गत २०७६ साल असोज ४ गते शनिबार बिहान कृष्णमणि कुइँकेलको सौजन्यबाट बनेपा नीलकण्ठेश्वरधामस्थित नीलकण्ठेश्वरधाम संरक्षण समितिले निःशुल्क उपलब्ध गराएको शब्दयात्रा प्रकाशनको सभाकक्षमा विशेष कार्यक्रमको आयोजना गरी गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई जनस्तरबाट ‘गीतिभास्कर’ नामक उपाधि समर्पण गर्नुका साथै काभ्रेपलान्चोक जिल्लाका सक्रिय पत्रकारद्वय मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र, २०७६’ प्रदान गरिएको छ । उक्त कार्यक्रममा आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनबाट १२६ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘तारतमरस’ नामक ४१६ पृष्ठको पुस्तकलाई सार्वजनिक पनि गरिएको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रप्रभा प्रणामी श्रेष्ठ र सरस्वती सापकोटालगायतले आतित्य ग्रहण गर्नुभएको थियो । कार्यक्रममा स्वस्तिवाचन ज्यो. पं. रमेश अधिकारीले, ब्राह्मणपूजन सोमकाजी शाक्य र सरस्वती सापकोटाले, स्वागत मन्तव्य शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले गर्नुभएको उक्त कार्यक्रममा मच्छेश्वर सापकोटालाई उपाधि समर्पण गर्नुको औचित्य हरि मञ्जुश्रीले, मङ्गलाचरण र ‘गीतिभास्कर’ उपाधिको प्रमाणपत्र वाचन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा जलपानको खर्च ज्यो. पं. रमेश अधिकारीले बेहोर्नुभएको थियो । समाजसेवी पूर्णबहादुर कर्माचार्यले कार्यक्रमको समीक्षा गर्दै सभाविसर्जन गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनले स्थापना गरेका प्रथम शब्दसाधकहरूको सालिकमा माल्यार्पण गरिएको थियो । त्यस क्रममा प्रथम शिक्षासेवी षडानन्द अधिकारीको सालिकमा चन्द्रप्रभा प्रणामी श्रेष्ठले, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको सालिकमा मोतिराम तिमल्सिनाले, राष्ट्रिय पुरस्कार पाउने प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिकमा हरिप्रसाद चौलागाईंले, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको सालिकमा शुकदेव थपलियाले र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिकमा मच्छेश्वर सापकोटाले माल्यार्पण गर्नुभएको थियो ।

गीतिभास्कर उपाधि समर्पण

शब्दयात्रा प्रकाशनको आयोजनामा गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई ‘गीतिभास्कर’ नामक उपाधि समर्पण गरिएको छ । कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट उपाधिपत्र शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले, किरीट डा. इन्दुल केसीले, रुद्राक्षको माला कृष्णमणि कुइँकेलले र उपहार शिव बन्जाराले समर्पण गर्नुभएको थियो ।
कार्यक्रममा श्री सापकोटालाई खोटाङ्गेहरूको संस्था देम्लिटार काठमाडौँ सेवा समाजका तर्फबाट सचिव दामोदर घिमिरे, रुद्र स्मृति अक्षयकोषका तर्फबाट अध्यक्ष लक्ष्मीप्रसाद शर्मा र सहदीप पलान्चोकेले प्रशस्तिपत्र तथा बधाईपत्रहरू प्रदान गर्नुभएको थियो भने ‘गीतिभास्कर’ उपाधि प्राप्त गर्नुभएको बधाईस्वरूप नीलकण्ठेश्वरधाम संरक्षण समितिका तर्फबाट अध्यक्ष कृष्णमणि कुइँकेल, समाजसेवी शकुन्तला बन्जारा, कवि केदारनाथ तिमल्सिना, कवि पदम दाहाल (सङ्खुवासभा), कवयित्री भवानी पाण्डे, कलाकार चन्द्रमान सुवाल, नेपाल रेडक्रस सोसाइटी सेतीदेवी उपशाखाका तर्फबाट पुण्यवती घले, स्वतन्त्र पत्रकार सङ्घ भक्तपुरका तर्फबाट डा. इन्दुल केसी, नेवाः पत्रकार राष्ट्रिय दबूका तर्फबाट उपाध्यक्ष सोमकाजी शाक्य र लेखक चूडाप्रसाद चौलागाईंले उपहारहरू प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मच्छेश्वर सापकोटाले ‘गीतिभास्कर’ उपाधि पाएपछि आफूलाई थप जिम्मेवार बनाएको अनूभूति भएको बताउनुभयो भने मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाको युगल स्वरमा गीत पनि प्रस्तुत गरिएको थियो ।

कदरपत्र प्रदान

काभ्रेपलान्चोक जिल्लाका सक्रिय पत्रकारद्वय मोतिराम तिमल्सिना र शुकदेव थपलियालाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र, २०७६’ प्रदान गरेको छ । हरेक वर्ष दुई–दुईजना काभ्रेली पत्रकारलाई कदरपत्र प्रदान गर्ने क्रममा २०७६ सालका लागि उहाँहरूको योगदानलाई कदर गरिएको हो । कदरपत्र पाउने सञ्चारकर्मीद्वयको चिनारी चयनकर्ता सञ्चारकर्मी शिव बन्जाराले गराउनुभएको उक्त कार्यक्रममा मोतिराम तिमल्सिनालाई देवीप्रसाद ढुङ्गानाले रुद्राक्षको माला, चूडाप्रसाद चौलागाईंले उपहार तथा हरिगोपाल प्रधानले कदरपत्र प्रदान गर्नुभएको थियो भने शुकदेव थपलियालाई नानुदेवी कुइँकेलले रुद्राक्षको माला, दण्डपाणि अधिकारीले उपहार र हरिगोपाल प्रधानले कदरपत्र प्रदान गर्नुभएको थियो ।
पत्रकारद्वय श्री तिमल्सिना र श्री थपलियाले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पुस्तक सार्वजनिक

आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनबाट १२६ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘तारतमरस’ नामक ४१६ पृष्ठको पुस्तकलाई सार्वजनिक गरिएको छ । लेखककी धर्मपत्नी चन्द्रप्रभा प्रणामी श्रेष्ठ र नारी जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष निर्मला श्रेष्ठले संयुक्त रूपमा उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो ।