शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय दुईजना पत्रकारलाई २०७८ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । कदरपत्र पाउने पत्रकारहरू राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपी हुनुहुन्छ । उहाँहरूलाई गत फागुन ७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो । कदरपत्र प्रदान गर्ने क्रममा कार्यक्रमका सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको माला, कदरपत्रका व्यवस्थापक हरिगोपाल प्रधानले उपहार र प्रमुख अतिथि शिक्षासेवी रामप्रसाद अधिकारीले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा राजकुमार पराजुलीका विषयमा रामकृष्ण तिमल्सिनाले र ज्ञानमणि नेपाल कालोटोपीका विषयमा प्रदीप केसीले जानकारी गराउनुभएको थियो । शिक्षासेवी माधवप्रसाद आचार्यले समुद्घाटन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो । कदरपत्र प्राप्त गर्ने दुवै पत्रकारले पनि मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कदरपत्रको वाचन आजीवन सदस्य पुण्यवती घले र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले तथा स्वागत भाषण सञ्चालक सदस्य केदारनाथ तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रमको समुद्घाटन शिक्षासेवी माधवप्रसाद आचार्यले र समीक्षासहित समापन गीतिभास्कर मच्छेश्वर सापकोटाले गर्नुभएको थियो । मञ्चस्थ महानुभावहरूलाई देवीप्रसाद ढुङ्गानाले माला लगाइदिनुभएको र कार्यालय व्यवस्थापक सङ्गीता केसीले आवश्यक सामग्रीको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रमलाई शब्दयात्रा प्रकाशनका गतिविधिहरूको जानकारी गराउने हरि मञ्जुश्रीको फेसबुकबाट सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले लाइभ प्रसारण गराउनुभएको थियो ।