Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesशब्दयात्रामा उत्तराधिकारी को ?

शब्दयात्रामा उत्तराधिकारी को ?

गत २०७६ साल माघ महिनाको २५ गते शनिबार काभ्रेको धुलिखेलमा एक भव्य तर गैरराजनीतिक कार्यक्रम सम्पन्न भयो । त्यस दिन शब्दयात्रा प्रकाशनले स्रष्टा सम्मान तथा कृतिहरूको सार्वजनिकीकरण कार्यक्रम राखेको थियो । सरकारी अनुदान र राजनीतिक नेताहरूको उपस्थिति नभएकाले नै त्यो कार्यक्रम भव्य हुनुका साथै सभ्य पनि थियो । राजनीतिक र सरकारी कार्यक्रमहरू प्रायः भव्य मात्र हुन्छन् । शब्दयात्रा प्रकाशनले विगत साढे ८ वर्षदेखि प्रत्येक वर्ष तीन–तीनपटक यस्तै भव्य र सभ्य कार्यक्रमहरू काभ्रे जिल्लामा गर्ने गर्दछ । यी सबैका पछाडि ग्रन्थसम्पादक तथा साहित्यकार हरि मञ्जुश्रीको अथक परिश्रम र साधना छ ।
कार्यक्रम भइरहँदा दर्शकदीर्घामा यो पङ्क्तिकार र साहित्यकार गोपाल पराजुली सँगसँगै बसेका थियौँ । उहाँले कार्यक्रमको भव्यता, शालीनता र गरिमामय सहभागितालाई देखेर गदगद हुँदै ‘तर…’ का बारेमा हल्का चिन्ता प्रकट गर्नुभयो । उहाँको ‘तर…’ थियो शब्दयात्रा प्रकाशनमा हरि मञ्जुश्रीको उत्तराधिकारी को त ? भन्ने । यो उहाँको गहन र मननीय जिज्ञासा थियो, र थियो अमूर्त चिन्ता पनि । तत्काल मसँग त्यसको उत्तर थिएन । सायद उहाँलगायत उपस्थित अरूहरूसँग पनि थिएन ।
मलाई लाग्यो त्यो ‘तर…’ एउटा सम्बोधनयोग्य विषय हो । विश्लेषण र विवेचनाको पाटो पनि हो । यो पाटोको विश्लेषण र विवेचना गर्नका लागि काभ्रे जिल्ला एउटा जीवन्त प्रयोगशाला पनि हो, बौद्धिक ल्याब हो काभ्रे । शब्दयात्रा प्रकाशनजस्तै सशक्त अर्को साहित्यिक प्रतिष्ठान काभ्रेमा जनमत प्रकाशन छ । जनमत प्रकाशनको कार्यक्रममा पनि दर्शकदीर्घामा बस्ने चिन्तकहरूले यस्तै चिन्ता प्रकट गर्ने गर्दछन् — साहित्यसर्जक मोहन दुवालपछि को त ? भन्ने । शिक्षासेवी चन्द्रबहादुर खड्काको नेतृत्व रहेको सुभाष स्मृति प्रतिष्ठानका लागि पनि यस्तै प्रश्न उठ्छ । यो प्रश्नको चित्तबुझ्दो जवाफ न हरि मञ्जुश्री र मोहन दुवालसँग छ, न त चन्द्रबहादुर खड्कासँग नै छ । यस्तै अन्य दृष्टान्तहरूमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताललाई पनि लिन सकिन्छ, लिनुपर्ने हुन्छ । काठमाडौँ विश्वविद्यालयका संस्थापक डा. सुरेशराज शर्मापछि विश्वविद्यालय कसरी चलिरहेको छ, त्यो त ज्ञात नै छ । अनि धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठपछि धुलिखेल अस्पताल पनि कसरी चल्ला, हामी सहजै अनुमान गर्न सक्छौँ । यस्ता उम्दा संस्थाहरू संस्थापकहरूको कालखण्डपछि