Home Blog Page 78

१६७. अशोकचन्द्र धुँजूका लेखहरू (लेखसङ्ग्रह)

१६७. अशोकचन्द्र धुँजूका लेखहरू (लेखसङ्ग्रह)

अशोकचन्द्र धुँजू भन्ने नामबाट राजनीति, साहित्य, संस्कृति र शिक्षासँग सम्बन्धित लेखहरू विभिन्न पत्रिका र स्मारिकाहरूमा प्रकाशित छन् । तीमध्ये पनि शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित काभ्रेपलान्चोक जिल्लाको एक मात्र राष्ट्रिय साप्ताहिक पत्रिका ‘नेपालभूमि’ र ‘काभ्रे टाइम्स साप्ताहिक’ पत्रिकाका विभिन्न मितिका अङ्कहरूमा उहाँका लेखहरू प्रकाशित छन् । ती लेखहरूमध्ये ५८ वटा लेखलाई सङ्कलन गरेर सम्पादनका लागि उहाँले ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जारालाई सम्पादनका लागि बुझाएपछि यो पुस्तक तयार भएको हो र शिव बन्जारा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य हुनुभएकाले यो पुस्तक शब्दयात्रा प्रकाशनको नाउँबाट प्रकाशित भएको हो । २०६९ सालभन्दा पछिका लेखहरूमध्ये सामयिक दृष्टिले महत्त्वपूर्ण देखिएका लेखहरूलाई समेटिएको हुनाले यो पुस्तक ऐतिहासिक अध्येताहरूका लागि राम्रो पाठ्यसामग्री हुन सक्छ ।

१६६. श्वेताम्बरी (कवितासङ्ग्रह)

१६६. श्वेताम्बरी (कवितासङ्ग्रह)

कवि पदम दाहालका सतसट्ठीवटा गद्यकविताको सङ्कलन ‘श्वेताम्बरी’ वर्तमान समयको प्रतिनिधित्व गरेका कविताहरू रहेको समकालीन नेपालको चित्र हो । छिमेकी राष्ट्रबाट भइरहेको सीमा अतिक्रमण, त्यसैका कारणले आहत बनेको प्रत्येक नेपालीको स्वाभिमान, राष्ट्रियता र देशभक्तिको भावना, विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस जस्ता जल्दाबल्दा विषयहरूले यस सङ्ग्रहमा महत्त्वपूर्ण स्थान पाएका छन् । कविताहरू गद्यमा लेखिए पनि पद्यकवितामा जस्तै अन्त्यानुप्रासको यथासम्भव विन्यास तथा विभिन्न बिम्ब र प्रतीकको प्रयोग गरिएका यस सङ्ग्रहका कविताहरूमा आफूले भोगेको परिवेश, पाएको अनुभव, देखेसुनेको घटना र आत्मसात गरेको विषयलाई सुललित भाषा र शब्दमा प्रकट गरिएको छ । त्यसैले यो सङ्ग्रह शक्तिशाली बनेको छ ।

१६५. जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)

१६५. जनताका साथी (शशिधर तिमिल्सिना स्मृतिग्रन्थ)

काभ्रेपलान्चोक जिल्लाका अग्रज समाजसेवी, पञ्चायतकालीन जनपक्षीय राजनीतिकर्मी, वनजङ्गल तथा वातावरण संरक्षणका अभियन्ता, विद्यालयका संस्थापक, आधुनिक कृषिप्रणालीका उन्नायक एवम् दिगो विकासका लागि आवश्यक रहेका हरेक प्रकारका कर्महरू गर्नमा निरन्तर सक्रिय कार्यकर्ता, सङ्घर्षशील व्यक्तित्व भएका, शिक्षाप्रति सचेत, नवीनतम प्रणालीका जानकार, ग्रामीण उत्पादनको बजारीकरणका लागि उत्प्रेरक शशिधर तिमिल्सिनाका विषयमा ग्रन्थसम्पादक तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सम्पादन गर्नुभएको ‘जनताका साथी’ नामक शशिधर तिमिल्सिना स्मृतिग्रन्थले ग्रन्थनायकको विशिष्टता देखाएर अभिलेख राख्न सहयोग गरेको छ ।

