शब्दयात्रा प्रकाशनको १ सय ३८ औँ पुस्तकका रूपमा प्रकाशित ‘श्यामसुन्दर भजनमाला’ नामक त्रिभाषी भजनसङ्ग्रह सार्वजनिक भएको छ । डा. इन्दुल केसीद्वारा सङ्कलित तथा सम्पादित उक्त पुस्तक स्व. गोविन्दमानसिंह राजभण्डारी, महेशचन्द्र शर्मा, पशुपतिमान पःमाँ, ज्यो. पं. रमेश अधिकारी, डा. इन्दुल केसी र हरि मञ्जुश्रीद्वारा लिखित नेपाली, नेवारी र हिन्दी भाषाका ४५ वटा भजनहरूको सङ्ग्रह हो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शब्दयात्रा प्रकाशनकै सभाकक्षमा आयोजित कार्यक्रममा उक्त पुस्तकलाई सार्वजनिक गरिएको हो ।
प्राञ्जल नेपाल नामक साहित्यिक संस्थाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतम र उपाध्यक्ष जीवनाथ अधिकारीले संयुक्त रूपमा ‘श्यामसुन्दर भजनमाला’ लाई सार्वजनिक गर्नुभएको थियो । डा. इन्दुल केसीले सम्पादकीय मन्तव्य, मच्छेश्वर सापकोटाले सभाविसर्जन, जीवनाथ अधिकारी, पदम दाहाल र केवल कार्कीले कविता वाचन, ज्यो. पं. रमेश अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिव बन्जाराले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो भने विक्रम देउबन्जारले भक्तपुरस्थित वाराहीपीठ विकास समितिका तर्फबाट पुस्तकका लागि ५ हजार १५ रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको थियो । डा. इन्दुल केसी र पं. रमेश अधिकारीले आफूले लेखेका एक–एकवटा भजन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ८ औँ शृङ्खलाका रूपमा सम्पन्न भएको थियो । कार्यक्रममा शारदाप्रसाद शर्मा, सङ्गीता केसी, पुण्यवती घले, पूर्णबहादुर कार्की, छविलाल कुइँकेल, सहदीप पलान्चोके, शकुन्तला बन्जारा, चूडाप्रसाद चौलागाई, निर्मला श्रेष्ठ, नवराज पराजुली, चन्द्रबहादुर खड्का, साधुराम गिरी आदिको पनि उपस्थिति रहेको थियो ।