Home Blog Page 77

असारमै ‘समयको अन्तराल’

0
लामो समयको अन्तरालपछि कवि नरनारायण ‘वत्स’ का कविताहरू कवितासङ्ग्रहमा पढ्न पाइने भएको छ । ‘समयको अन्तराल’ नाउँ दिइएको त्यस कवितासङ्ग्रहको प्रकाशन शब्दयात्रा प्रकाशनबाट हुन लागेको छ । कवितासङ्ग्रहलाई यही असार महिनामा सार्वजनिक गर्न खोजिएको छ । कवि डा. विष्णुविभु घिमिरेको मन्तव्यसहित ३८ वटा कविता सङ्गृहीत त्यो सङ्ग्रह कवि ‘वत्स’ को दोस्रो कवितासङ्ग्रह हो । यसअघि २०२४ सालमा उहाँको पहिलो कवितासङ्ग्रहका रूपमा ‘यहाँ यस्तै छ’ छापिएको थियो । कवि ‘वत्स’ इलाम जिल्लाका साहित्यिक प्रतिभा हुनुहुन्छ ।

‘दूरदर्शी नेतृत्व पुरस्कार’ थप

0
सेवामुखी संस्थाको नेतृत्व गरी स्वदेशभित्रकै स्रोत–साधनबाट संस्थागत सुदृढीकरण र स्थायीत्वका निम्ति अनुकरणीय कार्य गरेर संस्थालाई गतिशील बनाउन सफल व्यक्तिलाई शब्दयात्रा प्रकाशनबाट यसै वर्षदेखि पुरस्कृत गरिने भएको छ । पुरस्कारको नाउँ ‘दूरदर्शी नेतृत्व पुरस्कार’ राखिएको छ । पुरस्कार हाल १५ हजार रुपियाँको हुनेछ र पछि बढाइनेछ । साथमा अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । पुरस्कारको आर्थिक व्यवस्थापक शब्दयात्रा प्रकाशनका आजीवन सदस्यद्वय रश्मि अधिकारी हुमागाईं र इ. रोशन मञ्जुश्री अधिकारी रहनुभएको छ ।

लीलादेवी श्रेष्ठ पनि आजीवन सदस्य

0
लेखिका लीलादेवी श्रेष्ठ शब्दयात्रा प्रकाशनको आजीवन सदस्य बन्नुभएको छ । उहाँले सङ्खुवासभा प्रतिभा पुरस्कारका लागि शब्दयात्रा प्रकाशनको अक्षयकोषमा २ लाख रुपियाँ राखिदिनुभएको छ । उहाँका दुई पुस्तक ‘अठोट’ (नाटक) र ‘जिन्दगीका डोबहरू’ (कवितासङ्ग्रह) शब्दयात्रा प्रकाशनबाट प्रकाशित छन् ।

एकैपटक पाँच पुस्तक सार्वजनिक

0
शब्दयात्रा प्रकाशनको आयोजनामा २०७९ साल असार ४ गते शनिबार बनेपामा साहित्यिक कृतिहरूको सार्वजनिकीकरण समारोहको आयोजना गरी लीलादेवी श्रेष्ठ, लोकमान मास्के र हरि कोर्कालीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँचवटा कृतिहरूलाई सार्वजनिक गरियो । पहिलो चरणमा लीलादेवी श्रेष्ठद्वारा लिखित ‘अठोट’ नाटक र जिन्दगीका डोबहरू’ कवितासङ्ग्रह, दोस्रो चरणमा लोकमान मास्केद्वारा लिखित ‘मनमा नअटेका कुरा’ कवितासङ्ग्रह र तेस्रो चरणमा हरि कोर्कालीद्वारा लिखित ‘जून मामा’ बालकवितासङ्ग्रह र ‘धृतराष्ट्रको शुभकामना’ व्यङ्ग्यकवितासङ्ग्रहलाई समारोहमा उपस्थित सबैले सामूहिक रूपमा एकैसाथ सार्वजनिक गर्नुभएको थियो ।
संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीनैजना कृतिकारले मन्तव्य व्यक्त गर्नुभएको थियो । पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन साहित्यकार गायत्रीकुमार चापागाईंले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन गायक–सङ्गीतकार बुलु मुकारुङले गर्नुभएको उक्त कार्यक्रममा केदारनाथ श्रेष्ठ, मच्छेश्वर सापकोटा र सरस्वती सापकोटाले गीत गाउनुभएको थियो भने दिलीप श्रेष्ठ र लक्ष्मी पोखरेलले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन शिव बन्जाराले, स्वस्तिवाचन ढुण्डिराज पोखरेलले, प्रमुख अतिथि र अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण सफ्टवेयर इन्जिनियर रोशन अधिकारीले, फेसबुकबाट लाइभ गरी मुभी खिच्ने कार्य प्रकृति प्याकुरेलले, मञ्चमा आउने महानुभावहरूलाई रुद्राक्षको माला लगाइदिने कार्य अमृत अधिकारीले र सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त कार्यक्रममा ‘गाईजात्रा’ लगायतका अन्य पुस्तकहरू पनि उपलब्ध गराइएका थिए ।

