पृष्ठभूमि :
शब्दयात्रा प्रकाशनबाट नियमित रूपमा प्रत्येक हप्ता प्रकाशित हुने ८ पृष्ठको ‘नेपालभूमि’ पत्रिकाको यो अङ्क विशेषाङ्कका रूपमा प्रकाशित भएको छ । राष्ट्र, राष्ट्रियता र मानवताप्रति समर्पित, नैतिकता र मानवताप्रति प्रतिबद्ध, सकारात्मक सोचको संवाहक, सामाजिक सन्तुलनप्रति कटिबद्ध, अक्षरकर्मी र अक्षरसेवीहरूको सहयोगी हुने प्रतिबद्धताका साथ प्रकाशित अङ्क वर्ष ३७, अङ्क ४१, पूर्णाङ्क १८०६, मूल्य रु. १० को यस पत्रिकाको संरक्षक हरि मञ्जुश्री र सम्पादक रश्मि हुमागाईं हुनुहुन्छ ।

सम्मानित व्यक्तिहरू :
विशेष अङ्कका रूपमा प्रकाशित यो पत्रिकामा २०७६ साल माघ २५ गते काभ्रे जिल्लामा हुने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहसम्बन्धी विविध जानकारीमूलक विवरणहरू समावेश गरिएका छन् । उक्त कार्यक्रममा ६ जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गरिने र ५ वटा पुस्तक सार्वजनिक गरिने कुरा उल्लेख छ । सम्मानित हुने ६ जना व्यक्तित्वहरू क्रमश: रागिनी उपाध्याय, डा. भोला थापा, प्रा. राजेन्द्र सुवेदी, प्रा. रामकुमार पाँडे, डा. रमेशचन्द्र अधिकारी र डिल्लीराम मिश्र हुनुहुन्छ । उल्लिखित राष्ट्रिय व्यक्तित्वहरूको फोटोसहित सङ्क्षिप्त जीवनी पनि प्रकाशित गरिएको छ । यसरी नै चयन समितिका सदस्यहरू संयोजक माधवप्रसाद आचार्य, सदस्य चूडाप्रसाद चौलागाई र सदस्य माधव पराजुलीसमेत ३ जनाको सङ्क्षिप्त परिचयका साथ फोटाहरू पनि छापिएका छन् ।

आर्थिक व्यवस्थापकहरू :

सम्मान गरिने सम्मानका ६ जना व्यवस्थापकहरूमा शब्दयात्रा विज्ञान–प्रविधि सम्मानका आर्थिक व्यवस्थापक रामकृष्ण स्मृति प्रतिष्ठान, शब्दयात्रा फोटो पत्रकारिता सम्मानका व्यवस्थापक हरिगोपाल प्रधान, शब्दयात्रा बालसाहित्य सम्मानका आर्थिक व्यवस्थापक गोपाल पराजुली, शब्दयात्रा कविताकाव्य सम्मानका आर्थिक व्यवस्थापक कविप्रसाद प्याकु¥याल, शब्दयात्रा महिला प्रतिभा सम्मानका आर्थिक व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठ र शब्दयात्रा अनुुुसन्धान सम्मानका आर्थिक व्यवस्थापक राजेन्द्र विरहीसमेत ६ जनाको सम्मानसम्बन्धी सङ्क्षिप्त परिचयका साथ फोटा पनि छापिएका छन् । २०६८ देखि २०७६ सालको हालसम्म १८ वटा विभिन्न नामका सम्मानहरू १३६ जनालाई प्रदान गरिसकिएको छ ।

पत्रिकामा प्रकाशित रचनाकारहरू :
यस वर्ष ‘नेपालभूमि’ मा २१८ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरूका विभिन्न लेखरचनाहरू ८०४ वटा प्रकाशित भइसकेको देखिन्छ । २१८ जनामध्ये राष्ट्रकवि माधवप्रसाद घिमिरे, डा. सत्यमोहन जोशी, डा. सुरेशराज शर्मा, तेजेश्वरबाबु ग्वंग:, प्रा. सुरेशराज चालिसे, मोदनाथ प्रश्रित, बुद्धिनारायण श्रेष्ठ, जनकलाल शर्मा, मुकुन्दप्रसाद उपाध्याय, डा. इन्दुल केसी, ज्ञानकाजी मानन्धर आदि पनि हुनुहुन्छ । यसरी नै लेखिकाहरूमा गीता मञ्जुश्री, पुण्यवती घले, नवीना श्रेष्ठ, अनिता भण्डारी, भवानी पाण्डे, सङ्गीता रेग्मीलगायत धेरैजना हुनुहुन्छ ।
उक्त २१८ जना रचनाकारहरूमा ३० जना डाक्टरहरू हुनुहुन्छ, यसरी नै ज्योतिषी, पण्डित, स्वामी, योगगुरु, इन्जिनियर, प्राध्यापक, चित्रकलाकार, गायक, शिक्षक, प्राध्यापक, प्रशासक, राजनीतिकर्मी, समालोचक, कथाकार, निबन्धकार, गजलकार, मुक्तककार, लेखक, कवि, उपन्यासकार इत्यादि विविध विधाका रचनाकारहरू हुनुहुन्छ ।

प्रस्तुत अङ्कमा रहेका रचना र रचनाकारहरू :
१. प्रा. डा. रामकृष्ण माकजू श्रेष्ठ (भीडतन्त्रबाट देश असफल हुन्छ), २) सुनील सापकोटा (वसन्त उत्सव कि सरस्वती पूजा ?), ३. एकप्रसाद दुवाडी (सुन माने गोल्ड), ४. डा. दुर्गा दाहाल (एमसीसी र बेचेर खाने राष्ट्रियता), ५. चन्द्रमणि गौतम (माघ २६ गते), ६. रामप्रसाद खनाल (काङ्ग्रेस अझै थला पर्छ), ७. प्रा. सुरेशराज चालिसे (ग्रामोफोन उपहार), ८. श्रीधर प्याकुरेल (बिरालाको निसाफ), ९. पदम दाहाल (दुरुस्तै ऊ मान्छे), १०. पुण्यवती घले (मुक्तक), ११. अनिता भण्डारी पौडेल (गजल), १२. गोविन्दबहादुर खड्का (शब्दयात्रा अमृतवाणी), १३. डा. इन्दुल केसी (भजन गरौं), १४. सम्पादकीय (शब्दयात्रासम्बन्धी विशेषाङ्क) ।

सूचना, समाचार र विज्ञापन :
यस अङ्कमा नेपाल सरकार सूचना तथा प्रसारण विभागको सूचना १, विभिन्न ६ वटा विज्ञापनहरू र शब्दयात्रा प्रकाशनको पुस्तकालयका लागि भारतीय राजदूतावासले रु. ४० हजारका विभिन्न किताब खरिद गर्न सहयोग प्रदान गरेको समाचारका साथै नेपाल साहित्य मन्दिरको भक्तपुरमा सम्पन्न वार्षिक कार्यक्रमसम्बन्धी समाचार पनि रहेको छ ।
अन्तमा ‘नेपालभूमि समाऊँ नेपाली भूमिमै रमाऊँ’ भन्ने आकर्षक भनाइ पनि यस पत्रिकामा रहेको छ ।