हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
हामीलाई उत्साहित बनाउन प्रमुख आतिथ्य ग्रहण गरिदिनुभएकोमा अग्रज समाजसेवी, साहित्यकार तथा नेपालको प्रथम महिला महाप्रबन्धक श्रीमती सावित्री जङ्गम थापा र आतिथ्य ग्रहण गरिदिनुभएकोमा काभ्रे जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं र समीक्षक डा. यज्ञेश्वर निरौलालाई हृदयदेखि नै स्वागत गर्दछु ।
यस संस्थाबाट जेठ महिनामा ६ विधामा, असोज महिनामा ६ विधामा र माघ महिनामा ६ विधामा गरी हरेक वर्ष विभिन्न १८ विधाका सम्मानहरू समर्पण गरिन्छन् । त्यस्ता कार्यक्रमहरूमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरू सार्वजनिक पनि गरिन्छन् । तीमध्ये हरेक वर्षको माघ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरू २०७६ साल माघका लागि आज समर्पण गरिँदैछन् । आजै ५ वटा पुस्तकलाई सार्वजनिक गरिँदैछ ।
शब्दयात्रा प्रकाशनको स्थापना भएको अहिले १०१ महिना भयो । यस अवधिमा आज गरिने सम्मानसमेत जोड्दा यस संस्थाबाट सम्मानित व्यक्तिको सङ्ख्या १३६ पुगेको छ भने आज सार्वजनिक गरिने कृतिसमेत जोड्दा प्रकाशित कृतिको सङ्ख्या पनि १३६ नै पुगेको छ ।
आजको समारोहमा द्रोणप्रसाद श्रेष्ठद्वारा धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान चित्रकलाकार रागिनी उपाध्याय ‘ग्रेला’ लाई, निर्मला श्रेष्ठको सक्रियतामा रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा विज्ञान–प्रविधि सम्मान प्रविधिविज्ञ प्रा. डा. भोला थापालाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान समालोचक प्रा. राजेन्द्र सुवेदीलाई समर्पण गरिँदैछ । यसै गरी गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान बालसाहित्यकार प्रा. रामकुमार पाँडेलाई, कविप्रसाद प्याकुरेलद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीलाई र राजेन्द्र विरहीद्वारा आफ्ना शिक्षासेवी तथा साहित्यकार पिता जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता डिल्लीराम मिश्र ‘श्रमजीवी’ लाई समर्पण गरिँदैछ ।
यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा रागिनी उपाध्याय ग्रेला, प्रा. डा. भोला थापा, प्रा. राजेन्द्र सुवेदी, प्रा. रामकुमार पाँडे, डा. रमेशचन्द्र अधिकारी र डिल्लीराम मिश्र ‘श्रमजीवी’ प्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
सम्मानित प्रतिभाहरूको चयन माधवप्रसाद आचार्यको संयोजकत्वमा चूडाप्रसाद चौलागाईं र माधव पराजुली सदस्य रहनुभएको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति पनि यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा प्रजापति तिमिल्सिनाद्वारा लिखित ‘विधवा वासना’ उपन्यास, सविता शर्माद्वारा लिखित ‘कवितामा सविता’ कवितासङ्ग्रह, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र’, निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ स्मृतिनिबन्ध र पुण्यवती घलेद्वारा सम्पादित ‘पच्चीस कृति र कृतिकार’ परिचयसङ्ग्रहलाई सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराइदिनुभएकोमा उहाँहरूप्रति पनि यो संस्था आभारी छ ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकालाई २०७५ साल माघ १५ गतेदेखि २०७६ साल माघ १४ गतेसम्मको १ वर्षभित्र १० भन्दा बढी लेखरचना उपलब्ध गराइदिने लेखकहरूलाई आजैको कार्यक्रममा उपहार प्रदान गरिनेछ । सबै लेखकहरूप्रति हामी आभार व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशनलाई अघि बढ्न हरेक प्रकारको सहयोग गरेकोमा नीलकण्ठेश्वरधाम संरक्षण समितिप्रति यो संस्था धन्यवाद ज्ञापन गर्दछ ।
आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै पुनः स्वागत गर्न चाहन्छु ।
(स्वागत मन्तव्यबाट)