शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले तिहारको अवसर पारी खेलिने देउसी विष्णुपुराणमा रहेको बलि नामक राजाको कथासँग सम्बन्धित नभई जुम्लाका कल्यालवंशी राजा बलिराजसँग सम्बन्धित भएको बताउनुभएको छ । तिहारको अवसर पारी उपेन्द्र दाहालद्वारा लिखित ‘उपहार’ नामक गजल र मुक्तकको सङ्ग्रहलाई सार्वजनिक गर्न नाला साहित्यिक मञ्चद्वारा आयोजित कार्यक्रममा उहाँले देउसी–भैलोका विषयमा मन्तव्य व्यक्त गर्ने क्रममा उक्त कुरा जानकारी गराउनुभएको हो । ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य तथा मोहन दुवाल र हरि मञ्जुश्रीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँहरूले संयुक्त रूपमा ‘उपहार’ लाई सार्वजनिक गर्नुभएको थियो भने गीतिभास्कर मच्छेश्वर सापकोटाले देउसी गीत गाउनुभएको थियो ।