Home Blog Page 61

सहयोग कोषलाई सहयोग

0

कुनै पनि साहित्यकार, पत्रकार र कलाकार आर्थिक सङ्कटका कारणले विपत्तिमा परेको छ भन्ने जानकारी कसैबाट पाएपछि शब्दयात्रा प्रकाशनले यथासम्भव सहयोग गर्ने गरेको छ । त्यसका लागि बैङ्कमा खाता खोलिएको छ । त्यसलाई अक्षरसेवी सहयोग कोष भनिएको छ । त्यस कोषमा विभिन्न महानुभावहरूले सहयोग गर्ने गर्नुभएको छ । आर्थिक सङ्कटमा परेका साहित्यकार, पत्रकार र कलाकारलाई त्यही कोषबाट झिकेर सहयोग गर्ने गरिन्छ । कोषमा भएको रकमका आधारमा न्यूनतम ५ हजार रुपियाँसम्म सहयोग गरिएको छ । त्यस कोषका लागि दोलखाको रुक्मणिराज सिवाकोटी स्मारक कोषका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ प्राप्त भएको छ । त्यो रकम बैङ्कमा रहेको खातामा जम्मा गरिसकिएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट रुक्मणिराज सिवाकोटी स्मारक कोषप्रति हार्दिक आभार व्यक्त गर्दछु । 

शब्दयात्राबाट विद्यालयलाई पुस्तक सहयोग

0

सुनसरी जिल्लाको इटहरीस्थित सरस्वती जब्दी माध्यमिक विद्यालयको अनुरोधमा शब्दयात्रा प्रकाशनले त्यस विद्यालयको पुस्तकालयलाई ३९ थान साहित्यिक पुस्तकहरू सहयोगस्वरूप उपलब्ध गराएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका तर्फबाट दामोदर घिमिरेले हस्तान्तरण गर्नुभएको थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापक दधिराम निरौलाले ग्रहण गर्नुभएको थियो ।

दसजनालाई सम्मान, एउटा महाकाव्य सार्वजनिक

0
हिजो माघ २७ गते शुक्रबार काभ्रेपलान्चोक जिल्लाको बनेपामा राष्ट्रका ख्यातिप्राप्त १० जना व्यक्तित्वलाई सम्मान गरियो । शब्दयात्रा प्रकाशनको आयोजनामा भएको त्यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुुरेशराज शर्माले प्रमुख अतिथिका रूपबाट सम्मानको अभिवन्दनापत्र, अतिथिका रूपबाट समाजसेवी सावित्री थापा, आख्यानकार भरत जङ्गम र नियात्राकार पोष चापागाईले किरीट, चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठ, सदस्य द्रोणप्रसाद श्रेष्ठ र लीलादेवी श्रेष्ठले उपहार, सभापति शारदाप्रसाद शर्माले पुष्पमाला, पत्रकार प्रदीप केसींले रुद्राक्षमाला, उपस्थित कोष व्यवस्थापकहरू गोपाल पराजुली र हरिगोपाल प्रधान तथा अनुपस्थित कोष व्यवस्थापकहरूका तर्फबाट गीता अधिकारी, कृष्णमणि कुइकेल, पदम ढुङ्गाना र डा. इन्दुल केसीले नगद भेटी समर्पण गरेर उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको त्यो कार्यक्रम हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । त्यस कार्यक्रममा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा शान्ता मानवी, जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा प्रा. डा. कुलप्रसाद कोइराला, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा चूडामणि रेग्मी, कल्याण लम्साल सिर्जना सम्मानद्वारा शैलेन्द्र साकार र पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. रामदयाल राकेश सम्मानित हुनुभएको थियो । त्यसै गरी विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान विजय चालिसेलाई, वसन्त शर्मा कविता–काव्य सम्मान मनिराज जोशीलाई, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान शेषराज सिवाकोटीको सम्पादकत्वमा प्रकाशित ‘ज्ञानगुनका कुरा’ लाई, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान उद्धवप्रसाद भट्टराईलाई र रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान मीनरत्न बज्राचार्यलाई समर्पण गरिएको थियो । कार्यक्रममा चूडामणि रेग्मी उमेरका कारणले उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका नगेश निरौलाले उहाँको अभिवन्दनापत्र ग्रहण गर्नुभयो ।
सम्मानित व्यक्तित्वहरूका विषयमा पत्रकार शिव बन्जाराले चिनारी गराउनुभएको थियो भने अभिवन्दनापत्रको वाचन कवि पदम दाहालले गर्नुभएको थियो । स्वागत भाषण लेखिका निर्मला श्रेष्ठले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष २० जनालाई सम्मान, ८ जनालाई पुरस्कार, २ जनालाई छात्रवृत्ति र १ जनालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ ।
हिजोकै कार्यक्रममा रोल्पा जिल्लाका प्रथम महाकाव्यकार खेमराज शर्माको महाकाव्य ‘माण्डवी’ लाई प्रमुख अतिथि डा. सुरेशराज शर्मा र कृतिकार खेमराज शर्माले संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । महाकाव्य र महाकाव्यकारका विषयमा शिक्षासेवी तथा लेखक चन्द्रबहादुर खड्काले बोल्नुभएको थियो । उक्त पुस्तकसहित शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका पुस्तकको सङ्ख्या १ सय ९८ पुगेको छ ।
उक्त कार्यक्रममा समाजसेवी सरस्वती श्रेष्ठलाई कदरपत्र समर्पण गरिएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयलाई लेखकहरू केशव रूपाखेती, विजय चालिसे, शेषराज सिवाकोटी र खेमराज शर्माले आआफ्ना पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो । सबै पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसी र भावना थापाले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुलमका वटुकहरूले स्वस्तिवाचन गर्नुभएको थियो । वटुकहरूलाई आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल र कवि केदारनाथ तिमल्सिनाले टीका र दक्षिणा प्रदान गर्नुभएको थियो । उपस्थितिमा सहयोग गणेश बडालले गर्नुभएको थियो । कवि गोविन्दबहादुर खड्काले सम्मान कार्यक्रम सम्बन्धी कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथिलाई हरिगोपाल प्रधानले र चयन समितिका संयोजक तथा सदस्यहरूलाई चूडाप्रसाद चौलागाईंले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा कार्यक्रमको समीक्षा गर्दै लेखक छत्रपति दाहालले कार्यक्रमलाई विसर्जन गर्नुभएको थियो ।

