ’ प्रकाशित भएको २५ वर्षसम्म त्यसले कुनै आशा–उत्साह नजगाएको कुरा उहाँले नै बताउनुभएको हो ।
ज्ञान र विज्ञानमा फरक छ । ज्ञानले भन्छ, रगत सबैको समान हो, सबैको रगत एउटै हो । तर विज्ञानले भन्छ, होइन । रगत सबैको समान हुनै सक्दैन । रगत विभिन्न ग्रुपमा हुन्छ । ए ग्रुपको रगत बि ग्रुपको रगत भएको मानिसमा दिइयो भने रगत पाउने मान्छे मर्छ ।
मानिस आज प्राकृतिक रुपमा आफ्नै मौलिक चिन्तनबाट जन्मेको बुद्धिमा भन्दा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मा बढ्तै आश्रित हुन थाल्यो । आफ्नै बुद्धिको प्राकृतिक मान्छे मर्दै गएको छ, कृत्रिम बौद्धिकताको गुलाम भएको प्राविधिक मानव बाँचेको छ । पुस्तकले मानिसको मौलिक चिन्तनलाई प्रबद्र्धन र परिमार्जित गर्छ ।
बीपी भन्नुहुन्थ्यो, ‘राजनीतिमा म समाजवादी हुँ, तर साहित्यमा अराजकतावादी हुँ । साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।’ बीपीले भन्नुभएको साहित्य अराजकतावादी स्वच्छन्दतावादी वा निर्बन्ध हो । निवन्ध लेखन बन्धनमुक्त, उन्मुक्त हुनुपर्ने मान्यताले नै निर्बन्ध वा निबन्ध भएको हो ।
म माक्र्सवादी प्रभावका रचना पढ्ने गर्छु । कतिपय माक्र्सवादीसँग मेरो असल दोस्ती छ, कुरा पनि हुन्छ । उहाँहरूको समस्या म बुझ्छु । उहाँहरूका चिन्तनको उत्कृष्टताले उन्मुक्त विचारको फराकिलो सेरोफेरो खोज्छ, तर उहाँहरू त्यस्तो उन्मुक्तता अपनाउन थाल्नुभयो भने म माक्र्सवादी कहलाइन्न कि ! बुर्जुवा चिन्तन हावी भएको मानिएला कि ! यस्तो डरको मनोविज्ञान पनि छ त्यहाँ ।
लेख्न छोड्नु हुन्न । यो निरन्तर र अनन्त क्रिया हो ।