शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा जुमका माध्यमबाट सम्पन्न भएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक लेखक तथा पूर्वप्रशासक डा. इन्दुल केसीले प्रवचन गर्नुभएको छ । उहाँले ‘प्राकृतिक चिकित्सा आजको आवश्यकता’ भन्ने विषयमा प्रवचन गर्नुभएको हो । काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त प्रवचन कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने जुम कार्यक्रममा दीपक तिमल्सिना, सहदीप पलान्चोके, शिव बन्जारा, सुनील सापकोटा, पदम दाहाल आदिको सहभागिता रहेको थियो । यो कार्यक्रम हरेक शुक्रबार बेलुका ७ बजेदेखि हुने गरेको छ ।
हरि मञ्जुश्रीबाट जैन तीर्थङ्कर र मुनिहरूका विषयमा प्रवचन
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जैन सम्प्रदायका प्रथम तीर्थङ्कर ऋषभदेव र अन्तिम तीर्थङ्कर महावीर वर्धमानका साथै जैन मुनि भद्रबाहु र स्थूलभद्रका विषयमा प्रवचन गर्नुभएको छ । ऋषभदेव र महावीर दुवैजना नेपाली भूमिपुत्र हुनुभएकाले बौद्ध सम्प्रदायको जस्तै जैन सम्प्रदायको उद्गम पनि नेपाल नै भएको कुरा उहाँले आफ्नो प्रवचनमा उल्लेख गर्नुभएको थियो । यसै गरी उहाँले आफ्नो प्रवचनमा भद्रबाहुले भारतमा जन्मेर पनि नेपाललाई तपस्थली बनाउनुभएको, उहाँले १२ वर्षसम्म हाल खोटाङ जिल्लामा पर्ने हलेसी महादेवस्थानको गुफामा बसेर तपस्या गर्नुभएको र त्यहीँ बसेर आफ्ना शिष्य स्थूलभद्रलाई जैनमतको शिक्षा पनि दिनुभएको थियो भन्ने कुरा पनि उल्लेख गर्नुभएको थियो । ‘सनातन वैदिक विवेचना’ नामक कार्यक्रममा उहाँले हरेक हप्ता नेपाली सन्तहरूका विषयमा प्रवचन गर्ने गर्नुभएको छ ।
स्मरणीय छ — जैन सम्प्रदायका प्रथम तीर्थङ्कर ऋषभदेवको वर्णन भागवतमा पनि गरिएको छ र महावीर वर्धमान मिथिला प्रदेशमा जन्मिएको प्रमाणित भइसकेको छ भने भद्रबाहु र स्थूलभद्रलाई चन्द्रगुप्त मौर्यका समकालीन मुनिका रूपमा मानिन्छ ।
‘अशोकचन्द्र धुँजूका लेखहरू’ छापिने
शब्दयात्रा प्रकाशनले १ सय ६९ औँ प्रकाशनपुष्पका रूपमा ‘अशोकचन्द्र धुँजूका लेखहरू’ नामक लेखसङ्ग्रह प्रकाशन गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ लगायतका पत्रिकाहरूमा प्रकाशित भइसकेका लेखहरूको सङ्ग्रहका रूपमा यो पुस्तक प्रकाशन ह्ुन लागेको हो । ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराको सम्पादकत्वमा प्रकाशन हुन लागेको यस पुस्तकमा शिक्षा, स्वास्थ्य, संस्कृति, राजनीति, अर्थ आदि विषयमा लेखक अशोकचन्द्र धुँजूले लेखेका लेखहरू समावेश गरिएका छन् ।
पत्रकारिता छात्रवृत्ति रोमिला लुम्बालाई प्रदान गरिने
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा जन्मेर यसै जिल्लामा पत्रकारिता विषय अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरेको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ यस वर्ष २०७८ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा सुश्री रोमिला लुम्बालाई प्रदान गर्ने भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसले गरेको सिफारिसका आधारमा उहाँलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिने भएको हो । यस छात्रवृत्तिका लागि लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गर्नुभएको छ । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ शब्दयात्रा प्रकाशनले यसअघि दुईपटक प्रदान गरिसकेको छ ।
भक्तपुर प्रतिभा पुरस्कार प्रा. कोमलवदन मल्ललाई समर्पण गरिने
शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ प्रा. कोमलवदन मल्ललाई समर्पण गर्ने भएको छ । प्राथमिक बाल शिक्षा कार्यक्रमका माध्यमबाट नेपालको शिक्षा क्षेत्रमा राष्ट्रिय योगदान गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । जीवनको लामो समय शिक्षा क्षेत्रलाई समर्पण गर्नुहुने प्रा. कोमलवदन मल्ल हाल अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ ।
‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ पहिलोपटक समर्पण गर्न लागिएको हो । यस पुरस्कारका लागि भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा वाङ्मयसेवी भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले मनायो दुईजना आजीवन सदस्यको जन्मदिवस
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य श्रीमती रश्मि अधिकारी हुमागाईंको जन्मदिवस मनाइएको छ । त्यस क्रममा भक्तपुरको दिव्यनगर चोकमा अवस्थित उहाँको निवासमै गई दीप, कलश र गणेशसहित अष्टचिरञ्जीवीको पूजा गरिएको थियो । त्यस बखत डा. पुष्पलाल हुमागाई, लक्ष्मीदेवी हुमागाईं र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको उपस्थितिमा सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले उहाँलाई रुद्राक्षको मालासहित शुभकामनापत्र पनि समर्पण गर्नुभएको थियो । त्यस बखत रश्मि अधिकारी हु्मागाईंले आफ्नो जन्मदिवस मनाइदिएकोमा शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रलाई धन्यवाद दिनुभएको थियो ।
यसै गरी काभ्रेपलान्चोक सम्पर्क केन्द्रले आजीवन सदस्य श्री लोकेन्द्र ढकालको पनि जन्मदिवस मनाएको छ । बनेपामा अवस्थित काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालयमा आयोजित जन्मदिवस कार्यक्रममा दीप, कलश, गणेशसहित अष्टचिरञ्जीवीको पूजा गरिएको थियो । त्यस बखत लोकेन्द्र ढकाललाई शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शुभकामनापत्र तथा काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले रुद्राक्षको माला समर्पण गर्नुभएको थियो । कार्यक्रममा सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोकेले लोकेन्द्र ढकालका विषयमा लेख्नुभएको कविता वाचन गर्नुभएको थियो भने अनुसन्धान समितिका संयोजक डा. इन्दुल केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले विसर्जन गर्नुभएको उक्त कार्यक्रमको व्यवस्थापन शकुन्तला बन्जारा र नारायण सापकोटाले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले संस्थासँग सम्बन्धित व्यक्तिहरूको जन्मदिवस कार्यालयमै बोलाई हिन्दू विधान बमोजिमको कार्यक्रम गरेर अथवा सम्बन्धित व्यक्तिको घरैमा गई अष्टचिरञ्जीवीको पूजा गरेर मनाउने गरेको छ भने त्यस बखत सम्बन्धित व्यक्तिलाई संस्थाका तर्फबाट शुभकामनापत्र र रुद्राक्षको माला पनि समर्पण गर्ने गरेको छ । यसपटक आजीवन सदस्य दुईजनाको जन्मदिवस एकै हप्तामा परेको थियो ।
शब्दसञ्चारः माघ ११, २०७८
- Episode 86 – Shabda Sanchar 29:30
शब्दसञ्चारः माघ ०४, २०७८
- Episode 85 – Shabda Sanchar 28:07
नियात्राका विषयमा फेरि पोष चापागाई
शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले सञ्चालन गर्ने गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक साप्ताहिक प्रवचन कार्यक्रममा यसपटक पनि अग्रज नियात्राकार पोष चापागाईंले नियात्रा–लेखनका विषयमा प्रवचन गर्नुभएको छ । अघिल्लो साता पनि उहाँले नै नियात्राका विषयमा प्रवचन गर्नुभएको थियो । एक साताको प्रवचन अपुग भएकाले समय फेरि थप्नुपर्ने कुरा सहभागीहरूले राख्नुभएपछि दोस्रो साता पनि उहाँ नै प्रवाचक बन्नुभएको हो । प्रवचन कार्यक्रमको सहजीकरण शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले गर्नुभएको थियो भने सभापति शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री हुनुहुन्थ्यो । जुमका माध्यमबाट भएको उक्त कार्यक्रममा कवि पदम दाहाल, जीवनाथ अधिकारी, लेखक डा. इन्दुल केसी, सञ्चारकर्मी शिव बन्जारा, गीता अधिकारी, इ. रोशन मञ्जुश्री अधिकारी, दीपक तिमल्सिना, बलराम अधिकारी, सहदीप पलान्चोके आदिको सहभागिता रहेको थियो ।