Home Blog Page 78

आँसुको दह

आँसुको दह

आँसुको दह’ विभिन्न छन्दमा लेखिएका ५३ वटा कविताहरूको सङ्ग्रह हो । कवि पदम दाहालको कविभावना ललितपूर्ण शिल्पका साथ काव्यिक यात्रा गर्न यस सङ्ग्रहमा प्रस्तुत भएको छ । जीवन र जगत्का विविध रङहरू कवितामा सर्लक्क उत्रेका छन् । यस सङ्ग्रहका कविताहरूले भावुकता, आत्मिक जागरण, संवेदना, मानवीय कर्तव्यबोध, आस्था र निष्ठालाई आधार बनाएर आफ्ना हरेक पाठकलाई उनीहरूको जीवन सुन्दर बनाउने दिशातर्फ अग्रसर बनाउन उत्प्रेरित गराउनेछन् ।

भजन सृष्टिः विविधि दृष्टि

भजन सृष्टिः विविधि दृष्टि

भजन सृष्टि — विविध दृष्टि’ यसअघि प्रकाशित ‘श्यामसुन्दर भजनमाला’ त्रिभाषी भजनसङ्ग्रहमाथि नेपाली, नेवारी, हिन्दी र अङ्ग्रेजी भाषामा व्यक्त गरिएका लिखित प्रतिक्रियाको सङ्कलन हो । त्यसैले यसलाई ‘चतुर्भाषी टिप्पणीसङ्ग्रह’ भनिएको हो । डा. इन्दुल केसीद्वारा सङ्कलित तथा सम्पादित यस पुस्तकभित्र शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा आबद्ध रहनुभएका लेखकहरू रहनुभएको छ ।

श्यामसुन्दर भजनमाला

श्यामसुन्दर भजनमाला

डा. इन्दुल केसीको सङ्कलन र सम्पादनमा प्रस्तुत ‘श्यामसुन्दर भजनमाला’ त्रिभाषी भजनसङ्ग्रह हो । यसमा नेपाली, नेवारी र हिन्दी भाषाका पैँतालीसवटा भजनहरू सङ्कलित छन् । गोविन्दमानसिंह राजभण्डारीद्वारा नेवारी भाषामा लिखित एघारवटा भजनहरूलाई नेपाली र हिन्दी भाषामा अनुवाद गरी नेपाली, नेवारी र हिन्दी भाषामा महेशचन्द्र शर्मा, पशुपतिमान पःमाँ, ज्यो. पं. रमेश अधिकारी, डा. इन्दुल केसी र हरि मञ्जुश्रीद्वारा लिखित अन्य भजनहरूसमेत राखेर यो पुस्तक तयार भएको छ ।

परदेशको कथा

परदेशको कथा

काफलबोटे कान्छाको कवितासङ्ग्रह परदेशको कथा’ नेपालको आजको कथा हो, परदेशमा पुगेको घरदेशको कथा हो, विदेशीले देखेको स्वदेशीको कथा हो र स्वदेशीले भोगेको स्वदेशको कथा हो । तर शार्दूलबिक्रीडित, मन्दाक्रान्ता, अनुष्टुप, पञ्चचामर, वसन्ततिलका आदिजस्ता वर्णमात्रिक छन्दका कविताहरूको सङ्ग्रहका रूपमा यो कथा आएको छ । कविले यी कविता गाउँदा कविताबाट वर्तमान युवा पुस्ताको वेदना झर्छ, भक्कानो झर्छ, हिक्का झर्छ र आँसु झर्छ । गलत राजनीतिक संस्कारबाट जर्जर र रुग्ण बनेको नेपालको दुर्दशा र दुर्भाग्यको चित्र पनि आँखाअगाडि आउँछ ।

पच्चीस कृति र कृतिकार (टिप्पणीसङ्ग्रह)

पच्चीस कृति र कृतिकार (टिप्पणीसङ्ग्रह)

पुण्यवती घलेले आफ्नो प्रथम पुस्तकका रूपमा यो पुस्तक तयार पार्नुभएको हो । यस कृतिमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित कृतिहरूमध्ये २५ जना कृतिकारको सङ्क्षिप्त चिनारी र ती कृतिकारका एक–एकवटा कृतिको सङ्क्षिप्त चिनारी गराइएको छ । कृतिको आवरण र कृतिकारको तस्बिर पनि दिइएको छ । यहाँ प्रस्तुत गरिएका कृतिमाथिका टिप्पणीहरू पुण्यवती घलेले लेख्नुभएको नभई पुस्तकभित्रैका मन्तव्यहरूबाट उतार गरिएका हुन् । यो पुस्तक जेजस्तो रूपमा प्रस्तुत भए पनि आगामी दिनमा यस्ता कृतिहरू उहाँले तयार पार्नुभयो भने अझ परिमार्जित भएर आउनेछन् भन्ने आशा गर्न सकिन्छ ।

आफू अरूका लागि (स्मृतिनिबन्ध)

आफू अरूका लागि (स्मृतिनिबन्ध)

निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ आफू र आफ्नो परिवेशलाई केन्द्रमा राखेर आफ्ना अनुभव र अनुभूतिहरूले अरूको हितमा आफूलाई समर्पित गर्न प्रेरित गराएका सन्दर्भहरूको स्मृतिलेखन हो । शैक्षिक विकास, सामाजिक सचेतना, महिला सशक्तीकरण, दिगो विकास, गरिबी न्यूनीकरण, सहकारिता, उद्यमशीलता जस्ता विषयलाई सम्बोधन गरी रोजगारीका लागि विदेशतर्फ पलायन हुने अवस्थालाई न्यून गर्न सकिने उपायहरू उहाँले यस पुस्तकमा आफ्नै अनुभवका आधारमा प्रस्तुत गर्नुभएको छ । अरूको हितका लागि आफूलाई समर्पण गर्ने शिक्षा उहाँले कसरी प्राप्त गर्नुभयो भन्ने कुरा यस पुस्तकमा पढ्दा पाठकहरूलाई सकारात्मक सोच राख्ने हो भने अरूको हितमा आफूलाई समर्पित तुल्याउन सकिँदो रहेछ भन्ने प्रेरणा प्राप्त हुनेछ ।

पञ्चतन्त्र : प्रथम तन्त्र मित्रभेद (अनुवाद)

पञ्चतन्त्र : प्रथम तन्त्र मित्रभेद (अनुवाद)

विष्णु शर्माद्वारा संस्कृत मूल भाषामा रचित ‘पञ्चतन्त्र’ पूर्वीय वाङ्मयको सुप्रसिद्ध ग्रन्थ हो । यस ग्रन्थको अनुवाद विभिन्न भाषाहरूमा भइरहेका छन् र धेरैजनाले आआफ्नै ढर्रामा प्रस्तुत गरेका छन् । नेपाली भाषामा पनि धेरै प्रकारका ‘पञ्चतन्त्र’ हरू पढ््न पाइन्छन् । त्यसै क्रममा श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र (प्रथम तन्त्र ः मित्रभेद)’ कृति पनि प्रस्तुत गरिएको हो ।

कवितामा सविता (कवितासङ्ग्रह)

कवितामा सविता (कवितासङ्ग्रह)

‘कवितामा सविता’ कवयित्री सविता शर्माका छोटा कविताहरूको सङ्ग्रह हो । गद्यकवितामा लयात्मकता दिइएका, सकेसम्म अन्त्यानुप्रास मिलाउने प्रयास गरिएका, छोटा–छोटा हरफका, भाषिक सरलता रहेका, बुझ्न कठिनाइ नपर्ने, अधिकांशतया व्यङ्ग्यलाई प्रधानता दिइएका ६५ वटा कविता यसमा सङ्गृहीत छन् । कुनै पनि कवितामा शीर्षक दिइएको छैन, सङ्ख्याले मात्रै सङ्केत गरिएको छ । ‘यो कवितासङ्ग्रह हो’ भन्ने धारणा नराखी पढ्ने हो भने यसभित्र गद्यलघुकाव्यको सुवास पनि पाउन सकिन्छ । ‘सविता’ शब्दले तेजोमय बिम्बको अर्थ बोक्ने र यसभित्रका कविताहरू कवयित्री सविता शर्माको कवित्व शक्तिलाई चहकिलो रूपमा प्रस्तुत गर्ने सवितायुक्त भएकाले कवितासङ्ग्रहको नाउँ ‘कवितामा सविता’ सार्थक देखिएको छ ।

विधवा वासना (उपन्यास)

विधवा वासना (उपन्यास)

राणाकालीन नेपालको ग्रामीण समाजको सजीव चित्रण गरिएको र तत्कालीन पश्चिम ३ नं. को लोकजीवन उतारिएको उपन्यास ‘विधवा वासना’ लाई त्यस क्षेत्रका स्थानविशेष, भाषाविशेष, परम्पराविशेष र संस्कारविशेष आदिले आञ्चलिकता प्रदान गरेका छन् । प्रजापति तिमिल्सिनाद्वारा लिखित यस उपन्यासमा वैधव्य जीवन, विधुर जीवन, नारीलाई हेर्ने दृष्टिकोण, नारी मनोविज्ञान, यौन मनोविज्ञान, यौन उत्पीडन, विधवाले समाजबाट भोग्ने दुव्र्यवहार, जातिगत विभेद, पितृसत्तात्मक सोच, मुगलान भासिनुपर्ने बाध्यता, अर्थसम्पन्न व्यक्तिबाट विपन्न वर्गले बेहोर्नुपर्ने शोषण, हिन्दूदर्शनलाई हिन्दूहरूबाटै गरिएको अवहेलना, कारागार प्रशासन, न्यायिक प्रचलन आदिको सुन्दर चित्रण गरिएको छ । तसर्थ नेपाली साहित्यमा यस उपन्यासले विशेष महàव राख्नेछ ।

पाण्डवायण (महाकाव्य)

पाण्डवायण (महाकाव्य)

काव्यकार मुक्ति शर्माको ‘पाण्डवायण’ महाकाव्य पञ्चपाण्डवकी अर्धाङ्गिनी द्रौपदीलाई केन्द्रविन्दुमा राखेर लेखिएको छ । ‘अ’ देखि ‘अं’ सम्म ११ सर्गमा बन्धित यस महाकाव्यले द्रौपदीको सबल चरित्रलाई उजागर गरेको छ । महाभारत ग्रन्थको लामो कथालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्दै यस महाकाव्यमा द्रौपदीको जीवनगाथा, ज्ञान र मनोविज्ञानको सुन्दर चित्रण गरिएको छ ।