कसरी चले, चलेनन्, के हविगत भयो भन्ने कुराको उदाहरणका लागि दिङ्ला भोजपुरको आबाल ब्रह्मचारी गुरु षडानन्द अधिकारीको संस्कृत पाठशाला, गुल्मीमा दधिराम मरासिनीको पाठशाला, तुलसीमेहर श्रेष्ठको गान्धी स्मारक महागुठी आदिको नाम लिन सकिन्छ । दुई छिमेकी राष्ट्रतिर नियाल्ने हो भने मित्रराष्ट्र भारतमा धेरै नेताहरू भए, एकसेएक भए, आए, गए, छन् पनि । तर सबैका मनमा अनि मुद्रामा महात्मा गान्धी नै छन् । त्यस्तै मित्रराष्ट्र चीनमा धेरै राजनेताहरू जन्मिए । तिनका नामबाट वाद अनि पथ नै चले । तर कन्फ्युसस भनेका कन्फ्युसस नै हुन् ।
नेपाली भाषामा दुइटा शब्द छन् सुन्दा उस्तै–उस्तै त हो नि जस्तो लाग्ने — स्रष्टा र द्रष्टा । यी दुईको अर्थमा ठूलो भिन्नता छ । सपना सबैले देख्छन्, सानो वा ठूलो । सपना देख्नेहरू स्वप्नद्रष्टा हुन् । तर अरूलाई सपना देखाउने, लोकलाई सपना देखाउन सक्नेहरू स्वप्नस्रष्टा हुन्, स्वप्नद्रष्टा होइनन् । वेदका मन्त्रहरूका सन्दर्भमा प्राचीन ऋषिमुनिहरू मन्त्रद्रष्टा ऋषिहरू हुन्, मन्त्रस्रष्टा होइनन् । जस्तै महामन्त्र गायत्रीका मन्त्रद्रष्टा ऋषि विश्वामित्र हुन् । वैदिक मन्त्रहरूका मन्त्रस्रष्टाचाहिँ परब्रह्म परमात्मा हुन्, जसलाई ब्रह्म भनिन्छ । त्यसैले वेदलाई अपौरुषेय भनिएको हो ।
कुनै पनि संस्थामा संस्थापकहरू स्रष्टाजस्ता भइदिए भने ती संस्थाहरूले त्यस्तै उत्तराधिकारीहरू नपाउन सक्छन्, पाउँदैनन् । त्यो स्वाभाविकै हो । पृथ्वीनारायण शाहकै कुरा गर्दा राजा (पद वा गद्दी) का उत्तराधिकारीहरू भए, धेरै भए, आए, गए । नफर्कने गरी पनि गए । तर राष्ट्रनिर्माताको उत्तराधिकारी हुँदैन । त्यसैले त्यस्ता स्रष्टाहरूको उत्तराधिकारीको अपेक्षा पनि गर्नु हुँदैन कि ? राजनीतिक दलहरूकै कुरा गर्दा जेठो दल नेपाली काङ्ग्रेसको सभापति पदका धेरै उत्तराधिकारीहरू भए, छन्, हुनेछन् । तर बीपी कोइरालाका उत्तराधिकारी जन्मेनन्, देखिएनन् । त्यस्तै कम्युनिस्ट पार्टीहरूमा धेरै महासचिवहरू भए । तर मदन भण्डारीका उत्तराधिकारी देखिएनन् । काभ्रे जिल्लाकै सन्दर्भमा भन्नुपर्दा यहाँ धेरै मेयरहरू भए, अहिले पनि पाँच थान मेयरहरू छन् । तर साँच्चिकै नगरपिताको नाम लिनुपर्दा बेलप्रसाद श्रेष्ठकै नाम लिने गरिन्छ ।
धार्मिक सङ्घसंस्था, मठमन्दिर, आश्रमहरूमा पनि महन्तहरूका उत्तराधिकारी हुन्छन्, संस्थाहरू अटुट र अविच्छिन्न पनि हुन्छन् । तर सन्त (संस्थापक सन्त रहेछन् भने) का चाहिँ उत्तराधिकारी पाइँदैनन् । त्यसैले उम्दा संस्थाहरूमा संस्थापक स्रष्टाहरूको फोटोकपी उत्तराधिकारीको अपेक्षा त्यति सहज हुँदैन ।