१६४. विकसित नेपाल सम्पन्न नेपाली

१६४. विकसित नेपाल सम्पन्न नेपाली

शिक्षासेवी कृष्णप्रसाद भट्टराईले शिक्षणकर्मबाट औपचारिक रूपबाट निवृत्त भइसकेपछि पनि आफ्नो राष्ट्रिय कर्तव्यको पालना गरिरहनुभएको छ । उहाँको मस्तिष्कले उहाँलाई निवृत्त जीवन बिताउन अनुमति नदिएको हुनाले उहाँ आफूभित्रको सिर्जनशीलता र बौद्धिकताको अधिकतम सदुपयोग गर्दै आफ्ना गहन चिन्तन र विचारहरूलाई अक्षरमा रूपान्तरण गर्न थाल्नुभएको छ । ‘विकसित नेपाल सम्पन्न नेपाली’ नामक प्रस्तुत पुस्तक त्यसैको प्रतिफल हो । यस पुस्तकलाई यसका लेखकले ‘नागरिक सशक्तीकरण कोषको योजना’ भन्नुभएको छ । यसमा हरेक नेपाली कसरी अर्थसम्पन्न बन्न सक्छन् र नेपाल कसरी विकसित हुन्छ भन्ने उपाय उहाँले प्रस्तुत गर्नुभएको छ । राजनीतिक दलहरूले यसलाई मार्गदर्शक सिद्धान्त मानेर कार्यान्वयन गरिदिए हाम्रो राष्ट्र विश्वको नमुना राष्ट्र बन्ने थियो र अन्य राष्ट्रले पनि यसको अनुसरण गर्ने थिए भन्ने उहाँको अपेक्षा छ ।

१६३. भरत (महाकाव्य)

१६३. भरत (महाकाव्य)

नेपाली वाङ्मयभित्र पर्ने भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, शिक्षा–शिक्षण, धर्म–संस्कृति र गीत–सङ्गीत विधासँग कुनै न कुनै रूपमा सम्बन्धित व्यक्तिले भरत जङ्गम भन्ने नाउँ सुनेकै हुन्छ । मनिराज जोशीचाहिँ केन्द्रीय राजधानीमा नबसीकन राजधानीमा बसेका वाङ्मयसेवीलाई प्रतिभा र क्षमताले उछिन्न सक्ने अक्षरकर्मीहरूमा पर्नुहुन्छ । ‘भरत’ नामक यो महाकाव्य एकजना वाङ्मयसेवी भरत जङ्गमको जीवनवृत्तलाई लिएर अर्का वाङ्मयसेवी मनिराज जोशीले छन्दोबद्ध रूपमा प्रस्तुत गरेको कीर्तिगाथा हो । आआफ्ना क्षेत्रमा स्वनामधन्य बनेका कीर्तिशाली व्यक्तित्वको सम्मिलन बनेको यस महाकाव्यको प्रकाशन गर्ने सौभाग्यले शब्दयात्रा प्रकाशनलाई पनि उत्तिकै हाराहारीमा उठाउने प्रयास गरेको छ ।

१६२. ठुमरीकी रानी (लेखसङ्ग्रह)

१६२. ठुमरीकी रानी (लेखसङ्ग्रह)

द्रोणप्रसाद श्रेष्ठको लेखकीय अभिव्यक्ति, शैली, शब्दविन्यास, वाक्यविन्यास र संवेदनशीलता हृदयस्पर्शी, सरल र मिठासपूर्ण लाग्छ । नेपाली वाङ्मयलाई सातवटा पुस्तक उपहार दिएर उहाँले आफू पनि आफ्ना बुबा चण्डिप्रसाद श्रेष्ठको साहित्यिक प्रतिभाको उत्तराधिकारी बनेको प्रमाण दिनुभएको छ । जम्मा १३ वटा निबन्धहरूको सङ्ग्रहका रूपमा प्रस्तुत गरिएको कृति ‘ठुमरीकी रानी’ द्रोणप्रसाद श्रेष्ठको अत्यासलाग्दो अध्ययन, आश्चर्यलाग्दो विश्लेषण र ईखलाग्दो लेखनको उदाहरण हो । यस कृतिका कारण उहाँका नेपाली पाठक उहाँप्रति कृतकृत्य बन्नेछन् ।

१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)

१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)

शब्दयात्रा प्रकाशनको पहिलो सम्पर्क केन्द्र भक्तपुर जिल्लामा खुलेको छ । त्यस केन्द्रले पुस्तक प्रकाशनमा पनि हात हालेको छ । सम्पर्क केन्द्रबाट पुस्तक प्रकाशन गर्न लागिएको यो पहिलोपटक हो । त्यसैले यो अत्यन्त खुसीको कुरा हो, सम्पर्क केन्द्रका मित्रहरूको जागरुकताको उदाहरण हो र अन्य जिल्लाका सम्पर्क केन्द्रहरूका लागि प्रेरणा पनि हो । त्यसकेन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ नेपाली कविता विधाले प्राप्त गरेको राम्रो उपलब्धि हो । एउटा कृतिका लागि त्यसभित्रका सबै कृतिकारबाट अर्थसङ्कलन गरेर पुस्तक प्रकाशन गर्ने काममा ‘नयाँ युगका कविता’ नामक कवितासङ्ग्रहको इतिहास रहेको र एउटै विषयमा फरक–फरक कविका दृष्टिकोण समेटेर पुस्तक सम्पादन गर्ने काममा ‘कवितामा काठमाडौँ’ नामक कवितासङ्ग्रहको इतिहास रहेको परिप्रेक्ष्यमा ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रहले उल्लिखित दुवै कृतिको इतिहास समेट्तै र जोगाउँदै आफ्नो छुट्टै नयाँ इतिहास पनि निर्माण गरेको छ ।