शब्दयात्रा प्रकाशनका अध्यक्षलाई सूचक प्रकाशनले सम्मान गर्ने

0

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष, भाषासेवी एवं साहित्यकार हरि मञ्जुश्रीलाई नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम् भूमिका खेल्दै आएबापत सूचक प्रकाशनले २०७९ सालको सूचक संस्कृतिसेवा सम्मानबाट यही असार १८ गते सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशन परिवार यसका लागि सूचक प्रकाशनलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

दुई संस्थाबीच सम्झौता

0

शब्दयात्रा प्रकाशन (काभ्रेपलान्चोक) र रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठान (कालिकोट) का बीच वाङ्मयिक क्रियाकलापमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार शब्दयात्रा प्रकाशनले निःशुल्क उपलब्ध गराउन सक्ने पुस्तक–पत्रिकाहरू रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानलाई उपलब्ध गराउनेछ र ती पुस्तक–पत्रिकाहरू कालिकोटका पुस्तकालयहरूमा वितरण गर्ने काम रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानले गर्नेछ । यसै गरी रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानले त्यस जिल्लाका कला, साहित्य र संस्कृति विधासँग सम्बन्धित व्यक्तिका फुटकर सिर्जनाहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनेछ र शब्दयात्रा प्रकाशनले त्यसरी प्राप्त भएका सामग्रीहरू आफ्ना सञ्चार–माध्यमबाट प्रकाशन–प्रसारण गराउनेछ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट महाप्रबन्धक शारदाप्रसाद शर्माले र रासकोट कला–साहित्य–संस्कृति प्रतिष्ठानका तर्फबाट अध्यक्ष नगेन्द्रप्रसाद आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

एघार वर्षभित्र भएका कामहरू

0
विशेष योजनाका साथ शब्दयात्रा प्रकाशनलाई अस्तित्वमा ल्याएको यो जेठ महिनामा ११ वर्ष पूरा भएको छ । यस संस्थामार्फत गर्न खोजिएको काम ‘शब्दकलाका नायक’ पुस्तकमा लेखिएको छ । यस अवधिमा के–के काम गरिएछ भनेर हेर्दा — (क) गीता मञ्जुश्री अधिकारीको घरको भुइँतला कार्यालयका लागि ३ वर्षसम्म निःशुल्क प्रयोग गरिएछ । (ख) नेपालभूमि राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशकत्व रामचन्द्र हुमागाईंबाट निःशुल्क प्राप्त गरिएछ । (ग) रश्मि मञ्जुश्री अधिकारीबाट अक्षरधाम साहित्यिक पत्रिका प्राप्त गरिएछ । (घ) कृष्णमणि कुइँकेलबाट बनेपामा ५ आना जग्गा दानस्वरूप प्राप्त गरिएछ । (ङ) कृष्णमणि कुइँकेलकै सौजन्यबाट नीलकण्ठेश्वरधाम संरक्षण समितिको घर कार्यालयका लागि निःशुल्क प्राप्त गरिएछ । (च) हरिगोपाल प्रधान र अन्य विभिन्न सहयोगीहरूबाट आर्थिक सहयोग तथा कार्यालयका सामग्रीहरू प्राप्त गरिएछ । (छ) अक्षयकोषमा २५ लाख रुपियाँ जम्मा गर्न सकिएछ । (ज) किरीट, अभिवन्दनापत्र र नगदसहित १ सय ७२ जनालाई सम्मान गरिएछ । (झ) अतिरिक्त सम्मान ४ जनालाई समर्पण गरिएछ । (ञ) विभिन्न क्षेत्रका ८ जनालाई पुरस्कृत गरिएछ । (ट) काभ्रेपलान्चोक जिल्लाका १८ जना सक्रिय पत्रकारलाई कदरपत्र प्रदान गरिएछ । (ठ) छात्रवृत्ति दिएर ४ जना छात्रछात्रालाई पढाइएछ । (ड) विभिन्न व्यक्तिका ६ वटा सालिक स्थापना गरिएछ । (ढ) बुद्ध मानन्धरको सहयोगमा शब्दयात्रा स्तम्भ बनाइएछ । (ण) करिब १० हजार पुस्तक भएको पुस्तकालयको स्थापना गरिएछ । (त) भरत जङ्गम, हिरण्यकुमारी पाठक र नवीना श्रेष्ठको सहयोगमा सरस्वतीको मन्दिर बनाइएछ । (थ) वर्षको १६ वटाभन्दा बढीका दरले १८० वटा पुस्तक प्रकाशन गरिएछ । (द) आजीवन सदस्य ३६ जना भएछौँ । (ध) विभिन्न साहित्यिक कार्यक्रम, निःशुल्क स्वास्थ्यशिविर र अन्य शिविरहरू सञ्चालन गरिएछ । (न) विचारप्रधान साप्ताहिक पत्रिका र मासिक साहित्यिक पत्रिका प्रकाशन गरिएछ । (प) शिव बन्जाराले निःशुल्क कार्यक्रम उत्पादन गरिदिएकाले ५ वर्षसम्म रेडियो कार्यक्रम चलाइएछ । (फ) डा. भास्कर हुमागाईंबाट वेबसाइटका लागि निःशुल्क सर्भर प्राप्त गरिएछ । (ब) सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीको सहयोग लिई सर्जक र सिर्जनालाई विश्वभरि फैलाउन सकिएछ । (भ) कार्यक्रममा किरीट, पट्ट आदिको प्रयोगजस्ता नयाँ–नयाँ शैलीहरू थप्न सकिएछ । (म) सावित्री जङ्गम थापाबाट गृहनिर्माणको कार्य प्रारम्भ गरिएपछि सकुल थापा, हरिगोपाल प्रधान, कृष्णमणि कुइँकेल आदिको सहयोगमा तीनतले भवन निर्माण हुँदै गरेको छ । यी सबै कामहरू सरकारी निकाय र विदेशीसँग आर्थिक सहयोग नलिईकन नेपाली दाताहरूको विश्वास जितेर गरिएका हुन्, सामूहिक शक्ति लगाइएकाले भएका हुन् । शब्दयात्रा प्रकाशनलाई स्नेह गरेर आआफ्ना तर्फबाट आर्थिक, भौतिक, नैतिक सहयोग गर्नुभएका सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

