शब्दयात्रा प्रकाशनले सर्लाहीको हरिऔननिवासी शिक्षासेवी तथा लेखक कृष्णप्रसाद भट्टराईद्वारा लिखित पुस्तक ‘विकसित नेपाल सम्पन्न नेपाली’ प्रकाशित गर्ने भएको छ । पुस्तकमा नेपाललाई विकसित र नेपालीलाई सम्पन्न बनाउन कसरी सकिन्छ भन्ने धारणा अभिव्यक्त गरिएको छ । उक्त पुस्तकलाई यही मङ्सिर महिनामा सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
काभ्रेपलान्चोक सम्पर्क केन्द्रले ‘कर्मयोद्धासँग शब्दसंवाद’ सञ्चालन गर्ने
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले आगामी शुक्रबारदेखि पाक्षिक रूपमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । शुक्रबार बेलुका ७ बजेदेखि ८ बजेसम्म जुमका माध्यमबाट उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी केन्द्रका संयोजक साधुराम गिरीले गराउनुभएको छ । कार्यक्रमको सञ्चालन पक्ष संयोजक साधुराम गिरीले र प्राविधिक पक्ष सदस्य दीपक तिमल्सिनाले जिम्मा लिनुभएको छ । यही कार्तिक २७ गते बसेको काभ्रेपलान्चोक सम्पर्क केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
शब्दसञ्चारः कार्तिक ३०, २०७८
- Episode 76 – Shabda Sanchar 29:47
सन्त श्यामदास राईका विषयमा प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जोसमनी सन्त परम्पराको त्यागी पन्थका विद्वान् श्यामदास राईको जीवनका विविध पक्षका विषयमा प्रवचन गर्नुभएको छ । ‘सनातन वैदिक विवेचना’ कार्यक्रम अन्तर्गत नेपाली सन्तहरूको गाथा प्रस्तुत गर्ने क्रममा उहाँले नेपाली सन्त श्यामदास राईको लेखनयात्रालाई विशेष जोड दिएर उहाँका विषयमा जानकारी गराउनुभएको थियो । विद्वान् नेपाली सन्त श्यामदास राई पाँचथरमा १९१० सालमा जन्मेर सिक्किममा २००५ सालमा दिवङ्गत हुनुभएको थियो । उहाँले डेढ दर्जनभन्दा बढी पुस्तक संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको थियो भने मौलिक कृतिका रूपमा पनि उहाँका केही कृतिहरू प्रकाशित भएका थिए ।
अनुसन्धान निर्देशक तोकियो
शब्दयात्रा प्रकाशनले आफ्नो मुख्य उद्देश्यमध्ये एक उद्देश्य नै अनुसन्धान कार्य भएकाले अनुसन्धान कार्यलाई अगाडि बढाउनका लागि डा. इन्दुल केसीलाई अनुसन्धान निर्देशक तोकेको छ । अनुसन्धान निर्देशकका रूपमा उहाँलाई अनुसन्धानका लागि विषय चयन गरी ती विषयसँग सम्बन्धित अनुसन्धान गर्न योग्य व्यक्तिहरू रहेको आवधिक रूपका विभिन्न अनुसन्धान समिति गठन गर्ने र अनुसन्धान गराउने जिम्मेवारी दिइएको छ ।
भवन निर्माण समिति गठन
शब्दयात्रा प्रकाशनले बनेपामा रहेको आफ्नै स्वामित्वको जग्गामा पाँचजना शब्दसाधकको सालिकसँगै जोडेर अनुसन्धान केन्द्रको भवन बनाउनका लागि सिम्रा भवन निर्माण समितिको गठन गरेको छ । भवन निर्माण समितिमा कृष्णमणि कुइकेल संयोजक, हरिगोपाल प्रधान र सकुल थापा सदस्य तथा शारदाप्रसाद शर्मा सचिव रहनुभएको छ ।
देउसीका विषयमा मन्तव्य
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले तिहारको अवसर पारी खेलिने देउसी विष्णुपुराणमा रहेको बलि नामक राजाको कथासँग सम्बन्धित नभई जुम्लाका कल्यालवंशी राजा बलिराजसँग सम्बन्धित भएको बताउनुभएको छ । तिहारको अवसर पारी उपेन्द्र दाहालद्वारा लिखित ‘उपहार’ नामक गजल र मुक्तकको सङ्ग्रहलाई सार्वजनिक गर्न नाला साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा उहाँले देउसी–भैलोका विषयमा मन्तव्य व्यक्त गर्ने क्रममा उक्त कुरा जानकारी गराउनुभएको हो । ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य तथा मोहन दुवाल र हरि मञ्जुश्रीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँहरूले संयुक्त रूपमा ‘उपहार’ लाई सार्वजनिक गर्नुभएको थियो भने गीतिभास्कर मच्छेश्वर सापकोटाले देउसी गीत गाउनुभएको थियो ।
जिम्मेवारी बाँडियो
शब्दयात्रा प्रकाशनले नयाँ पुस्तालाई संस्थागत कर्तव्यप्रति जिम्मेवार बनाउँदै संस्थागत कार्यमा अनुभवी पनि बनाउन सकियोस् भन्नका लागि संस्थाले गरिआएका कार्यहरूमध्ये फरक–फरक जिम्मेवारी फरक–फरक सदस्यलाई बहन गर्न दिएको छ ।
अबदेखि पुस्तक प्रकाशनसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सदस्य अमृत अधिकारीलाई दिइएको छ भने ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको प्रकाशन, साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ को व्यवस्थापन, काभ्रेली पत्रकारहरूलाई कदरपत्र समर्पण र स्तम्भकारहरूलाई स्मृतिचिह्न समर्पणसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी सदस्य रश्मि हुमागाईलाई दिइएको छ । यसै गरी वेबसाइट, ब्लग, अक्षरसेवी सहयोग कोष र छात्रवृत्तिसँग सम्बन्धित जिम्मेवारी सदस्य इ. रोशन मञ्जुश्री अधिकारीलाई दिइएको छ भने ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन, पुस्तक सार्वजनिकीकरण कार्यक्रम र पुस्तकालयको सञ्चालनसँग सम्बन्धित जिम्मेवारी सदस्य पुण्यवती घलेलाई दिइएको छ । शब्दयात्रा सम्मान र शब्दयात्रा पुरस्कारसँग सम्बन्धित कार्यहरू तथा शब्दयात्रा प्रकाशनका जिल्लास्तरीय विभिन्न सम्पर्क केन्द्रहरूको सम्बन्ध र समन्वयसँग सम्बन्धित जिम्मेवारी मात्र संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लिनुभएको छ ।
शब्दयात्रा प्रकाशनले विभिन्न कार्यहरू गरिआएको परिप्रेक्ष्यमा हालसम्म कार्य गरिरहेका पुरानो पुस्ताका व्यक्तिहरूले नयाँ पुस्तालाई पनि सक्षम बनाउँदै जानुपर्ने धारणा व्यक्त गरिरहेको र अनुभवी व्यक्तिहरूले नयाँ पुस्तालाई आफ्नो ज्ञान, सीप, अनुभव आदि हस्तान्तरण गर्दै जाँदा मात्रै संस्था दिगो रूपमा सञ्चालन हुने भएकाले जिम्मेवारी बाँडिएको कुरा जनाइएको छ ।
शब्दसञ्चारः कार्तिक २३, २०७८
- Episode 75 – Shabda Sanchar 29:03
शब्दसञ्चारः कार्तिक १६, २०७८
- Episode 74 – Shabda Sanchar 27:58