१६०. पाइला–पाइलामा उमङ्ग (नियात्रासङ्ग्रह)

१६०. पाइला–पाइलामा उमङ्ग (नियात्रासङ्ग्रह)

हिरण्यकुमारी पाठक नेपाली भाषाको साहित्यलेखन, साहित्यिक पत्रकारिता, साहित्यिक सङ्गठन, सामाजिक सेवा र बैङ्किङ सेवा गरी पाँचवटा क्षेत्रमा सुपरिचित बहुआयामिक व्यक्तित्व भएकी आदर्श महिलाको नाम हो । यी पाँचै क्षेत्रमा उहाँको विशिष्ट योगदान रहेको छ । यी पाँच क्षेत्रमध्ये एउटा क्षेत्र मात्रै बिर्सियौँ भने पनि हामी उहाँको समुचित मूल्याङ्कन र स्मरण गर्नं सक्तैनौँ । उहाँको साहित्यिक लेखनमा आएको पछिल्लो कृति यो ‘पाइला–पाइलामा उमङ्ग’ नामक नियात्रासङ्ग्रह हो । नेपाल र भारतका विभिन्न स्थानहरूमा गरिएका साहित्यिक र धार्मिक यात्राहरूका विवरण लेखिएका १४ वटा यात्रास्मरणहरूको सङ्ग्रह ‘पाइला–पाइलामा उमङ्ग’ आख्यानलेखन र यात्रालेखनमा परिपक्व वाङ्मयसेवी हिरण्यकुमारी पाठकको पछिल्लो साहित्यिक कृति हो । नेपालभ्रमणका ६ वटा र भारतभ्रमणका ८ वटा यात्रास्मरणहरू यसमा समेटिएका छन् । यस पुस्तकबाट साहित्यिक लेखनमा हिरण्यकुमारी पाठकको अर्को अभिलेख कायम भएको छ ।

१५९. अरू सात समुद्र (कवितासङ्ग्रह)

१५९. अरू सात समुद्र (कवितासङ्ग्रह)

कवि शैलेन्द्र साकार विचारोत्तेजक कविताका कारण ख्याति आर्जन गर्नुभएका प्रसिद्ध कवि हुनुहुन्छ । समालोचकहरूले उहाँलाई प्रतिनिधि नेपाली कविका रूपमा नेपालबाहिर प्रस्तुत गर्न योग्य कविका रूपमा परिचय गराउने गरेका छन् । सधैँ नयाँ लागिरहने कविताहरू सिर्जना गर्नु उहाँको विशिष्टता हो । उहाँ विद्रोही भएर पनि कला पक्षप्रति अत्यन्त सचेत कवि मानिनुहुन्छ । उहाँ कविता विधाका ६ वटा कृतिका स्रष्टा हुनुहुन्छ । उहाँले महाकवि देवकोटा काव्य पुरस्कार र युगकवि सिद्धिचरण पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानहरू प्राप्त गर्नुभएको छ । उहाँको जन्म २००३ सालमा भोजपुरमा भएको हो । उहाँको नवीन कवितासङ्ग्रह ‘अरू सात समुद्र’ मा उहाँका लामा–छोटा दुवै आकारका ८२ वटा शक्तिशाली कविता सङ्ग्रहित छन् । हरेक कविताले पाठकको मस्तिष्कमा वैचारिक तरङ्ग फैलाउनु र नवीन विचारको प्रादुर्भाव पनि गराउनु उहाँको कवित्वशक्ति हो ।

१५८. संस्मरण र आत्मवृत्तान्त (लेखसङ्ग्रह)

१५८. संस्मरण र आत्मवृत्तान्त (लेखसङ्ग्रह)

शब्दयात्रा प्रकाशनको केन्द्र रहेको जिल्ला काभ्रेपलान्चोक । यहाँको एउटा नगरपालिका बनेपा । यहाँको प्रसिद्ध मन्दिर चण्डेश्वरी । यहाँका पुजारी खलक कर्माचार्य । कर्माचार्यहरूमध्येका एकजना हर्षनारायण । घर पनि चण्डेश्वरी मन्दिरकै छेउमा । पूर्वशिक्षक । बेलाबेला केही न केही लेखेर स्थानीय पत्रिकाहरूमा छपाउने गरेको । ‘संस्मरण र आत्मवृत्तान्त’ नामक यस लेखसङ्ग्रहमा लेखक हर्षनारायण कर्माचार्यका १४ वटा लेख–संस्मरण रहेका । यस सङ्ग्रहबाट उनका बारेमा जान्न चाहने पाठकलाई आवश्यक जानकारी प्राप्त हुने । उनको जन्मस्थान, उनको जीवनयात्रा र उनले भ्रमण गरेका ठाउँका बारेमा पनि थाहा पाउन सकिने ।