१७०. आस्था (बिरौंलासङ्ग्रह)

१७०. आस्था (बिरौंलासङ्ग्रह)

केदारनाथ तिमल्सिनाद्वारा सङ्कलित केही र लिखित केही सामग्रीहरूलाई सम्पादन गरी ‘आस्था’ नामक बिरौंलासङ्ग्रह तयार पारिएको छ । नेपाली, संस्कृत, हिन्दी र अवधी भाषाका सामग्रीहरूको तथा गद्य र पद्य दुवै विधाको प्रयोग यस पुस्तकमा गरिएको छ । यस पुस्तकबाट हिन्दूधर्ममा आस्था राख्ने व्यक्तिहरू लाभान्वित हुने विश्वास गर्न सकिन्छ ।

१६९. नजोडिएको सम्बन्ध (उपन्यास)

१६९. नजोडिएको सम्बन्ध (उपन्यास)

माधवप्रसाद चापागाईंको ‘नजोडिएको सम्बन्ध’ (उपन्यास) मनोवैज्ञानिक विषवस्तुमा आधारित छ । नारी र पुरुषको यौन वृत्तिलाई अत्यन्त सूक्ष्म ढङ्गले केलाएको यो उपन्यास नारी र पुरुषबीच गुजुल्टो परेको मनोविज्ञानमा आधारित छ । नारीलाई हेर्ने पुरुषको द्वैध दृष्टिकोण र पुरुषलाई हेर्ने नारीको द्वैध दृष्टिकोण यस उपन्यासमा सुन्दर ढङ्गमा प्रस्तुत भएको छ ।

१६८. आध्यात्मिक ज्ञानभण्डार (परिचयात्मक प्रबन्धसङ्ग्रह)

१६८. आध्यात्मिक ज्ञानभण्डार (परिचयात्मक प्रबन्धसङ्ग्रह)

उद्धवप्रसाद नेपालद्वारा लिखित तथा सङ्कलित यो पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा वैदिक सनातन हिन्दूधर्मको परिचय, महर्षि वेदव्यास, हिन्दूधर्ममा वेदको महत्त्व, हिन्दूधर्म–संस्कृतिका षड्दर्शन, पथ र विशेषता, हिन्दूधर्मभित्रका सम्प्रदाय र देवीदेवता, हिन्दूधर्मभित्रको सांस्कृतिक चिनारी, हिन्दू धर्मावलम्बीका तीर्थस्थल, हिन्दूधर्म–संस्कृतिमा योगसाधना, सदाचार, मतमतान्तर, उपनिषद्, पुराण र सोह्र संस्कारहरू, पितृकर्र्मको धार्मिक एवं शास्त्रीय महत्त्व, हिन्दूधर्मभित्रका चाडपर्वहरू, हिन्दूधर्म–संस्कृति र परम्परा, वैदिक सनातन संस्कृतिमा रामायणको महत्त्व, महाभारत ग्रन्थको परिचय, श्रीमद्भागवत महापुराण, श्रीमद्भगवद्गीतामा निहित दार्शनिक चिन्तन, राधाकृष्ण लीलाको महत्त्व, आत्मा, परमात्मा र परलोक, हिन्दूधर्ममा ब्रह्माण्डको वर्णन र नारीको महत्त्व, वैदिक धर्मशास्त्रमा ज्योतिषशास्त्र, हिन्दूधर्म र हिन्दूस्थानको चिनारी जस्ता लेखहरू छन् भने दोस्रो खण्डमा जैन, पारसी, बौद्ध, शिन्तो, सिख, ताओ, कन्फ्युसस, यहुदी, इसाई, इस्लाम, मोहिवाद, यिन याङ, बहाई, विश्ववाद जस्ता धर्मको जानकारी गराइएको छ ।