शिक्षासेवी रामप्रसाद अधिकारीलाई शब्दयात्रा प्रकाशनद्वारा गठित नौ सदस्यीय अभिनन्दन समितिले हिजो २०७९ साल कार्तिक २५ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक रूपमा अभिनन्दन गरेको छ । उहाँलाई समितिका संयोजक तथा सदस्यहरूले संयुक्त रूपमा अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ग्रन्थसम्पादक हरि मञ्जुश्रीद्वारा सम्पादित ‘आदर्श शिक्षक रामप्रसाद अधिकारी अभिनन्दनग्रन्थ’ लाई प्रा. डा. देवमणि भट्टराई, विशेष अतिथि गायत्रीकुमार चापागाईं र ग्रन्थसम्पादक हरि मञ्जुश्रीले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । त्यसपछि उक्त अभिनन्दनग्रन्थ हरि मञ्जुश्रीले रामप्रसाद अधिकारी दम्पतीमा समर्पण गर्नुभएको थियो । अभिनन्दनग्रन्थका सामग्री सङ्कलन शिव बन्जाराले, आवरणकला सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले र अक्षराङ्कन सङ्गीता केसीले गर्नुभएको थियो । यो अभिनन्दनग्रन्थ शब्दयात्रा प्रकाशनको १ सय ९० औँ प्रकाशनपुष्प र हरि मञ्जुश्रीको १ सय ३७ औँ पुस्तक हो । अभिनन्दनग्रन्थमा रामप्रसाद अधिकारीका विषयमा लिखित डा. सुरेशराज शर्मा, डा. भोला थापा, हरि मञ्जुश्री, मच्छेश्वर सापकोटा, शारदाप्रसाद शर्मा, टीपी शर्मा तिमिल्सिना, डा. बलराम तिमल्सिना, डा. अनन्त अधिकारी, चन्द्रबहादुर खड्का, पदम दाहाल, दामोदर घिमिरे, विजय सापकोटा लगायत ३६ जनाका जीवनीपरक र मूल्याङ्कनपरक लेख तथा संस्मरण र कविता रहेका छन् ।
रामप्रसाद अधिकारीमा समर्पित अभिवन्दनापत्रमा काभ्रेपलान्चोक जिल्लामा शिक्षासेवा र सामाजिक जागरणका लागि सुपरिचित रहनुभएका रामप्रसाद अधिकारीले आफू आबद्ध रहेका शिक्षालयहरूको भौतिक संरचनाको निर्माण र विस्तारमा, शैक्षिक गुणस्तरको अभिबृद्धिमा, महिला शिक्षामा जोड दिँदै विद्यालयमा छात्राको भर्नादर उच्च बनाउनमा, शिक्षालयभित्र जातीय र वर्गीय विभेदको अन्त्य गराउनमा तथा ग्रामीण समुदायमा सामूहिक चेतनाको जागरण र विस्तार गराउनमा अतुल्य भूमिका निर्वाह गरी आफूलाई उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित गराउनुभएको र उहाँका यिनै सत्प्रयास, सत्कर्म र सत्मार्गदर्शनका कारणले उहाँभन्दा पछिका पुस्ताहरू सचेत, स्वाभिमानी, विचारवान्, सुदृढ र सङ्कल्पशक्तियुक्त बन्न थालेका हुनाले उहाँलाई नागरिक समाजका अनुकरणीय आदर्शका रूपमा स्वीकार गर्दै अभिवन्दनापत्र समर्पण गरिएको कुरा उल्लेख छ ।