शब्दयात्रा प्रकाशनले नयाँ पुस्तालाई संस्थागत कर्तव्यप्रति जिम्मेवार बनाउँदै संस्थागत कार्यमा अनुभवी पनि बनाउन सकियोस् भन्नका लागि संस्थाले गरिआएका कार्यहरूमध्ये फरक–फरक जिम्मेवारी फरक–फरक सदस्यलाई बहन गर्न दिएको छ ।
अबदेखि पुस्तक प्रकाशनसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने जिम्मेवारी सदस्य अमृत अधिकारीलाई दिइएको छ भने ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको प्रकाशन, साप्ताहिक रेडियो कार्यक्रम ‘शब्दसञ्चार’ को व्यवस्थापन, काभ्रेली पत्रकारहरूलाई कदरपत्र समर्पण र स्तम्भकारहरूलाई स्मृतिचिह्न समर्पणसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारी सदस्य रश्मि हुमागाईलाई दिइएको छ । यसै गरी वेबसाइट, ब्लग, अक्षरसेवी सहयोग कोष र छात्रवृत्तिसँग सम्बन्धित जिम्मेवारी सदस्य इ. रोशन मञ्जुश्री अधिकारीलाई दिइएको छ भने ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम सञ्चालन, पुस्तक सार्वजनिकीकरण कार्यक्रम र पुस्तकालयको सञ्चालनसँग सम्बन्धित जिम्मेवारी सदस्य पुण्यवती घलेलाई दिइएको छ । शब्दयात्रा सम्मान र शब्दयात्रा पुरस्कारसँग सम्बन्धित कार्यहरू तथा शब्दयात्रा प्रकाशनका जिल्लास्तरीय विभिन्न सम्पर्क केन्द्रहरूको सम्बन्ध र समन्वयसँग सम्बन्धित जिम्मेवारी मात्र संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले लिनुभएको छ ।
शब्दयात्रा प्रकाशनले विभिन्न कार्यहरू गरिआएको परिप्रेक्ष्यमा हालसम्म कार्य गरिरहेका पुरानो पुस्ताका व्यक्तिहरूले नयाँ पुस्तालाई पनि सक्षम बनाउँदै जानुपर्ने धारणा व्यक्त गरिरहेको र अनुभवी व्यक्तिहरूले नयाँ पुस्तालाई आफ्नो ज्ञान, सीप, अनुभव आदि हस्तान्तरण गर्दै जाँदा मात्रै संस्था दिगो रूपमा सञ्चालन हुने भएकाले जिम्मेवारी बाँडिएको कुरा जनाइएको छ ।