ज्ञान उदासलाई पुरस्कृत गरिने
‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रह सार्वजनिक
शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रको आयोजनामा भक्तपुरको ठिमीमा आयोजित विशेष समारोहमा ‘शब्दचित्रमा हामी’ नामक कवितासङ्ग्रह सार्वजनिक गरियो । डा. इन्दुल केसी, पदम दाहाल, सुनील सापकोटा, जीवनाथ अधिकारी, पुण्यवती घले, डिल्लीराम गौतम र निर्मला श्रेष्ठ रहनुभएको सात सदस्यीय सम्पादक मण्डलको संयुक्त सम्पादनमा शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ नामक कवितासङ्ग्रह १ सय २४ पृष्ठको छ । यस सङ्ग्रहमा ‘शब्दचित्रमा म’ शीर्षकका ३७ वटा कविता सङ्कलित छन् ।
मध्यपुर ठिमी नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्य र अग्रज सञ्चारकर्मी एवं साहित्यकार शान्ता श्रेष्ठ तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको विशेष आतिथ्य रहेको उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमले, सञ्चालन सदस्य जीवनाथ अधिकारीले, स्वागत भाषण सदस्य पदम दाहालले, धन्यवाद ज्ञापन सदस्य सुनील सापकोटाले र पुस्तकका विषयमा परिचयात्मक टिप्पणी सदस्य डा. इन्दुल केसीले गर्नुभएको थियो । ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रहका विषयामा डा. देवी नेपालले समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुरका कवि बुद्धिकुमार घो श्रेष्ठद्वारा लिखित ‘देश दुखेको बेला’ कवितासङ्ग्रह र ललितपुरका कवि भक्तबहादुर नेपालीद्वारा लिखित खण्डकाव्य ‘सुन्तली’ लाई पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका ती कृतिहरूका विषयमा डा. कृष्णप्रसाद घिमिरे, डा. फणीन्द्र निरौला, डा. जगदीशचन्द्र भण्डारी र डा. यज्ञेश्वर निरौलाले टिप्पणी गर्नुभएको थियो ।
‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रहमा पशुपतिमान पःमाँ, डा. इन्दुल केसी, भक्तबहादुर नेपाली, लोकमान मास्के, ढुण्डिराज पोखरेल, हरिभक्त सिग्देल, पदम दाहाल, नवीना श्रेष्ठ, लालबहादुर भुजेल, रमेश अधिकारी, शारदाप्रसाद शर्मा, सुनील सापकोटा, प्रकाश खड्का, हरि मञ्जुश्री, कलानिधि दाहाल, जीवनाथ अधिकारी, उद्धवप्रसाद भट्टराई चैतन्यदीप, माधवप्रसाद पोखरेल गोज्याङ्ग्रे, पुण्यवती घले, साधुराम गिरी, गीता मञ्जुश्री, डिल्लीराम गौतम, निर्मला श्रेष्ठ, केबी सम्राट, बुद्धिकुमार घो, रश्मि भट्ट, डा. देवी नेपाल, सीता सुवेदी पन्थी, डिल्लीराम ढकाल, डा. राजेन्द्र कोजू, हरिसुन्दर पोतामाहा, वीरजा घिमिरे, विमला पोखरेल, लक्ष्मी तिवारी, नगेन्द्रप्रसाद आचार्य ‘विरामरशिम’ र बासमती राना थारूका कविता रहेका छन् ।
कार्यक्रमका लागि मध्यपुर ठिमी नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
‘कर्मयोद्धासँग शब्दसंवाद’ मा सहकारीको चर्चा
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सञ्चालित ‘कर्र्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा गत शुक्रबार सम्पर्क केन्द्रका सदस्य दीपक तिमल्सिनाले प्रवचन गर्नुभयो । उहाँको प्रवचनको विषय काभ्रेपलान्चोक जिल्लाका सहकारी संस्थाहरूको स्थितिका विषयमा रहेको थियो । कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले र समीक्षा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पनि उपस्थित हुनुहुन्थ्यो ।
पुस्तकालयलाई पुस्तक उपहार
साहित्यकारहरू गायत्रीकुमार चापागाईं, डा. छत्रपति दाहाल, ढुण्डिराज पोखरेल, भक्तबहादुर नेपाली र लोकमान मास्केले आफूले लेखेका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप आफूले लेखेका पुस्तकहरू प्रदान गर्नुभएकोमा साहित्यकारहरू गायत्रीकुमार चापागाईं, डा. छत्रपति दाहाल, ढुण्डिराज पोखरेल, भक्तबहादुर नेपाली र लोकमान मास्केप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार व्यक्त गरेको छ ।
षडानन्दसम्बन्धी वृत्तचित्रमा शब्दसाधक तीर्थ
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्रमा शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दसाधक तीर्थलाई पनि समेटिएको छ । उक्त वृत्तचित्रका लागि छायाङ्कन गर्ने क्रममा एउटा टोली शब्दसाधक तीर्थमा समेत आई छायाङ्कन गर्नुका साथै शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अन्तर्वार्ता पनि लिएको थियो । उक्त वृत्तचित्रको प्रथम प्रदर्शन काठमाडौँमा गत विवाह पञ्चमीका दिन गरिएको थियो । शब्दसाधक तीर्थमा रहेका पाँच सालिकमध्ये एउटा सालिक षडानन्द अधिकारीको हो ।
शब्दयात्रा प्रकाशनबाट शशिधर तिमल्सिना स्मृतिग्रन्थ प्रकाशन गरिने
काभ्रेपलान्चोक जिल्लाको बुचाकोटका समाजसेवी शशिधर तिमल्सिनाका विषयमा स्मृतिग्रन्थ प्रकाशन गरिने भएको छ । शब्दयात्रा प्रकाशनले पुस महिनाको पहिलो सातामा प्रकाशन गरिसक्ने गरी स्मृतिग्रन्थको सम्पादन कार्य भइरहेको छ । स्मृतिग्रन्थको सम्पादन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गरिरहनुभएको छ । स्मृतिग्रन्थमा पूर्वमन्त्री केशव बडाल, पूर्वसांसद रामहरि सुवेदी, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख टीपी शर्मा तिमल्सिना आदिका लेखहरूका साथै अन्य विभिन्न ऐतिहासिक सामग्रीहरू रहेका छन् । काभ्रेपलान्चोक जिल्लामा शशिधर तिमल्सिना भकुन्डे क्षेत्रको विकासका लागि स्मरणीय व्यक्ति हुनुहुन्थ्यो ।
विश्वभरिको सभ्यतामा हिन्दूहरूको प्रभावका विषयमा प्रवचन
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रद्वारा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको दोस्रो शृङ्खलामा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले अतिथि वक्ताका रूपमा प्रवचन गर्नुभयो । उहाँले विश्वभरिको सभ्यतामा हिन्दूहरूको प्रभावका विषयमा प्रवचन गर्दै एसिया, युरोप, अमरिका, अस्ट्रेलिया, अफ्रिकाका सभ्यतामा हिन्दू सभ्यता र संस्कृतिको विस्तार भएका उदाहरणहरू प्रस्तुत गर्नुभएको थियो । उहाँले हिमवतखण्डबाट प्रारम्भ भएको सभ्यता विश्वभरि फैलिएका उदाहरणहरू दिनुभएको थियो ।
शब्दसञ्चारः पौष ०६, २०७८
- Episode 81 – Shabda Sanchar 32:07
शब्दसञ्चारः मंसिर २८, २०७८
- Episode 80 – Shabda Sanchar 31:15
शब्दसञ्चारः मंसिर २१, २०७८
- Episode 79 – Shabda Sanchar 29:56

