Home Blog Page 85

नयाँ सोच

नयाँ सोच

शब्दयात्रा प्रकाशनले साढे ६ वर्षभित्र प्रकाशन गरेका पुस्तकमध्ये यो ९५ औँ पुस्तक हो । यसकी लेखिका पूरा श्रेष्ठ (वास्तविक नाम समिता श्रेष्ठ) हुनुहुन्छ । उहाँको यो पहिलो कृति हो । विगत १२ वर्षदेखि शारीरिक अस्वस्थताका कारण उहाँ अत्यन्त कष्टकर जीवन बाँचिरहनुभएको छ । उहाँले देब्रे हातको एउटा औँलाले ट्याब्लेटको किबोर्ड चलाएर युनिकोडमा टाइप गरी यो लघु–उपन्यास ‘नयाँ सोच’ तयार पार्नुभएको हो ।

सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ

सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ

यो पुस्तक देवीप्रसाद सापकोटासम्बन्धी गरिएको अध्ययनको प्रारम्भिक अंश मात्रै हो । अध्ययन–अनुसन्धान जारी छ । देवीप्रसाद सापकोटाका बारेमा लेखिएका या देवीप्रसाद सापकोटाले लेखेका अथवा छापेका कुनै पुस्तक, पत्रिका, हस्तलिपि, चिठी, लेख, संस्मरण, कविता, समाचार, चित्र, तस्बिर आदि सामग्रीहरू र अन्य कुनै पनि जानकारीहरू तपाईंसँग छन् भने ती सामग्रीहरू उपलब्ध गराइदिन विनम्र अनुरोध छ । ती सामग्रीहरू प्रकाशन गरिनेछन् । यो स्मृतिग्रन्थ सुब्बा देवीप्रसाद सापकोटाका विषयमा सर्वाङ्गपूर्ण पाठ्यसामग्री दिने ग्रन्थ होइन । यसमा त भेटेसम्मका सामग्रीहरू मात्र राखिएको छ । पछि यस स्मृतिग्रन्थको पूरक खण्डका रूपमा अर्को पुस्तक प्रकाशन गर्दा अन्य सामग्रीहरूलाई पनि समावेश गरिनेछ ।

शैक्षिक शिरोभूषण

शैक्षिक शिरोभूषण

श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको जीवनका केही पक्षहरूलाई सङ्क्षिप्त रूपमा परिचय गराउने गरी लेखिएको छ । यस लघुकाव्यका नायक डा. सुरेशराज शर्मालाई नेपालका शैक्षिक शिरोभूषण भनिन्छ । यो उपाधि उहाँलाई जनस्तरबाट प्रदान गरिएको हो । लघुकाव्यकारले त्यही उपाधिलाई लघुकाव्यको नाम दिनुभएको छ । यसभन्दा अघि पनि उहाँले ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य तयार पार्नुभएको थियो । एकै व्यक्तिले एकै व्यक्तिका विषयमा दुईवटा लघुकाव्य लेखेको यसभन्दाबाहेकको अर्को जानकारी हामीले नपाएकाले यस प्रकारको कृतिका लागि यो लघुकाव्यले महàव राख्न सक्छ ।

केही दृष्टि केही दृष्टिकोण

केही दृष्टि केही दृष्टिकोण

आफ्नो एकल लेखनका १७ वटा र धर्मपत्नी मनका श्रेष्ठसहित भई संयुक्त लेखनको एउटा गरी जम्मा १८ वटा निबन्धहरूको यो सङ्ग्रह द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को निबन्धकारिताको एउटा नमुना हो । यसभित्र ४ वटा अप्रकाशित र १४ वटा पूर्वप्रकाशित निबन्धहरू रहेका छन् । यस सङ्ग्रहले नेपाली निबन्धसाहित्यमा आफ्नै प्रकारको विशेष स्थान राख्नेछ भन्ने कुरामा यो संस्था विश्वस्त छ ।

लक्ष्मीभक्तको कविता

लक्ष्मीभक्तको कविता

यो पुस्तक बालागुरु षडानन्दका शिष्य, नन्दिकेश्वरका सुपुत्र र षडानन्द संस्कृत प्रधान पाठशालाका परीक्षक पं. लक्ष्मीभक्त अधिकारीद्वारा लेखिएको हो । यसको पाण्डुलिपि विराटनगरमा सेमन्तराज अधिकारीकहाँ रहेछ । षडानन्द अधिकारीसम्बन्धी सामग्री खोज्ने क्रममा यो कविता भेटिएपछि उहाँबाट षडानन्द स्मृति प्रतिष्ठानका सचिव लालानाथ सुवेदीले लिनुभएछ । उहाँलाई अक्षर बुझ्न कठिनाइ परेपछि त्यो पाण्डुलिपि उहाँले दुर्गाप्रसाद अधिकारीलाई दिनुभएछ । उहाँले मिहिनेतपूर्वक सारिदिएर कविपरिचय पनि लेखिदिएकाले २००५ सालमा लेखिएको कविता कविको निधन भएको ६१ वर्षपछि २०७४ सालमा प्रकाशित हुन सकेको हो ।