सम्मान समर्पण गरिने माघ २७ गते

0

शब्दयात्रा प्रकाशनबाट यही माघ २७ गते शुक्रबार शान्ता मानवी (अर्घाखाँची), चूडामणि रेग्मी (सङ्खुवासभा), शैलेन्द्र साकार (भोजपुर), डा. कुलप्रसाद कोइराला (ओखलढुङ्गा), विजय चालिसे (काठमाडौँ), डा. रामदयाल राकेश (सर्लाही), मनिराज जोशी (डोटी), शेषराज सिवाकोटी (दोलखा), उद्धवप्रसाद भट्टराई (काभ्रेपलान्चोक) र मीनरत्न बज्राचार्य (काठमाडौँ) लाई सम्मान समर्पण गरिनेछ । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने सम्मान समर्पण समारोह दिउँसो १ बजेदेखि ३ बजेसम्म सञ्चालन हुनेछ । त्यसै समारोहमा खेमराज शर्माद्वारा लिखित महाकाव्य ‘माण्डवी’ लाई सार्वजनिक गरिनेछ ।

‘महाकवि देवकोटाका काव्यको अध्ययन’ पुस्तक सार्वजनिक

0

आज २०७९ साल माघ १९ गते बिहीबार ‘महाकवि देवकोटाका काव्यको अध्ययन’ नामक समालोचनासङ्ग्रहलाई शब्दयात्रा प्रकाशनले सार्वजनिक गरायो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित पुस्तक सार्वजनिकीकरण समारोहमा नेपालका शैक्षिक शिरोभूषण तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा, काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार तथा शिक्षासेवी डा. सीताराम अधिकारी, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी तथा कृतिकारकी धर्मपत्नी शोभा बरालले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा डा. सुरेशराज शर्मा र डा. सीताराम अधिकारीले टीकादत्त बरालसँगका संस्मरण र उहाँको योगदानका विषयमा जानकारी गराउनुभएको थियो । सार्वजनिक गरिएको कृतिका विषयमा लेखक मुकुन्दप्रसाद उपाध्यायले र कृतिकारका विषयमा लेखिका निर्मला श्रेष्ठले बोल्नुभएको थियो भने कृतिकारका सुपुत्र माधव बरालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । आन्तरिक व्यवस्था कृष्णमणि कुइकेल, सकुल थापा, अमृत अधिकारी र सङ्गीता केसीले मिलाउनुभएको थियो भने शारदाप्रसाद शर्माले कार्यक्रमको सञ्चालन र ढुण्डिराज पोखरेलले स्वस्तिवाचन गर्नुभएको थियो ।
‘महाकवि देवकोटाका काव्यको अध्ययन’ टीकादत्त बरालद्वारा लिखित पाँचौँ कृति हो । उक्त कृति शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको हो । १९९२ सालमा जन्मेर २०७७ सालमा दिवङ्गत हुनुभएका टीकादत्त बराल शब्दयात्रा प्रकाशन, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान लगायतका संस्थाबाट सम्मानित हुनुभएको थियो ।
कार्यक्रममा पदम दाहाल, डा. इन्दुल केसी, दामोदर घिमिरे, नगेन्द्रप्रसाद आचार्य, केदारनाथ तिमल्सिना, छत्रपति दाहाल, प्रदीप केसी, शिव बन्जारा, शकुन्तला बन्जारा, लालबहादुर भुजेल, चूडाप्रसाद चौलागाई, रामप्रसाद अधिकारी, कृष्ण काश्यप, शिवप्रताप कार्की, तीर्थराज अधिकारी, गोविन्द हुमागाई, शम्भु पोखरेल, नवराज पराजुली, दीपकराम भण्डारी, पुरुषोत्तम हुमागाई, गणेश बडाल, महेश्वर थापा, राममणि अधिकारी, पूर्णबहादुर कर्माचार्य आदिलगायत विभिन्न विद्वान–विदुषीहरूको उपस्थिति थियो ।

डा. कान्ता भट्टराईको कृति छापिने

0

शब्दयात्रा प्रकाशनले ‘भरत जङ्गमका उपन्यासमा पौरस्त्य नीतिचेतना’ नामक कृति प्रकाशन गर्न लागेको छ । यो अनुसन्धानात्मक कृति हो । डा. कान्ता भट्टराईद्वारा लिखित यो कृति करिब ३ सय पृष्ठको हुनेछ । 

सिक्किमे साहित्यकारबाट शब्दसाधक तीर्थको अवलोकन

0

सिक्किमको गान्तोकबाट काठमाडौँ आउनुुभएका नेपाली भाषा–साहित्यसेवी लेखक, अन्वेषक तथा सांस्कृतिक–आध्यात्मिक अभियन्ता राजेन शिवाकोटीले बनेपामा आएर शब्दसाधक तीर्थको अवलोकन गर्नुभयो । शब्दयात्रा प्रकाशनले नेपाली वाङ्मयका लागि गरेको सुकार्यको चर्चा सुनेकाले शब्दसाधक तीर्थ हेर्न लालायित भएर बनेपा आइपुगेको कुरा उहाँले बताउनुभयो । उहाँलाई संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै शब्दयात्रा प्रकाशनका तर्फबाट केही पुस्तक उपहार दिनुभयो । उहाँहरूले अक्षरधाममा बसेर दुई घण्टाजति साहित्यिक वार्तालाप पनि गर्नुभएको थियो । 

सरस्वतीको पूजा सम्पन्न

0

शब्दयात्रा प्रकाशनको आयोजनामा शब्दयात्रा शारदा मन्दिरमा आज सरस्वतीपूजाका दिन माता सरस्वतीको विधिवत पूजा सम्पन्न भएको छ । संस्थाका तर्फबाट आजीवन सदस्य कृष्णमणि कुइकेलले यजमान बनेर पूजा सम्पन्न गर्नुभएको हो । 

रोल्पाली कविको पहिलो महाकाव्य शब्दयात्राबाट

0

रोल्पा जिल्लामा जन्मनुभएका कवि खेमराज शर्माको महाकाव्य ‘माण्डवी’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा मुद्रण हुन लागेको छ । यस महाकाव्यभित्र माओवादी जनयुद्धको विषयले प्रवेश पाएको छ । अधिकांश श्लोकहरू अनुष्टुप छन्दमा छन् । यस महाकाव्यलाई यही माघ महिनाको अन्तिम साता सार्वजनिक गर्ने योजना छ । यो उहाँको सातौँ कृति हो । यसअघि उहाँले भोको पेट (खण्डकाव्य), दोमाई (उपन्यास), वीरे (खण्डकाव्य), छोरी (उपन्यास), गाउँको मुक्ति (गीतिनाटक) र बूढाको अर्ती (बालहितोपदेश) नामक कृतिहरू लेखेर प्रकाशन गराइसक्नुभएको छ । रोल्पा जिल्लाका साहित्यस्रष्टाबाट लेखिएको यो पहिलो महाकाव्य हो । 

१०८ शिवलिङ्ग स्थापना गरिने

0

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको सहकार्यमा १०८ शिवलिङ्ग स्थापना गर्ने कार्य अघि बढाइएको छ । शिवलिङ्गको स्थापना बनेपा नगरपालिका वडा नं. ६ मा पर्ने नीलकण्ठेश्वर महादेवको परिसरभित्र गरिने भएको छ । केही शिवलिङ्गहरू ल्याइसकिएको छ । आगामी साउन महिनासम्ममा १०८ शिवलिङ्ग स्थापना गरिसक्ने गरी नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेल सक्रिय हुनुभएको छ । उहाँका अनुसार शिवलिङ्गको निर्माणदेखि स्थापना र शिलालेख राख्नेसम्मको कार्य गर्न एक शिवलिङ्ग बराबर १५ हजार रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।