शब्दयात्रा प्रकाशनको सातौँ वार्षिक साधारणसभा यही २०७७ साल पुस ४ गते तदनुसार १९ डिसेम्बर २०२० का दिन शनिबार वसन्तपञ्चमीका दिन सम्पन्न गरियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त सभा बनेपा नीलकण्ठेश्वर अक्षरधाममा रहेको शब्दयात्रा प्रकाशनको सभाकक्षमा दिउँसो १ बजे प्रारम्भ भएको थियो ।
शब्दयात्रा प्रकाशनले सालिक स्थापना गरेका विशिष्ट पाँच व्यक्तित्वमध्येका ज्येष्ठ व्यक्तित्व प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारीको जन्मजयन्ती वसन्तपञ्चमीकै दिन भएकाले साधारणसभामा उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्य केदारनाथ तिमल्सिनाले षडानन्द अधिकारीको सालिकमा रुद्राक्षको माला अर्पण गरेपछि कार्यक्रमलाई औपचारिक स्वरूप दिइएको थियो । महाप्रबन्धक शारदाप्रसाद शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको प्रारम्भमा उपस्थित सदस्यमध्ये कनिष्ठ सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । पण्डित रमेश अधिकारीले स्वस्तिवाचन गर्नुभएको उक्त साधारणसभामा शिव बन्जारा, नवीना श्रेष्ठ, हरिगोपाल प्रधान, सकुल थापा, सुमन खड्का, निर्मला श्रेष्ठ, पुण्यवती घले र वेदप्रसाद गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो भने सङ्गीता केसीले व्यवस्थापन पक्ष सम्हाल्नुभएको थियो ।
साधारणसभामा विभिन्न प्रस्तावहरू पारित गरिएका थिए । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको थियो भने लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ साल असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७६–७७ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण र सोका अनुसूचीहरू पनि पारित गरेको थियो । यसै गरी सो साधारणसभाले आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय विवरण पनि पारित गरेको थियो ।
सो साधारणसभा २०७७ साल कार्तिक १६ गते आइतबार बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम सम्पन्न भएको थियो । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य २१ जना हुनुहुन्छ ।