शब्दयात्रा प्रकाशनको छ वर्ष

शब्दयात्रा प्रकाशनको छ वर्ष

शब्दयात्रा प्रकाशनबाट छ वर्षको यात्रामा के–के गर्न सकियो, परिकल्पित कार्यहरूमध्ये के–के गर्न बाँकी छन्, राजधानीभन्दा बाहिर बसेर छ वर्षको अवधिमा वाङ्मयिक क्षेत्रका कति कामहरू गर्न सकिँदो रहेछ, वाङ्मयिक गतिविधि बढाउन बौद्धिक व्यक्तिहरूमा कति चासो र चिन्ता रहेछ, त्यसबारे सङ्क्षिप्त जानकारी गराउने र संस्थालाई अझ पारदर्शी बनाउने उद्देश्यले यस पुस्तकभित्रका सामग्रीहरूको सङ्कलन र सम्पादन गरिएको हो ।

माधुरी आचार्य

माधुरी आचार्य

बनेपालाई बेलायतमा र बेलायतलाई बनेपामा बारम्बार ओहोरदोहोर गराइरहने माधुरी आचार्य नामकी काल्पनिक महिला यो उपन्यास पाठकवर्गको हातहातमा पुगेपछि प्रकारान्तरले बनेपाको चिनारीका रूपमा चिनिन बेर छैन । किनभने प्रसिद्ध अक्षरशिल्पी हरि मञ्जुश्रीको कलमले कृष्णमणि कुइँकेलको मानसपटलमा घुमेकी काल्पनिक पात्रा माधुरी आचार्यलाई छोयो । छोयो मात्रै होइन, यस उपन्यासले हरेक पाठकको मनमस्तिष्कलाई हल्लाउने भएको छ ।

कल्याणं ब्रुवन्तु

कल्याणं ब्रुवन्तु

‘कल्याणं ब्रुवन्तु’ मा कल्याण लम्सालका ३१ वटा गद्यकविता सङ्कलित छन् । कुनै कविता गीतिलयमा ढाल्न सकिने र कुनै कविता अलिकति प्रयास गरे छन्दोबद्ध गराउन सकिने खालका पनि छन् । कविताका विषय विविध छन् । पारिवारिक, सामाजिक, व्यावसायिक, आर्थिक, मनोवैज्ञानिक, आध्यात्मिक र धार्मिक विषयले यसभित्रका कवितामा स्थान पाएका छन् । कविता प्रायः छोटा भएकाले पढ्न झन्झट नलाग्ने र सरल शब्दावली भएकाले तुरुन्तै बुझिने खालका छन् ।

हाम्रो बालक्लब

हाम्रो बालक्लब

‘हाम्रो बालक्लब’ नामक प्रस्तुत बालनाटक लामो समयसम्म शिक्षण पेसामा आबद्ध बालसाहित्यकर्मी भवानी पाण्डेको अनुभवबाट उत्पन्न विचारको नाट्य रूपान्तरण हो । विद्यालयलाई कसरी बालमैत्री वातावरणयुक्त बनाउने, विद्यालयप्रति विद्यार्थी, शिक्षक र अभिभावकलाई कसरी उत्तरदायी र सक्रिय बनाउने, अनि विद्यालय परिवारबीच आपसी समन्वय, समझदारी र सम्मानपूर्ण परिवेश कसरी सिर्जना गर्ने आदि विषयहरूमा यस नाटकको कथावस्तुले परिक्रमा गरेको छ ।

अभियान

अभियान

‘अभियान’ को संरचना, विषयवस्तु, देश, जाति र थरअनुसारका पात्रहरूको नाम, ती पात्रहरूको बासस्थान, पेसा र शिक्षाअनुसारको भाषाप्रयोग, नाट्यकारिता अथवा नाट्यशिल्प आदिका विषयमा प्रशस्त बौद्धिक बहस गर्न सकिन्छ । तर त्यतातिर नलागी यस पुस्तकले दिन खोजेको सन्देशका आधारमा यस पुस्तकको मूल्याङ्कन गरियो भने मात्र दस जोड दुई उत्तीर्ण गरेको, होटल मजदुरका रूपमा चिनिएको र भूकम्पले भत्काइदिएको घर बनाउन हाल सिन्धुपाल्चोक जिल्लाको आफ्नै गाउँ दुवाचौरमा बसेको एउटा शब्दप्रेमीप्रति न्याय हुन सक्छ ।